विकास बैंकको नाफाः फेरि पनि मुक्तिनाथ नै फस्ट, कामना सेवा लास्ट, कस्को कति ? (सूचिसहित)



काठमाडौं । मुख्य कार्यालय काठमडौंमा सारेर राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएपछि नाफामा अरु विकास बैंकलाई उछिनेको मुक्तिनाथ विकास बैंकले फेरि पनि सबैभनदा बढी नाफा कमाउन सफल भयो ।

मुक्तिनाथले नाफामा लगातार अरुलाई उछिनेको मात्रै छैन, नाफाको ग्याप पनि उत्तिकै बढाउँदै लगेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा मुक्तिनाथले ६० करोड २० लाख रुपैयाँ कमाएको छ ।

मुक्तिनाथपछि धेरै नाफा कमाउने बैंक हो गरिमा । गरिमाले चालू आर्थिक वर्षको ९ महिनामै ४२ करोड ३८ लाख रुपैयाँ नाफा कमाएर मुक्तिनाथलाई पछ्याउँदै दोस्रो स्थान ओगट्न सफल भएको छ । तर, नाफाका आधारमा पहिलो हुने मुक्तिनाथ भन्दा दोस्रो हुने गरिमाले १७ करोड ८२ लाख रुपैयाँ कम नाफा कमाएको छ ।

३९ करोड ६१ लाख रुपैयाँ कमाएर कैलाश विकास बैंक नाफाका आधारमा तेस्रो छ । कुनै समय यो नाफाका आधारमा पहिलो थियो ।
३९ करोड रुपैयाँ नाफा कमाउँदै गण्डकी विकास बैंक चौथो स्थानमा भने ३८ करोड ७९ लाख रुपैयाँ कमाउँदै महालक्ष्मी विकास बैंक पाँचौं स्थानमा छ ।

त्यसैगरी, ३४ करोड ७३ लाख ७५ हजार रुपैयाँ नाफा कमाउँदै ओम डेभलपमेन्ट बैंक छैठौं स्थानमा छ भने ३४ करोड ३५ लाख रुपैयाँ नाफा कमाएर लुम्बीनी विकास बैंक सातौं स्थानमा छ ।

त्यस्तै, २८ करोड ५४ लाख रुपैयाँ कमाएर ज्योति विकास बैंक आठौं, २५ करोड ५३ लाख रुपैयाँ कमाउँदै देव विकास बैंक नवौं, २३ करोड १९ लाख रुपैयाँ कमाउँदै सा्रग्रिला विकास बैंक दशैं र २१ करोड २१ लाख रुपैयाँ कमाउँदै कामना सेवा विकास बैंक राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये अन्तिम स्थानमा छ ।

निक्षेप, कर्जा, प्रतिसेयर आम्दानीलगायतका सूचकहरुमा पनि मुक्तिनाथ नै पहिलो नम्बरमा छ । ०७५ चैत मसान्तमा मुक्तिनाथले ०७४ चैतको भन्दा ३ अर्ब ६६ करोड ६७ लाख रुपैयाँले बढाएर ४१ अर्ब ८० करोड ४९ लाख रुपैैयाँ निक्षेप संकलन गरेको छ ।

निक्षेपको वृद्धिदर र निक्षेप संकलन दुबैमा मुक्तिनाथलाई गरिमाले नै पछ्याइरहेको छ । एक वर्षको अवधिमा गरिमाले ३ अर्ब ३७ करोड ६६ लाख रुपैयाँ बढाएर ०७५ चैत मसान्तमा ३० अर्ब ३५ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

कूल निक्षेप संकलनका हिसाबमा भने गरिमा भन्दा १४ करोड रुपैयाँ बढी संकलन गरेर महालक्ष्मी दोस्रो स्थानमा छ । तर, महालक्ष्मीको निक्षेपको वृद्धिदर भने गरिमाको भन्दा आधा मात्रै छ । एक वर्षको अवधिमा १ अर्ब ५९ करोड रुपैयाँले बढाउँदै ३० अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यसैगरी, २ अर्ब ७५ करोड ५३ लाख रुपैयाँले बढाउँदै कैलाश विकास बैंकले ०७५ चैत मसान्तमा २९ अर्ब ४८ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

यो अवधिमा एक अर्ब २९ करोड ५२ लाख रुपैयाँ बढाउँदै गण्डकीले ०७५ चैतसम्ममा २७ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेकोछ ।

एक वर्षको निक्षेपको वृद्धिदरका आधारमा ज्योति निकै अगाडि छ । एक वर्षको अवधिमा ज्योतिले ३ अर्ब ६२ करोड रुपैयाँले बढाएर ०७५ चैतसम्ममा २७ अर्ब २० करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यस्तै, एक वर्षको अवधिमा १ अर्ब ११ करोड ४२ लाख रुपैयाँले बढाउँदै ओमले ०७५ चैतसम्ममा २४ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९१ करोडले बढाउँदै लुम्बीनीनले २४ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

त्यस्तै २ अर्ब ९९ करोडले बढाएर कामना सेवाले ०७५ चैतमा २० अर्ब अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ३७ करोड रुपैयाँले बढाएर सांग्रिला डेभलपमेन्ट बैंकले २० अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

निक्षेप संकलनका हिसाबले देब विकास बैंक अन्तिममा छ । देबले यो एक वर्षको अवधिमा जम्मा ८१ करोडले मात्रै बढाएर १७ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।


पुष्प दुलाल