प्रतिकित्ता २८० मा एफपिओ हाल्न डराएको नेपाल बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ पुग्यो, यस्तो छ कारण



काठमाडौं । नेपाल बैंकको सेयर मूल्यमा पछिल्लो समय बृद्धि भएको छ । यस बर्ष नेपाल बैंकले सेयर लगानीकर्तालाई बोनश खुवाउने सम्भावना देखिएसंगै बैंकको सेयर मूल्यमा वृद्धी भएको पाइएको छ ।

केहीबर्ष अघिबाट नै बैंकले लगानीकर्तालाई बोनश दिन बाँकी रहेको अवस्थामा छोटो समयमा बोनश खाने लगानीकर्ताहरुको भीड लागेको छ । केही समय अघि बैंकले एफपिओ समेत जारी गरेको थियो । एफपिओमा त्यति आकर्षित नभएका लगानीकर्ता एकाएक बैंकको सेयरमा भने आकर्षित भएका हुन् ।
बैंकले प्रतिकित्ता २८० रुपैयाँको दरले निष्कासन गरेको एफपिओ बिक्री नभएपछि अन्डरराइट गर्ने कम्पनीले खरिद गरेका थिए ।

एक महिना अघि भदौ १० गते आईतबार नेपाल बैंकको सेयर मूल्य दोस्रो बजारमा २ सय ८५ रुपैयाँ थियो । अहिले सोही बैंकको सेयर मूल्य ३ सय २४ रुपैयाँ कायम रहेको छ ।

यसरी नेपाल बैंकको सेयर मूल्य ३९ रुपैयाँले बढेको देखिएको छ । बजारमा बैंकको सेयर मूल्य बढ्दै गर्दा असोज ९ गते मंगलबार भने सेयरको मूल्य ३ सय ३४ रुपैयाँ समेत पुगेको थियो । यसले दोस्रो बजारमा लगानीकर्ता नेपाल बैंकको सेयरप्रति आकर्षित भएको देखाउँछ ।

बानेश्वरको लिंक सेक्युरिटिमा भेटिएका एक लगानीकर्ता कमल पन्थी नेपाल बैंकको व्याजदर घटेका कारण बैंकको सेयर मूल्यमा वृद्धि भएको बताउँछन् । पन्थीका अनुसार–‘अहिले नेपाल बैंकको व्याजदर घट्ने क्रममा छ, त्यसको असर नै सेयर मूल्यमा परेको हो ।’

बैंकले नगद लाभांश दिनसक्ने भएकाले लगानीकर्ताको मन त्यता तानिएको हो– उनले बताए । यसरी नै बैंकले एफपिओ जारी गरेको सन्दर्भ जोड्दै उनले सो बेलामा एफपिओ(हकप्रद) मा बाढी आएका कारणले नै बिक्न गाह्रो मानेको बताए ।

त्यसैगरी क्रिष्टल कञ्चनजंगामा भेटिएका एक लगानीकर्ता नवराज उप्रेतीले पैसा आउने सम्भावनाले लगानीकर्ता आकर्षित भएको बताए । उप्रेतीका अनुसार–‘लगानीकर्ताले नेपाल बैंकबाट अहिले पैसा आउने बेला भएको महशुस गरेकाले नै यसमा आकर्षण बढ्न थालेको हो, यो बर्षको मात्र नभएर सेयर लगानीकर्ताले अघिल्लो बर्षको समेत नाफा पाउन बाँकी छ ।’ उनले बैंकको रिजर्भ तथा बोनश आफैमा राम्रो भएकाले आकर्षण गरेको बताए ।

यस्तै, शंकरदेव कलेज अगाडि रहेको अनलाईन सेक्यूरिटिजमा भेटिएका एक सेयर लगानीकर्ता कृष्ण रेग्मी तरलताको समस्या स्ुल्झिनुले नै नेपाल बैंकको सेयर भाउँमा वृद्धि भएको बताए ।

रेग्मीका अनुसार–‘अहिले तरलताको समस्या हट्दै गयो, यसले गर्दा नै बैंकको सेयर मूल्यमा वुद्धि हुन थाल्यो ।’ उनले अहिले बजार बढी रहेको अवस्था भएकालेपनि मूल्य बढ्न थालेको हो । बजार घट्दा मूल्यपनि घट्ने उनको धारणा रहेको छ । यस्तै, थोरै समयमा धेरै नाफा कमाउन लगानीकर्ता लगेको उनको भनाई रहेको छ ।


क्लिकमान्डु