सिमेन्ट उद्योगीको ५० अर्ब बजारमा फस्यो, पैसा नतिर्ने डिलर कालोसूचिमा पर्ने



काठमाडौं । गतसाता सिमेन्ट उत्पादक संघले सार्वजनिक सूचना जारी गर्दै सिमेन्ट उद्योगको पैसा नबुझाउने डिलरलाई कालोसूचिमा राख्ने घोषणा गर्यो ।

संघले डिलरहरुले सिमेन्ट उद्योगमा बढ्दै गएको प्रतिस्पर्धाको कारण एउटासँग कारोबार गर्ने र त्यो उद्योगलाई पैसा नतिरेर अर्कोसँग कारोबार गर्ने प्रवृति बढेको भन्दै पैसा भुक्तान नगर्ने डिलरलाई कालोसूचिमा राख्ने भनेको छ ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा संघले तथ्यांक संकलनको काम गर्ने चरणमा रहेको र विवरण आएपछि पैसा भुक्तान नगर्ने बिक्रेतालाई कालोसूचिमा राखिने बताए ।

भूकम्पपछि सुरु भएको पुननिर्माणको कामले सिमेन्ट उद्योगमा लगानीपनि अत्याधिक थपियो । सिमेन्ट उत्पादन क्षमता अत्याधिक बढ्यो । जसले गर्दा भारतबाट आउने सिमेन्ट आयात रोकियो भने क्लिङकर समेत यहीको उत्पादनले पुग्न थाल्यो ।

भारतबाट आउने सिमेन्ट रोकिनुमा अत्याधिक करपनि प्रमुख कारणमा पर्छ ।

सिमेन्ट उद्योगमा बढेको प्रतिस्पर्धाले उपभोक्ताभन्दा बढी फाइदा डिलर र बिक्रेतालाई भएको छ । सिमेन्ट उत्पादकले उपभोक्ताको लागि केही कार्यक्रम ल्याएपनि बिक्री बढाउनको लागि बिक्रेतालाई आकर्षक अफर गरे । विदेश भ्रमणदेखि लिएर अन्य प्याकेज वितरकलाई बढाए ।

तर,गतवर्ष सिमेन्ट उद्योगीले बितरकबाट पाउनुपर्ने बक्यौता रकम भने बढ्यो । करिब ५० अर्ब हाराहारीमा सिमेन्ट उद्योगीको बक्यौता रहेको अनुमान उद्योगीको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा अर्घाखाँची सिमेन्टका प्रवन्ध निर्देशक पशुपति मुरारका प्रतिस्पर्धा बढेसँगै सिमेन्ट उद्योगीको बक्यौता रकम बढेको बताउँछन् ।

‘सरकारले पैसा खर्च गर्न नसक्दा बैंकमा पैसा भएन, बैंकले ऋण दिन नसक्दापनि बक्यौता रकम बढेको हो,अर्को अत्याधिक प्रतिस्पर्धाको फाइदा वितरकले उठाए,’उनले भने ।

सिमेन्ट उत्पादक संघले सदस्यहरुलाई उधारो कारोबारलाई रोक्नको लागि भनेको छ । सामान्यतया १२० दिनभित्रमा उद्योगीले वितरकबाट पैसा पाउने गरेका थिए । यो साइकल गत आर्थिक वर्षको अन्त्यमा बढ्दै २४० दिनभन्दा बढी समय हुँदा पनि पैसा नपाउने अवस्था सिर्जना भयो ।

लामो समय देखि सिमेन्ट उद्योगमा सक्रिय रहेका सौरव ग्रुपका प्रवन्ध निर्देशक बिष्णु न्यौपाने पछिल्लो समय नयाँ व्यवसायी सिमेन्ट उद्योगमा प्रवेश गर्दा बिक्रीको दवावको कारण सामान उधारोमा बढी बेच्दा पैसा बढी फसेको बताउँछन् ।

‘नयाँ आएका उद्योगीले सिमेन्ट बिक्रीको लागि उधारोलाई बढी जोड दिए, बिक्री बढाउनको लागि गरिएको कदमले समग्र उद्योगको नै पैसा उठेन,’ न्यौपानेले भने ।

यो पटक पैसा नउठ्ने समस्या सिमेन्ट उद्योगको मात्र भने होइन । रड र डण्डीमा पनि यस्तै समस्या छ ।

‘हामीले पनि ग्राहकलाई उधारोमा सामान दिने हो, त्यो पैसा नउठ्दा उद्योगीलाई पैसा दिन नसकिएको हो,’एक सिमेन्टका वितरकले भने ।

खास गरेर बैंकहरुमा ऋण योग्य रकमको अभावसँगै सहज रुपमा ऋण पाउने अवस्था छैन । जसले गर्दा निर्माण क्षेत्रमा पनि क्यास फ्लोको अभाव भएको हो ।

अत्याधिक प्रतिस्पर्धाको कारण सिमेन्ट उद्योगले पनि चाउचाउ उद्योगको बाटो समाउने हो कि भन्ने चिन्ता उद्योगीहरुलाई छ । नेपालमा कुनैबेला चाउचाउ उद्योगमा अत्याधिक प्रतिस्पर्धा थियो । यद्यपी अहिले त्यो बेला प्रतिस्पर्धामा रहेका धेरै चाउचाउ ब्राण्डहरु बन्द भइसके ।


क्लिकमान्डु