३ वर्षसम्म पनि साटिएनन् ७ करोडभन्दा बढी भारु नोट



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गैरकानूनी तवरले कमाएको कालो धन र नक्कली नोट नियन्त्रणमा ल्याउने भन्दै सन् २०१६ नोभेम्बर ८ बाट भारु ५०० र १००० दरका नोट प्रचलनमा प्रतिबन्ध लगाए ।

मोदी सरकारले नोटबन्दी लागू गरेपछि ठूला दरका भारु नोट नचल्ने भए । जसको असर नेपालमा पनि पर्यो ।

३ वर्षअघि मोदी सरकारले ल्यायो नोटबन्दी नियमपछि नेपालको बैंकिङ प्रणलीमा रहेका ५०० र १००० भारुका ७ करोडभन्दा बढी रकम हालसम्म साटिएका छैनन् । फलस्वरुप हालसम्म पनि राष्ट्र बैंकमा थन्किएका छन् ।

३ वर्षको अवधिमा नेपाल सरकार र राष्ट्र बैंकले भारत सरकारसँग पटक–पटक अनुरोध गर्दा पनि बेवास्ता गरिरहेको राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा विदेशी विनिमयदर भुक्तानी विभागीय प्रमुख सरिता भट्ट अधिकारीले बताइन् ।

‘आरबीआईलाई नेपालमा रहेका भारु सटही र नयाँदरका भारु नोट सटहीका लागि पत्राचार गरिसकेका छौ,’ भट्टले क्लिकमाण्डूसँग भनिन् ‘राष्ट्र बैंकको अनुरोधमा नै प्रधानमन्त्री, परराष्ट्र मन्त्री र अर्थमन्त्री भारत भ्रमणमा जाँदा समेत भारतीय वित्तसँग भारु सटहीबारे कुरा भएको थियो ।’

तत्कालिन समयमा भारत सरकारले छलफल गरी चाँडै यसको सावधान निकालेर पत्राचार गर्ने आश्वसन दिएको थियो । आरबीआईलाई राष्ट्र बैंकले पत्राचार गर्दा यो विषय २ देशका सरकार प्रमुखले सरकारी तबरबाटै यसको सामाधान गर्ने बताएको उनले दिइन् ।

अन्तर्राष्ट्रिय मान्यता अनुसार कुनैपनि देशको मुद्रा दोस्रो देशमा कानूनी रुपबाट नै चलनचलतीमा छ भने मुद्रा वितरण गर्ने मुलुकले कुनै कारणबश पुरानो मुद्रालाई हेरफेर गर्नु परेमा वा मुद्रा चलनचल्तीमा रोक लगाउनु परेमा आफ्नो मुद्रा चलनचल्तीमा ल्याउने सबै देशमा सुचित गराउनुपर्ने हुन्छ ।

यसका साथै कानुनी रुपमा चलनचल्तीमा रहेको सबै मुद्राको जिम्मेवारी लिनुपर्ने हुन्छ । तर भारतले ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएको ३ वर्ष हुन लाग्दा समेत नेपालमा बैंकिङ प्रणालीमा भएको भारतीय नोट सटहीमा चासो नदेखाउँदा भारु नेपालमै थन्किएका छन् ।

भारत सरकारले ठूला दरका भारु नोटमा प्रतिबन्ध लगाउनु पूर्व नै भारु नोट चलनचल्ती हुने देशमा सूचना पठाएको थियो । भारतले नेपालमा भएको भारतीय नोट सटही हालसम्म नगर्नुमा अर्थमन्त्रालय दोषी रहेको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा विदेशी विनिमयदरभुक्तानी विभागका पूर्वप्रमख भिष्मराज ढुंगानाले क्लिकमाण्डुलाई बताए ।

राष्ट्र बैंकले पनि नेपालमा भएका भारु नोट कति परिमाण छ भनेर भारतीय केन्द्रीय बैंक (आरबीआई) मा निवेदन पठाएर सुचित गराएको थियो ।

‘भारतमा ठूला दरका नोट प्रतिबन्ध गर्नु अगावै आरबीआईले नेपालको बैंकिङ च्यानलमा भएको पैसाको जानकारी मागेको थियो’, ढुंगाना भन्छन् ‘त्यो समय राष्ट्र बैंकले सर्वसाधारणसँग भएका भारु नोट सटहीको बारेमा कुरा उठाएका थियौ ।’

