१३ सयको प्रतिरोध परिक्षणमा नेप्से, पर्खिनुहोस् बढ्छ
काठमाडौं । कम्पनीहरुको तेस्रो त्रैमाशको वित्तीय विवरण प्रकाशित भइरहेका छन् । यसको प्रभाव बजारमा देखिन थालेको छ । लामो समयदेखि १२ सय विन्दुमै सिमित रहेको नेप्से परिसूचकले करीब १६ दिनको कारोबारमा १३ सय विन्दु भेट्न सफल भएको छ ।
गत साता अन्तर दिनको कारोबारमा १३२२ सम्म पुगेको नेप्से फेरी एक पटक यो साता १३११ सम्म पुग्यो । तर, खरिद चाप उच्च नै देखिए पनि नेप्से परिसूचक १३ सय विन्दुमा आइपुगेर घट्न थालेको छ । यो तहलाई लगानीकर्ताहरुले मनोवैज्ञानिक तहको रुपमा लिइरहेका देखिन्छन् ।
बजारमा एक साता अघि उच्च खरिद चाप देखिएकोमा यसमा कमी भइरहेको आरएसआइ सूचकले संकेत गरिरहेको छ । ८९ स्केलसम्म पुगेको नेप्सेको १४ दिने आरएसआई सूचक गत साता अन्तिम दिन करीब ७३ स्केलमा आइपुगेको छ ।
खरिद चाप र परिमाण घट्दै जाँदा बजारले निश्चित दिशा समात्न सकेको देखिदैन । ४ दिनअघि नेप्सेको मौनवत्ति चित्रले इनगल्फिङ बुलिश आकृति बनाएको भएपनि बजार त्यस अनुरुप बढ्न सकेन । कालो मैनवत्तिको आकृतिलाई त्यसपछि बनेको सेतो मैनवत्ति आकृतिले पुरै ढाकेको यो अवस्थामा बजार बढ्ने संकेत मिल्छ । यो संकेत दरिलो भने मानिदैन ।
बुलिश प्रवृत्तीले टेवा पाउन लाग्दै गर्दा त्यसपछि बनेका मैनवत्ति आकृतिले भने लगानीकर्ता अन्योलमा रहेको संकेत गर्छ । अन्तिम दिन नेप्सेको मैनवत्ति चित्रले स्पिनिङ टप्स आकृति बनाएको छ । यसले बजारले निश्चित दिशा लिन नसकिरहेको देखाउँछ । यो आकृतिमा दुबैतर्फ धागो सहितको मैनवत्ति बनेको छ । यद्यपि सो दिन बजार घटेकोले बजार बढ्न सक्ने सम्भावना कमजोर भने छ ।
नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेजले बजार वियरिश बनि नसकेको संकेत गरिरहेको छ । बजार अहिले पनि बुलिश प्रवृत्ति मै रहेको यसले देखाइरहेको छ । १३३६ को विन्दुमा नेप्सेले प्रतिरोधको सामना गरिरहेको रेखाचित्रले देखाइरहेको छ ।
यो समय बजारमा तीव्र मोलमोलाई चलिरहेको छ । यो समय बजार उच्च उतार चढावमा समेत देखिएको छ । बजारलाई प्रभाव पार्ने मुख्य समूह वाणिज्य बैंकहरुमा एकाधको बाहेक नाफा उच्च वृद्धि भएको छ ।
तर, बैंकहरुको सेयर मूल्य नै घट्दो क्रममा देखिएको छ । यसले लगानीकर्ताहरुमा बैंकको सेयर प्रति विश्वास बढ्न नसकिरहेको संकेत गर्छ ।
बैंकहरुको वित्तीय विवरण प्रकाशित भएको समयको तुलनामा मूल्य घट्दो क्रममा रहेको देखिन्छ । साताको अन्त्यमा वित्तीय विवरण प्रकाशित गरेकाले कृषि विकास बैंक, हिमालयन बैंक, प्राइम बैंक लगायतका केहीको सेयर मूल्यमा वित्तीय विवरणको प्रभाव देखिन बाँकी छ । वाणिज्य बैंकको सेयर मूल्यमा हुने परिवर्तनले नै नेप्सेलाई बढि प्रभाव पार्ने गर्छ ।
तर, शिवम सिमेन्टसहित मेगा, प्रभु , सिभिल, जनता जस्ता कम मूल्यका बैंकको कारोबारमा लगानीकर्ता झुम्मिएका छन् । गत साता १ करोड ७४ लाख कित्ता सेयर बजारमा थपिएको छ ।