तिनकुनेको नेटवर्क आर्क ब्रिजः म्याद सकियो, काम ३० प्रतिशत मात्रै



यो बिजुली बजारमा बन्दै गरेको नेटवर्क आर्क ब्रिज हो । तिनकुनेमा पनि यस्तै आर्क ब्रिज बनाउने भनिएको छ ।

काठमाडौं । तिनकुनेमा बन्दै गरेको नेटवर्क आर्क नेटवर्क ब्रिजको निर्माण अवधि सकिएको ५ महिना नाघिसकेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार हालसम्म उक्त ब्रिजको निर्माणको ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

२१ करोड ३३ हजार रुपैयाँको लागतमा बन्न आटेको उक्त पुल निर्माणका क्रममा ६ करोड ७७ लाख ३७ हजार रुपैयाँ खर्च भइसकेको छ ।

उक्त पुल निर्माणको ठेक्का पुप्पु कन्स्ट्रक्सनले लिएको छ । उक्त निर्माणको ठेक्का सम्झौता २०७१ साल पुस ४ गते भएको थियो । उक्त निर्माणको अन्तिम समय २०७५ साल असार ५ गते तोकिएको थियो ।

उक्त पुलको लम्बाई ८५ मिटर रहेको छ भने चौडाई १२ मिटर रहेको छ ।

हालसम्म उक्त पुल निर्माण नहुनुमा सो पुल नयाँ र स्पेसल डिजाइनको भएकाले त्यसको स्वीकृति प्राप्त गर्न कै लागि बढी समय लाग्नु रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता श्विविजय लाल श्रेष्ठले बताए ।

उनका अनुसार निर्माण सुरु हुन नै ढिलाई भएकाले सो पुलको निर्माणमा धेरै समय लागेको हो ।

उनले निर्माण सुरु गर्ने बेलामा खाने पानी तथा विद्युतीय यूटिलिटिजहरुको समयमै उचित व्यवस्थापन नभएकाले पुल निर्माणमा ढिलाई भएको बताएका छन् ।

‘हाल माथिल्लो तर्फ सबस्ट्रकचरको काम सम्पन्न भएको छ र तल्लो तर्फ पिलिङको काम भइरहेको छ,’ श्रेष्ठले भने ।

हाल निर्माण वयवसायी पप्पु कन्स्ट्रक्सनले म्याद थपको लागि निवेदन दिएको उनले जानकारी दिए ।

समयमै नबन्दा समस्या
निर्भारित समयमा तिनकुनेको नेटवर्क आर्क ब्रिज निर्माण सम्पन्न नहुँदा ट्राफिक व्यवस्थापनमा ठूलो समस्या देखिएको छ । माइतीघर–तिनकुने सडकमा लेन अनुसारको पुल निर्माण नहुँदा अत्याधिक जाम हुने गरेको छ भने यात्रुले उस्तै सास्ती खेप्नु परेको छ ।

कस्तो हुन्छ नेटवर्क आर्क ब्रिज ?
श्रेष्ठका अनुसार तिनकुनेमा बन्न लागेको नेटवर्क आर्क ब्रिज नेपालमै बन्न लागेको पहिलो भएकाले यसको डिजाइनमा स्वीकृति पाउन समय लागेको हो ।

उक्त ब्रिज नयाँ प्रविधिमा आधारित भएको र नेपाल जस्तो देशमा पहिलो पटक बन्न आट्दा यसको डिजाइन निर्माण गर्ने ठेकेदारलाई नै तयार पारेको उनले जानकारी दिए ।

नेटवर्क आर्क ब्रिज माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिनेछ । बीचमा बलिया तार जडान गरी बीचमा गार्डर राखिने छ । नेटवर्क तारले ब्रिजको भारको क्षमता तल र माथि गरेर सन्तुलनमा ल्याउने छ ।


क्लिकमान्डु