बीमा समितिका अध्यक्ष भन्छन्- नाफा खोज्ने लगानीकर्ता बीमामा लगानी गर्न नआए हुन्छ



काठमाडौं । बीमा कम्पनीहरुले ‘ओभर क्यापिटलाइज’ भएको भन्ने गुनासो गरिरहेका बेला बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले बीमा क्षेत्र नाफा खोज्ने क्षेत्र नभएको बताएका छन् ।

खासगरी निर्जीबन बीमा कम्पनीहरुको पुँजीको आकार र व्यवसायको आकार करिब उत्रै छ । जसकारण निर्जीबन बीमा कम्पनीका लगानीकर्ताहरुले राम्रो प्रतिफल पाउन सकिरहेका छैनन् ।

लगानीकर्ताहरुले बीमा समितिको नीतिका कारण ‘ओभर क्यापिटलाइज’ को समस्या भएको गुनासो गरिरहेका छन् ।

बीमा कम्पनीमा देखिएको ओभर क्यापिटलाइजको समस्या अन्त्य भइसकेको बीमा समितिका चापागाईंको भनाइ छ ।

‘एक वर्ष अघिसम्म बीमा कम्पनीमा ओभर क्यापिटलाइजको समस्या थियो, तर अहिले बिजनेशको आकार बढेकाले यो समस्या छैन,’ अध्यक्ष चापागाईंले क्लिकमाण्डूसँग भने ।

‘बीमा क्षेत्र अन्य क्षेत्रजस्तो ह्वात्तै नाफा कमाइहाल्ने क्षेत्र होइन, यो त सामाजिक सुरक्षासहितको नाफामूलक व्यवसाय हो,’ अध्यक्ष चापागाईंले भने, ‘यदि कसैलाई बीमामा लगानी गर्दा नाफा कमाइ भएन भन्ने लाग्छ भने बीमामा लगानी गर्न नआए हुन्छ ।’

निर्जीबन बीमा कम्पनीहरुको चुक्ता पुँजी करिब २० अर्ब पुग्दैछ, भने व्यवसायको आकार पनि २५/२६ अर्ब रुपैयाँ मात्रै छ । व्यवसायको आकार नबढी पुँजी मात्रै बढ्दा यो क्षेत्रमा ओभर क्यापिटलाइजको समस्या देखिएको हो ।

तर, जीबन बीमा कम्पनीहरुमा भने ओभर क्यापिटलाइजको समस्या नरहेको चापागाईं बताउँछन् ।

‘म अध्यक्ष भएर आउँदा बीमाको पेनिट्रेशन ७ प्रतिशत थियो, अहिले १४ प्रतिशत पुगेको छ,’ उनले भने, ‘बजार विस्तारको यति ठूलो संभावना भएकाले जीबन बीमाको क्षेत्रमा अधिक पुँजीको समस्या थिएन ।’

एक वर्ष अघिसम्म निर्जीबन बीमा व्यवसायमा भने यस्तो समस्या भएको तर अहिले यो समस्याको समाधान भइसकेको उनको भनाई छ ।

‘हामीले पुँजी बढाउँदा १३/१४ अर्बको बिजनेश थियो, अहिले २५/२६ अर्ब पुगिसकेको छ,’ उनले भने, ‘यो आर्थिक वर्षभित्रै करिब ३५ अर्ब रुपैयाँको बिजनेश हुने भएकाले ओभर क्यापिटलाइजको समस्या समाधान भइसक्यो ।’

‘हामीले ठूलो पुँजी भएका बलिया संस्थाहरु चाहेका हौं, बीमा कम्पनीहरु आपसमा मर्ज भएर पुँजी र बिजनेश दुबैमा बलियो रुपमा आउँछन् भने हामी थप प्रोत्साहन गर्छौं ।’

बीमा क्षेत्र नाफा कमाउने व्यवसायभन्दा पनि सामाजिक कामसहितको नाफा भएको चापागाईंको बुझाइ छ ।

‘बीमा क्षेत्र अन्य क्षेत्रजस्तो ह्वात्तै नाफा कमाइहाल्ने क्षेत्र होइन, यो त सामाजिक सुरक्षासहितको नाफामूलक व्यवसाय हो,’ अध्यक्ष चापागाईंले भने, ‘यदि कसैलाई बीमामा लगानी गर्दा नाफा कमाइ भएन भन्ने लाग्छ भने बीमामा लगानी गर्न नआए हुन्छ ।’

कतिपय व्यवसायहरु नाफामूलक भन्दा पनि सेवामूलक बढी हुनुपर्ने उनको ठम्याइ छ ।

‘बीमामा लगानी गर्ने अनि ट्रेडिङ गरेजस्तो नाफा खोज्नु त भएन नि,’ उनले भने ।

तर बीमा समितिले बजारको विस्तार गर्नका लागि बीमा कम्पनीहरुलाई सहयोग गर्ने उनको भनाइ छ ।

‘हाम्रो देशमा बीमाबारे जनचेतना छैन, बीमा समिति र बीमा कम्पनीहरु मिलेर बजारको विस्तार गर्ने हो, बजारको विस्तार हुँदा आखिर बीमा कम्पनीलाई नै त फाइदा हुने हो नि,’ चापागाईंले भने ।

यदि कसैलाई ओभर क्यापिटलाइजको समस्या छ जस्तो लाग्छ भने मर्जरमा गएर पुँजी र बिजनेश दुबैको आकार बढाउन उनको सुझाब छ ।

‘हामीले ठूलो पुँजी भएका बलिया संस्थाहरु चाहेका हौं, बीमा कम्पनीहरु आपसमा मर्ज भएर पुँजी र बिजनेश दुबैमा बलियो रुपमा आउँछन् भने हामी थप प्रोत्साहन गर्छौं,’ उनले भने, ‘सबै कम्पनीहरुले तोकिएको पुँजी पुर्याउने निश्चित भएकाले अहिले फोर्स मर्जरबारे सोचेका छैनौं ।’


पुष्प दुलाल