राष्ट्र बैंकसँग सबै रिसाउँछन्, ब्याजदर बढाउँदा उद्योगी र घटाउँदा निक्षेपकर्ता रिसाउँछन्: गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ब्याजदर बढाउँदा उद्योगी-व्यवसायी र घटाउँदा सर्वसाधारण निक्षेपकर्ताहरु रिसाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित टिमसँगको भेटमा गभर्नर डा. नेपालले राष्ट्र बैङकलाई मन पराउने कोही पनि नभएको बताए ।

यस्तो अवस्थाका बाबजुत पनि राष्ट्र बैंकले दुबै पक्षलाई सम्बोधन गरेर काम गरिरहेको गभर्नरको भनाइ छ ।

‘निक्षेपको ब्याजदर घट्ने बित्तिकै जनता रिसाउँछन्, कर्जाको ब्याजदर बढ्ने वित्तिकै उद्योगी व्यवसायीहरु रिसाउँछन्, त्यसैले हामीले सबैलाई सन्तुलन मिलाएर लैजानुपर्छ,’ गभर्नर नेपालले भने, ‘मेरो आग्रह पनि यही हो । त्यसमा तपाईँ (पत्रकार)हरुले अलि बढी अध्ययन गर्नुस् ।’

पत्रकारिता पेशामा जो पायो त्यही लाग्न नसक्ने उनको भनाइ छ ।

‘पत्रकारितालाई पेशा बनाउनेहरुले मुटु दह्रो बनाउनुपर्छ,’ उनले भने, ‘पत्रकारिता पेशा सुरक्षित छैन । धम्की आउँछ । रिस्क धेरै छ । पत्रकारितामा लागेर पैसा कमाउँ भन्ने पनि छैन ।’

पैसा कमाउने भए अरु पेशामा लाग्न गभर्नरले सुझाव दिए ।

‘पैसा कमाउँछु भनेर यो पेसामा लाग्दा समाज र संस्थामा पनि विकृति आउँछ, व्यक्ति स्वयं पनि विकृतिमा फस्छ, किनभने पत्रकारिता समाज र व्यक्तिको इज्जतको लागि राम्रो पेशा हो, अत्यन्तै उच्चस्तरको पेशा हो,’ गभर्नर नेपालले भने ‘पैसा कमाउने हो भने व्यापार व्यवसाय गर्न ठीक हो ।’

पत्रकारहरुलाई अध्ययन गर्न र अझै राम्रो समाचार लेख्न उनले सुझाए । पत्रकारहरुको क्षमता विकासका लागि राष्ट्र बैंक सहयोग गर्न तयार रहेको पनि गभर्नरले जानकारी गराए ।

केन्द्रीय बैंकले मर्जर र प्राप्तिका लागि नीति लिएको उनले जानकारी दिए ।

नेपालको रणनीति अनुसारको आयात र निर्यातको रेसियो हेर्नुपर्ने उनले बताए । नाम कमाउनलाई अरुले जे भनेपनि वाह्य क्षेत्रको ऋणमा आफू क्लियर भएको उनको भनाइ छ ।

‘यत्ति ठूलो भू-भाग छ खपत कत्ति छ ? आन्तरिक उत्पादन खोइ ? यसमा नीतिगत परिवर्तनको आवश्यकता छ,’ उनले भने, ‘जसले गर्दा हाम्रा उत्पादनहरु अन्तर्राष्ट्रिय बजारमा गएर हामीले बेच्न सकियोस् ।’

अहिलेको वित्तीय क्षेत्रको सबैभन्दा ठूलो चूनौति भनेको सुरक्षा भएको उनको भनाइ छ । साइवर क्राइम नोपालमा मात्र नभएर ठूला  मुलुकहरुमा हुने गरेको उनले बताए ।

‘नेपालमा एटीएम ह्याक भएपछि विभिन्न देशहरुमा पनि भयो, त्यसैले हामी यस कुरामा धेरै सचेत हुनुपर्छ,’ गभर्नरले भने ।

