बाहिरी चक्रपथ निर्माणलाई लिएर प्राधिकरण र सरकारबीच मतभेद



काठमाडौं । बाहिरी चक्रपथ निमार्णमा ढिलाई भइरहँदा सरकार र उपत्यका विकास प्राधिकरणबीच मतभेद देखापरको छ ।

सरकारले बाहिरी चक्रपथ निर्माण कार्य एकैपटक सक्ने भनेको छ भने प्राधिकरणले भने खण्ड–खण्ड गरी निर्माण गर्ने योजना बनाएको छ । बजेट पनि कम छ ,त्यसैले जति बजेट छ सोहि अनुसार पूर्ण काम गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणले यस आर्थिक वर्षमा बाहिरी चक्रपथ निर्माणको लागि ८ करोड रकम छुटाएको छ ।

प्राधिकरणका एक अधिकारीका अनुसार , ‘प्राधिकरण बाहिरी चक्रपथको लागि भनेर विनियोजन गरेको बजेट अनुसार अघि बढ्न चाहन्छ भने सरकार भने बजेट नभए पनि अघि बढ्ने सोचमा छ,जुन सम्भव छैन ।’

बजेट अनुसार अघि बढ्ने चाहेको प्राधिकरणले पहिलो खण्डमा बजेटले जति सकिन्छ त्यति सम्म मात्र कालोपत्रे सडक नै निर्माण गर्ने योजना रहेको छ । जसले गर्दा दोहोर्याएर काम गर्नु पर्ने अवस्था सिर्जना हुदैन ।

प्राधिकरणले सुरुमा चोभार देखि सतुगल सम्मको ६.२ किलोमिटर सडक पूर्ण रुपमा निर्माण गर्ने र अनि त्यसमा देखापर्ने आर्थिक तथा प्राविधिक लगायत सम्पूर्ण विषयमा जानकारी हुने प्राधिकरणको भनाई छ । पहिलो चरण निर्माण गर्दा मुआब्जा कति लाग्छ, निर्माण लागत तथा अन्य खर्च र मानवीय स्रोत साधन कति लाग्छ भन्ने विषयमा जानकारी हुने हुदाँ ,आयोजनाको निर्माण सम्पन्न कसरी गर्न सकिन्छ भन्ने खाका तयार गर्न सकिने प्राधिकरणको भनाई छ ।
तर सरकार भने बाहिरी चक्रपथ खण्ड– खण्ड रुपमा योजना सक्ने पक्षमा नहुदाँ समस्या देखापरेको छ ।

यस्तै प्राधिकरणले रेखाकंन अर्थात् ट्रयाक मात्र खोल्दा बजेट मात्र सकिने जनाएको छ । अधिकारीले भने, ‘ट्रयाक खोल्यो पिच हुदैन अलपत्र हुन्छ पिच गर्ने अवस्थामा फेरि ट्रयाक खोल्नु जरुरी हुन्छ जसले गर्दा खर्च मात्र बढ्छ, काम देखिदैन ।’

सरकारले बाहिरी चक्रपथ निर्माण एकैपटक सक्नु भन्ने निर्देशन दिने तर बजेट पनि नदिदाँ प्राधिकरण समस्यामा परेको छ । हाल प्राधिकरणसँग बाहिरी चक्रपथ निर्माणको लागि छुटाईएको ८ करोड रकमले चोभारदेखि संतुगलसम्म ट्रयाक खोली सडकको पर्खाल लगाउन सकिन्छ ।
कुल लम्बाई ७१.९३ कि.मि.हुने यस चक्रपथ सहरी विकास मन्त्रालयले निर्माण गर्ने भनिएपनि काम सुरु हुन सकेको छैन । चक्रपथ निर्माणको प्रथम चरणका रुपमा चोभार, गाम्चा र सतुङ्गल खण्डको ६.६ किलोमिटर रहेको छ ।

प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनि रहेका छन् । चक्रपथको कुल लम्बाई मध्ये काठमाडौँमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० कि.मि. र भक्तपुरमा २१.०५ कि.मि. हुनेछ । चक्रपथ आयोजना जग्गा विकास (ल्यान्ड पुलिङ) प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको हो । बाहिरी चक्रपथमा ८ लेन सडक सहित साइकल लेन, हरियाली बेल्ट, फूटपाथ तथा अपाङमैत्री पेटीको समेत ब्यबस्था गरिएको छ ।


क्लिकमान्डु