१ अर्ब खर्चेर भारतसँग रेल किन्दै ओली सरकार



काठमाडौ. । सरकारले १ अर्ब लागतमा दुई वटा रेलको इन्जिन खरिद गरेर भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म रेलमार्ग सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

रेल सञ्चालनका लागि सरकारले शुरूमा रेलका इन्जिन र डिब्बासहितका दुईवटा सेट खरिद गर्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेको रेल विभागका अनुसार एउटा सेटमा ५ डिब्बा र २ इञ्जिन रहनेछ ।

भारतीय सरकारमार्फत खरिद गरिने रेलका सेटको मूल्यबारे छलफल भइरहेको । तर औसतमा ती रेलको मूल्य १ अर्ब रुपैयाँ जति पर्ने अनुमान गरिएको छ ।

भौतिक पूर्वाधार तथा याताया व्यवस्था मन्त्री रघुवीर महासेठले केही दिन पहिले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा पनि रेलमार्ग सञ्चालनका लागि भारत सरकारसँग रेल खरिदको विषयमा परामर्श भइरहेको बताएका थिए । उनले तत्कालका लागि रेल खरिद गर्नु नै उत्तम विकल्प हुने बताएका थिए ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा हाल जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिवाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माण भइरहेको छ ।

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

निर्माणमा संलग्न भारतीय प्राविधिकले रेल गुढाउन रेलमार्ग तयार रहेका वा नरहेको भन्ने बारेमा आवश्यक परिक्षण गर्ने तयारी गरेको छ । त्यसमा नेपाली प्राविधिकले समेत परिक्षण गर्ने छन् ।

रेल विभागले रेलको २ वटा सेट खरिद गर्न लागेको छ । त्यसमा एउटा सेटको मूल्य ५० करोडको हाराहारीमा हुनेछ । रेलमार्गको दुरी छोटो भएकाले अत्याधुनिक सुविधा तत्कालका लागि नचाहिने निष्कर्षमा विभाग पुगेको छ । अत्याधुनिक सुविधा जडान गर्दा थप बढी मूल्य पर्न जान्छ ।

त्यसमा एसी, सुत्न मिल्ने बेड, तथा अन्य अत्यावश्यकीय सेवा तथा सुविधा समेत उपलब्ध गराउनुपर्नेछ । तर रेलमार्गको दुरी नै कम भएका कारण ती सबै सुविधा तत्काल राख्ने कि नराख्ने भन्ने बारेमा भने केही निर्णय भएको छैन । कम सुविधा उपलब्ध गराउन लागिएका कारण रेलको मूल्य केही घटन सक्ने विभागको भनाइ छ ।

हाल सञ्चालनमा ल्याउन लागिएको रेल प्रतिघण्टा १ सय ६० किलोमिटरको दुरी तय गर्ने क्षमताको रहेको छ ।

विभागकाअनुसार भारतीय पक्षसँग सम्झौता भएको ९० दिन भित्र रेल ल्याउन सकिन्छ । भारतीय पक्षले सो समयभित्र रेल उपलब्ध गराउन सकिने बताएको छ ।

विगतमा पनि जनकपुर जयनगरमा रेल सञ्चालन हुने गर्दथ्यो । सो समयमा नेपालमा चल्ने रेल कोइलाबाट चल्थ्यो । हाल चलाउन लागिएको रेल डिजलबाट चलाउन लागिएको छ । नेपाली रेल चालकसँग न्यारोगेज रेल चलाएको मात्रै अनुभव भएकाले प्रशिक्षणको क्रममा भारतीय चालक ल्याएर उनीहरुबाट प्रशिक्षण दिने तयारी गरिएको छ । हाल निर्माण भएको रेलमार्ग ब्रोडगेज हो ।

पूर्ववर्ती कार्यतालिकाअनुसार यही पुस मसान्तसम्म उक्त रेलमार्गमा रेल चलाउने तयारी गरिएको थियो । तर परिक्षण, रेलको इन्जिन खरिदलगायतका काम बाँकी रहेका कारण जयनगर कुर्था रेलमार्गमा रेल चलाउने समय पछाडि सर्दै आएको छ ।

रेलमार्ग निर्माणमा विषयमा उत्तरी छिमेकी देश चीनका प्राविधिकहरुले पनि आवश्यक तयारी गरेका छन् । हालै सम्पन्न नेपाली अधिकरी र चिनियाँ अधिकारीको संयुक्त बैठकले केरुङ काठमाडौं रेलमार्गको डिपिआर तयार पार्ने सहमति भएको छ । डिपिआरलाई चाँडै अन्तिम रुप दिएर रेलमार्गको लागत तथा अन्य प्राविधिक पक्ष टुंगो लगाएर रेलमार्ग निर्माण गर्ने तयारी गरिएको छ ।

केरुङ काठमाडौं रेलमार्गको दुरी ८० किलोमिटरको आसपासमा रहनेछ । सो रेलमार्ग निर्माणका लागि हालको मूल्यमा ३ खर्ब र मूल्य समायोजन हुँदै जाँदा ४ खर्बसम्म लागत पर्न जाने अनुमान गरिएको छ । तर डिपिआर तयार भएपछि मात्रै रेलमार्गको लागत तय हुने छ ।

नेपाललाई रेलमार्गबाट जोड्न भारत र चीनको प्रतिस्पर्धा जस्तो भइरहेको छ । भारतले दक्षिणी सीमावर्ती क्षेत्रका विभिन्न ५ स्थानमा रेलमार्ग निर्माणको काम अगाडि बढाएको छ । त्यसमा रक्सोल काठमाडौँ रेलमार्ग महत्वपूर्ण रेलमार्ग हो । यस्तै उत्तरी छिमेकी देश चीनले पनि केरुङ काठमाडौँ रेलमार्गको कामलाई अगाडि बढाउने तयारी गरेको छ ।

सरकारले केरुङ काठमाडौँ रेलमार्गको डिपिआरको काम चीन सरकारले नै गरिदेओस् र लगानी पनि उसैको रहोस् भन्ने अपेक्षा राखेको छ ।


पुष्प दुलाल