नेपाल र भारतबीच रेल्वे सम्झौता ५ वर्षको नविकरण, कार्गो ढुवानी दुईतर्फी हुने



काठमाडौं । नेपाल र भारतबीच रेल सेवा सम्झौता अन्तर्गत तेस्रो विस्तृत पुनरावलोकन बैठक गत शुक्रबार सम्पन्न भएको छ । बैठकमा रेल मार्फत द्विपक्षीय र तेस्रो मुलुकबाट हुने पारवहन ढुवानी सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको छ ।

उक्त बैठकमा नेपाली बैंकिङ च्यानल मार्फत रेल भाडा ढुवानी गर्ने, डिटेन्सन-डयमरेज दस्तुर न्यून गर्ने, आधिकारिक कार्गो रेल सञ्चालनको दायित्व किटान गर्नेसहित विभिन्न १० विषयमा सहमति भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार नेपाली रेल कोलकाता-हल्दिया देखी विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति जनाएको छ ।

यस्तै नेपाल भारत रेल सेवा सम्झौताको म्याद सम्झौताको धारा १.४ अनुसार स्वतः ५ वर्षको लागि नवीकरण भएको छ ।

सम्झौताको अर्को बुँदामा पावरहन सन्धिमा सहमति भए अनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेल मार्फत बल्क कार्गो ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने र विराटनगर-जोगबनी, सुनौली-नौतनवा र कुर्था-इनर्वा–जयनगर रुटमा रेल सेवा सञ्चालनमा आए पश्चात उक्त रुटहरु कार्गो ढुवानी गर्न पाउने गरी नेपाल-भारत रेल सेवा सम्झौतामा थप गरिने सहमति भएको छ ।

मन्त्रालयका अनुसार नेपाल–भारत रेल सेवा सम्झौतामा संशोधनका लागि नेपालको तर्फबाथ १८ अप्रिल २०१८ मा प्रस्ताव गरिएको लेटर अफ एक्सचेन्जसहित तेस्रो विस्तृत पुनरावलोकन बैठकमा छलफल भएका विषयहरु समेत समेटी पारवहन-ढुवानी सहज बनाउन नेपालको तर्फबाट लेटर अफ एक्सचेन्जको मस्यौदा पठाउने र उक्त मस्यौदा चाँडो टुङग्याइ रेल सेवा सम्झौततामा संसोधन गर्न भारतीय पक्षबाट प्रतिबद्धता प्राप्त भएको छ ।

यस्तै भारतीय रेलबाट लाइसेन्स प्राप्त अन्य आधिकारिक कार्गो रेल सञ्चालकहरुलाई समेत नेपाली कार्गो ढुवानी गर्न अनुमति दिन नेपालले गरेको प्रस्तावलाई अनुमति दिने सम्बन्धमा सरोकारवाला पक्षहरुसँग छलफल गर्ने भारतीय पक्षले जनाएको उल्लेख छ ।

मन्त्रालयका अनुसार तेस्रो मुलुकबाट पारवहन ढुवानीका लागि भारतको धाम्रा र मुन्द्रा पोर्ट नेपाल भारत पारवहन सन्धिमा थप भएसँगै रेल सेवा सम्झौतामा समेत ती पोर्टहरु गर्ने सहमति भएको छ ।

नेपालको वीरगञ्ज सुख्खा बन्दरगाहासम्म विद्युतीय रेल्व लाइन विस्तार गर्न भारतीय पक्ष सहमति भएको उल्लेख छ । यता तेस्रो मुलुक आयात निर्यातका लागि नेपाल र भारतको सुख्खा बन्दरगाहबीच रेल मार्फत ढुवानी गर्न नेपाली पक्षले गरेको प्रस्तावमा नेपाल भारत पारवहन सन्धिमा आवश्यक संशोधन भएमा रेल सेवा सम्झौतामा यस्तो प्रावधान राख्न भारतीय पक्ष सहमत भएको छ ।


क्लिकमान्डु