केन्द्रीय बैंकले सफ्टवेयर सम्बन्धी निर्देशन जारी गरिरहेको उनले जानकारी दिए ।

‘पुरानो सफ्टवेयरलाई अपडेट गराउने नयाँ सफ्टवेयर लागू गर्ने, आइटीदेखिका कुराहरु लिएर चिप कार्डका कुराहरु सबैमा नयाँ अपडेट गराइराख्ने भनेर बैंकहरुलाई भनिरहेका छौँ,’ उनले भने ।

आइटीका कारण पैसाको कारोबार गर्न धेरै सहज भएको उनले बताए । नयाँ-नयाँ सफ्टवेयर प्रयोगमा ल्याउने र त्यसलाई अपडेट गराउँदै जाने भनेर हामीले बैंकिङ क्षेत्रलाई भनिरहेको उनले जानकारी दिए । र, भविष्यमा अझै सजगता अपनाउने उनले बताए ।

‘बिदाको बेलामा अलिकति धेरै साइबर अपराधहरु बढी हुन्छन् । त्यसैले बैंकको कामहरुको कारेमा बिदाको बारेमा सबैलाई जानकारी गराउने त्यससम्बन्धी सजक गराउनु पर्छ,’ उनले भने, ‘पछिल्लो घटनामा उस्तै तरिका अपनाएर ह्याकरले हामी पछि त्यहाँ पनि लिएको छ ।’

कमजोर पक्षको फाइदा अरुले लिने भएकाले नयाँ-नयाँ प्रविधीहरु भित्रिएसँगै यसमा चूनौतीहरु पनि भित्रिने भएकाले सजग रहनुपर्ने उनको भनाइ छ ।

अहिले सबैभन्दा धेरै खर्च आइटीको क्षेत्रमा नै भइरहेको उनले जानकारी दिए । यो खर्च अझै बढ्ने उनको भनाइ छ ।

‘त्यही भएर अमेरिकामा अहिले एथ वेयर वेव मर्जर भनेर शुरु गरेका छन्, अमेरिकामा ८ हजार जति बैंक तथा वित्तीय संस्था छन् ।

तिनलाई ४ हजारमा झार्ने नीति अमेरिकी सरकारको छ । यस्तो गर्नुको पहिलो कारण हो साइवर, आइटी अत्यन्तै महंगो भएर हो । हरेक बैंकले सफ्टवेयर किन्दा धेरै महंगो पर्न गइ बैकको नाफा पनि घट्न गयो । नाफा बढाउनलाई र बैंकलाई सुरक्षित बनाउनलाई मर्ज गराउन खोजिएको हो । मर्ज हुँदा त कस्ट पूरै कम हुन्छ ।’ उनले भने ।

बैंकहरु मर्ज गराउँदा संचालन खर्च कम हुन्छ, सफ्टवेयर र आइटी क्षेत्रको खर्च घटेर नाफामा वृद्धि हुन्छ र साइवर सेक्युरिटी पनि बढी हुन्छ । साइवर सेक्युरिटी भनेको संसारभर नै ठूलो चूनौति भएको उनको भनाइ छ ।

राष्ट्र बैंकले हालैमात्र रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटिजीएस सिस्टम) शुरु गरेको उनले बताए । यो प्रणाली शुरु भएसँगै नेपालमा पनि विद्युतीय भुक्तानी प्रणालीको नयाँ युगमा शुरु भयो भन्ने सन्देश गएको उनको भनाइ थियो ।

‘विभिन्न मुलुकहरुमा जाँदा त्यहाँ सबैले आरटिजीयस प्रयोग गर्ने नेपालमा भने छैन्,’ उनले भने, ‘ भुटानले समेत यो प्रणाली शुरु गरिसकेको छ । यो पटक शुरु नगरेको भए ने हामी भुटानभन्दा पनि पछि हुन्थ्यौै ।’

आरटिजीएस प्रणालीलाई सुरक्षित बनाउनका लागि उच्चस्तरीय आइटीका सफ्टवेयरहरु प्रयोग गरिएको र यसलाई थप अध्ययन गर्दै अपडेट गर्दै साइवर सुरक्षामा सँधै सचेत हरेको उनको भनाइ थियो ।


पुष्प दुलाल