ओली सरकारले ब्यूँतायो नेपाल रेल्वे कम्पनी, कर्मचारी विनियमावलीको मस्यौदा तयार



काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनी पुनःसञ्चालनमा ल्याउने भएको छ । रेल सेवा सुरु हुने चरणमा रहेकाले नेपाल रेल्वे कम्पनी सञ्चालनका लागि तयारी गरिएको हो । नेपाल रेल्वे कम्पनी मार्फत रेल सेवा सञ्चालन गरिनेछ ।

जनकपुर-जयनगर ३५ किलोमिटर रेल सेवा सञ्चालन हुने क्रममा छ । यहाँ रेल सञ्चालन गर्न मन्त्रिपरिषदले ८४ करोड ६५ लाख रुपैयाँमा भारतको कोकन रेल्वे कर्पोरेसनसँग रेल खरिद प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरिसकेको छ । रेल विभागले खरिद प्रक्रिया अघि बढाइ सकेको छ ।

सन् १९७२ मा सञ्चालनमा आएको नेपाल रेल्वे कम्पनी सन् २०१४ देखि कार्यान्वयनमा छैन । तत्कालिन समयमा जनकपुर-जयनगर रेल सेवा रेल्वे कम्पनी मार्फत सञ्चालन हुन्थ्यो । यो रेल सेवा बन्द भएसँग रेल्वे कम्पनी सक्रिय थिएन । सरकारले मुलुका विभिन्न भागमा रेल सञ्चालन गर्ने तयारी गरिरहेकाले नेपाल रेल्वे कम्पनी पुनः कार्यान्वयनमा ल्याउन लागेको हो । नेपाल रेल्वे कम्पनी रेल बोर्डको मातहतमा रहनेछ ।

विभागका महानिर्देशक बलराम मिश्राका नेपाल रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमावली पास गर्ने तयारीमा रहेको बताए ।

‘रेल बोर्डले नेपाल रेल्वे कम्पनीको संगठन संरचना र कर्मचारी विनियमावलीको मस्यौदा तयार गरिसकिएको छ, मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकिएको छ,’ मिश्राले भने, ‘मन्त्रालयले मन्त्रिपरिषद्बाट नेपाल रेल्वे कम्पनीको संगगन संरचना र कर्मचारी विनियमावली स्वीकृति गराउँनेछ । यही संरचना र कर्मचारी विनियमावलीको आधारमा मुलुकका रेल सेवा सञ्चालन हुनेछ ।’

भारत सरकारको सहयोगमा बर्दिबास-जनकपुर-जयनगर-कुर्था-विजयपुरसम्मको रेल मार्ग निर्माण हुँदै छ । यो खण्डको लम्बाइ ६९ किलोमिटर छ । त्यसमध्ये जनकपुर–जयनगर ३५ किलोमिटर रेलमार्ग निर्माण भइसकेको छ ।

बाँकी खण्ड निर्माणाधीन छ । सरकारले खरिद गर्न लागेको नयाँ रेल यही खण्डमा सञ्चालन गर्ने लक्ष्य छ । विभागले अघि बढाएको केरुङ–काठमाडौं, रक्सौल-काठमाडौं रेलमार्ग पनि अध्ययनकै क्रममा छ । यस्तै पूर्व-पश्चिम विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम जारी छ ।

हेटौंडा-भरतपुर खण्डको राष्ट्रिय निकुञ्ज छलेर डीपीआर तयार गर्दै छ । विभागले नै राजधानीको सातदोबाटो-नारायणगोपाल चोकसम्म रेलमार्ग सञ्चालन गर्न डीपीआर तयार गर्दै छ । यस खण्डको डीपीआर तयार गर्न १९ परामर्शदाताले आसय पेस गरेका छन् ।

काठमाडौं महानगरपालिकाले ललितपुर महानगरपालिकासँगको सहकार्यमा चक्रपथको साढे २७ किलोमिटरमा मोनोरेल सञ्चालन गर्ने योजना बनाएको छ । मोनोरेलको डीपीआर तयार गर्न चाइना रेलवे २५औं ब्युरो ग्रुपसँग सम्झौता भइसकेको छ ।

यस्तै लगानी बोर्डले काभ्रेको धुलिखेलदेखि काठमाडौंको नागढुंगासम्म मेट्रो रेल निर्माणको डीपीआर तयार गर्ने परामर्शदाता छनोट गर्दैछ । डीपीआर तयार गर्न प्रारम्भिक रूपमा सूचीकृत भएका चार कम्पनीको मूल्यांकन भइरहेको बोर्डले जनाएको छ ।

नेपाल रेल्वे कम्पनी मार्फत नै रेलको व्यवस्थापन तथा सञ्चालन गरिने छ । जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने क्रममा छ । अन्य स्थानमा निर्माण तथा अध्ययनकै क्रममा छ । पहिलो चरणमा जनकपुर–जयनगर खण्डमा रेल सञ्चालनमा आउनेछ ।

मिश्राका अनुसार पहिलो चरणमा रेल सञ्चालनका लागि दुई सयको हाराहारीमा कर्मचारी आवश्यक पर्ने बताए । हाल नेपाल रेल्वे कम्पनीमा २५ जना कर्मचारी कार्यरत छन् । नयाँ जनशक्तिको रुपमा रेल डाइभर, टिकट काट्ने, स्टेशन म्यानेजर, रेल्वे इन्जिनियर लगायतको कर्मचारी आवश्यक पर्छ ।

नेपालमा रेल चलाउन सक्ने दक्ष जनशक्ति उपलब्ध नभएकाले रेल खरिद गर्न लागिएको कोकन रेल्वे कर्पोरेसनसँग रेल चालक पनि उपलब्ध गराउने विषयमा विभागले लबिङ गरिरहेको छ ।

अन्य स्थानमा रेल सेवा सञ्चालनमा आइसकेपछि आवश्यकताका आधारमा अन्य कर्मचारी भर्ना गरिने र सम्भव हुने जनशक्ति अन्यत्र पनि सारिन सक्ने मिश्राले बताए ।


पुष्प दुलाल