निर्मला पन्त हत्याकाण्डमा प्रहरी असफल, प्रमाण नष्ट गर्ने हो हुन् ?



काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सुक्ष्म अनुसन्धानमा खटिएको प्रहरीले हालसम्म घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन असफल भएको छ ।

गत साउन १० गते साथीको घरबाट स्कूलको गृहकार्य सकेर घर जाँदै गरेकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ गते बिहान उखुबारीमा शव फेला पारेको थियो ।

सबैतिर निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै विरोध एवं दवाव कार्यक्रमहरू भइरहेका बेला घटनाको अनुसन्धानमा खटिएको प्रहरीको अनुसन्धान टोली, प्रहरीकै केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को टोलीले अनुसन्धान तीव्र पारेपनि अभियुक्त नजिक पुग्न नसक्दा सरकारप्रति आक्रोश बढेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको नेतृत्वमा रहेको अनुसन्धान टोली पनि लामो समयदेखि घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको दावी गरेको छ ।

गृह मन्त्रालयले आइतबार साँझ बलात्कारपछिको हत्याकाण्डको प्रतिवेदन सार्वजनिक गरेको छ । तर दोषी को हुन् भन्ने बारेमा प्रतिवेदन मौन छ ।

प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भएपनि उदासिन रहेको निष्कर्ष निकालिएको छ । पन्तको हत्या घटनासँग सम्बन्धित प्रमाण सङ्कलनमा खटिएका प्रहरीको लापरवाही रहेको निष्कर्ष निकालिएको छ ।

शव बरामद भएको स्थान, निजले प्रयोग गर्ने साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र ती सामग्री प्राप्त भएको स्थान तथा आसपासका क्षेत्रमा अपराधीको पहिचानका लागि प्रयोग हुनसक्ने गरी तालीम प्राप्त कुकुरको प्रयोग नभएको, शव फेला परेको स्थान र आसपासको क्षेत्रका तत्काल पर्याप्त मात्रामा तत्कालीन प्रहरी प्रमुखले सुरक्षाकर्मी परिचालन नगरेको देखिएको छ ।

यस्तै पन्त जुन घरबाट हराएको हो सोही घरमा बस्ने बविता भनिने अनिता बम र रोशनी भनिने आँचल बमलाई हिरासतमा लिई अनुसन्धान प्रक्रिया थालनी नगरेको र स्थानीय प्रहरीले यथेष्ट प्रमाणबिना दिलीपसिंह विष्टलाई अनुसन्धानका लागि म्याद थप गरी सार्वजनिक गरेको उल्लेख छ ।

यस्तै भदौ ४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा गरिएको बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, नीलो रङको गञ्जी र खैरो रङको जिन्स पाइन्ट केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षाका लागि भदौ ८ गते पठाएको, भदौ १० गते नमूना सच्याउन पत्र लेखेको पाइएको छ ।

पन्तको बलात्कार हत्यासँग सम्बन्धित प्रमाण हुन सक्ने भित्री बस्त्र पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालिएको र उक्त बस्त्र नै लोप गरिएको, पन्तका बाबु यज्ञराज साउन १२ गते मात्रै नेपाल फर्केको भएपनि साउन ११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खडा गरेको दसी प्रमाणमा सनाखत मुचुल्का कागजातमा मृतकका बाबुको नाममा सही छाप गरेको पाइएको छ ।

तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टको व्यवहार र कार्यशैलीका कारण आमनागरिक तथा पीडित परिवारका सदस्य प्रहरीको काम कारवाहीप्रति विस्वस्थ हुन नसकेको उल्लेख छ ।


क्लिकमान्डु