राष्ट्र बैंकको अनुरोधमा आरबीआईले बैंकिङ प्रणालीमा भएको ८ करोड भारु पैसा र सर्वसाधारणसँग भएको भारु ५०० र १००० दरका नोट ४ हजार ५ सयसम्म थान नोट सटही गर्ने भएको थियो ।

आरबीआईले नोट सटहीको दायरा तोकेर अर्थमन्त्रालयमार्फत् ७ दिनभित्र जानकारी गर्न राष्ट्र बैंकलाई भनेको थियो ।

राष्ट्र बैंकले सो सम्बन्धी तत्कालै अर्थमन्त्रालयमा जानकारी गराएको थियो । तर अर्थमन्त्रालयबाट आरबीआईलाई १५ दिनपछि मात्र चिठी पठाएको राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशक ढुंगानाले बताए ।

‘हामीले आरबीआईको कुरा तुरुन्तै अर्थमन्त्रालयलाई खबर गरेका थियौ’, उनले भने ‘त्यो समय अर्थमन्त्री कृष्णबहादुर महरा हुनुहुन्थ्यो, उहाँमार्फत् भारत सरकारलाई १५ दिनपछि मात्रै चिठी पठाइयो ।’

समय कटेर पठाइएको चिठीको जवाफ आजसम्म पनि भारत सरकारले नदिएको उनले जानकारी दिए ।

भारतीय मुद्रा नेपालदेखि बाहेक भुटानमा पनि चलनचल्तीमा थियो । तर भुटानमा भएको ५०० र १००० दरका भारु नोट भारतीय सरकारले सटही गरिसकेको छ । भुटानमा भएको भारु नोट भने आरबीआईले दिएको समयभन्दा केही समयपछि मात्रै साटेको थियो ।

ठूला दरका भारु नोटमा प्रतिबन्ध लगाए पनि नेपालमा भारत सरकारले चलनचल्तीमा ल्याएका नयाँदरका नोटहरु कानूनी तवरमा चलनचल्तीमा छैनन् । पुरानै भारु नोट सटही गरी नयाँ दरका भारु नोट चलनचल्तीमा ल्याउन सरकारले जोड दिनुपर्ने व्यवसायीको भनाइ छ ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । त्यो लक्ष्य भारतको १ प्रतिशत जनतामात्र नेपालमा आकर्षित गर्न सके नेपालको लक्ष्य भारतबाटै पूरा हुने नेपाल चेम्बर अर्फ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालको भनाइ छ ।

‘भारतीय पर्यटक आर्कषण गर्ने नेपालमा धेरै प्रडक्ट छन्, तर उनीहरुलाई यहाँ भ्रमणमा आउँदा भारु नोटको समस्या छ,’ उनले क्लिकमाण्डुसँग भने ‘भारतको नोट दुबईमा पनि चलनचल्तीमा छ, तर नेपालमा चलनचल्तीमा छैन् ।’

जबसम्म भारतीय नोट प्रचलनमा ल्याइँदैन, तबसम्म भारतीयहरु नेपाल भ्रमणमा आउन लालयित नहुने उनको भनाइ छ । नेपालको ६५ प्रतिशतभन्दा बढी व्यापार भारत केन्द्रित छ, यस्तो अवस्थामा भारु नोट प्रचलनमा नआउँदा ढुवानीमा धेरै समस्या भइरहेको उपाध्यक्ष अग्रवालले बताए ।

भारत र नेपाल बीच २ देशको मुद्रा चलनचल्तीमा ल्याउन सहमति हुँदा भारतीय सीमानाबाट प्रतिव्यक्ति २५ हजार भारुसम्म बोकेर नेपाल आउन मिल्ने सहमति भएको थियो ।

सीमानाबाट जति दरमा भारु नोट बोकेर नेपाल ल्याउन मिल्ने व्यवस्था थियो सोही परिमाणमा नै प्रतिबन्धित नोट सर्वसाधारणमार्फत् सटही होस् भनेर राष्ट्र बैंकले आरबीआईलाई अनुरोध गर्दै आएको थियो ।

तर आरबीआईले भने मुद्रा सम्झौतामा २५ हजारसम्म ल्याउन मिल्ने भए पनि कति परिमाणमा फिर्ता पठाउने भनेर उल्लेख नभएको भन्दै भारु नोट फिर्ता लैजान मानिरहेको छैन ।

भारतले भुटानमा भएका सबै भारु नोट सटही गरिदिएको तर नेपालमा भएका भारु सटही गर्न अप्ठ्यारो मानेको हुँदा भारतले सहजै नेपालमा भएका भारु सटही नगर्ने स्पष्ट देखिएको छ ।


पुष्प दुलाल