रबि लामिछाने मात्रै होइन, सयौंले किन त्यागे अमेरिकाको नागरिकता ?
अमेरिका । नेपाली कार्यक्रम प्रस्तोता रवि लामिछानेले भर्खरै अमेरिकाको नागरिकता त्यागेपछि अमेरिका र नेपालमा हुनेहरुको लागि बहसको एउटा विषय उठान भएको छ ।
अहिलेसम्म औंलामा गन्न सकिने नेपालीहरुले मात्रै अमेरिकाको नागरिकता त्यागेर नेपाल फर्किएको समाचार आईरहेको बेला लामिछाने पछिल्लो उदाहरण भएका छन् ।
बेला बखतमा अमेरिकामा हुने नेपालीहरुले कुनै राजनीतिक तथा समसामयिक विषयमा बोलेमा नेपालमा भएकाहरुबाट नेपाललै फर्किन सुझाव पनि आउने गर्छ ।
तर, नेपाली मात्रै होईन करिब ३३ करोड जनसंख्या रहेको संसारको शक्तिशाली अमेरिकामा हुने अन्य देशका नागरिकले पनि हत्तपत्त अमेरिकाको नागरिकता त्याग्दैनन् होला भन्ने हाम्रो दिमागमा आउला ।
तर, तथ्यांकमा भने अमेरिकाबाट पलायन हुने अमेरिकीहरु बढिरहेको देखिन्छ ।
नेपालबाट अमेरिकामा जान ज्यानकै बाजी लगाउनेहरुको लहड चलिरहेको बेला अमेरिकी नागरिकहरु भने अमेरिकाबाटै पलायन हुने क्रम पछिल्ला वर्षहरुमा ह्वात्तै बढेको देखिन्छ ।
अमेरिकाको राजश्व विभागको तथ्यांक अनुसार सन् १९९८ देखि २०१६ सम्म अमेरिकाको नागरिकता त्याग्नेहरुको संख्या हजारौं गुणाले बढेको छ ।
२०१० मा १५ सय ३४ जनाले अमेरिका छोडे । २०१५ मा पुग्दा ४ हजार २ सय ८२ जनाले एकै वर्ष अमेरिका छाडिदिए । पछिल्लो तथ्यांकअनुसार २०१६ मा सबैभन्दा धेरै ५ हजार ४ सय ११ जना अमेरिकी नागरिकले अमेरिकाको नागरिकता त्यागेका छन् । यो सन् १९९८को भन्दा २३ सयभन्दा धेरै प्रतिशतले बढी हो ।
सन् १९९८ मा जम्मा ३९८ जनाले अमेरिकाको नागरिकता त्यागेर अरु देशमा बसार्इं सरेका थिए । त्यो क्रम २००५ मा पुग्दा पछिल्लो ८ वर्षयताकै सबैभन्दा धेरै भयो । अर्थात् २००५ मा ७ सय ६२ जनाले अमेरिकी नागरिकता त्यागे ।
त्यस्तै, २०१० मा १५ सय ३४ जनाले अमेरिका छोडे । २०१५ मा पुग्दा ४ हजार २ सय ८२ जनाले एकै वर्ष अमेरिका छाडिदिए । पछिल्लो तथ्यांकअनुसार २०१६ मा सबैभन्दा धेरै ५ हजार ४ सय ११ जना अमेरिकी नागरिकले अमेरिकाको नागरिकता त्यागेका छन् । यो सन् १९९८को भन्दा २३ सयभन्दा धेरै प्रतिशतले बढी हो ।
जसंख्याको आधारमा न्यून भएपनि नागरिकता त्याग्नेहरुको बृद्धिदरले भने अमेरिकाप्रति नगरिकको वितृष्णा बढेको संकेत देखिन्छ ।
यद्यपि यसमा सरकारले देश निकाला गरेको तथा अरु कारबाहीमा परेर नागरिकता खोसिएको (अमेरिकामा जन्मेका बाहेककाको नागरिकता केही जघन्य अपराध तथा देशद्रोह गरे खोसिन सक्छ) हरु पनि समावेस भएकोले स्वेच्छाले नागरिकता त्यागेको मात्र भन्न सक्ने अवस्था छैन ।
नागरिकता त्यागेको वा खोसिएको तथ्यांक बढिरहेको बेला नेपालबाट अमेरिका भनेपछि मरिहत्ते गर्नेहरुको संख्या भने घटेको छैन ।
किन छाड्दैछन् अमेरिका ?
यहाँको सञ्चारमाध्यमले अमेरिकी पासपोर्ट र नागरिकता त्याग्नुको मुख्य दोस यहाँको कर प्रणालीलाई दिएका छन् । यहाँको कर नियम अनुसार यदि अमेरिकी नागरिक विदेशमा कमाउन गयो भने उसले एउटै कमाईबाट दुई देशमा कर तिर्नुपर्ने हुनसक्छ ।
किनभने अमेरिकाको कानूनमा जुन देशमा कमाए पनि यहाँ राजश्वको हिसाब बुझाउनुपर्छ । यहाँको कर नियम अनुसार अमेरिकी पासपोर्ट लिएर नेपालै गएर बसे पनि यहाँ आफ्नो आम्दानीको हिसाब बुझाउनुपर्छ ।
अमेरिकामा कमाएको मात्र होईन संसारको जुनसुकै देशमा गएर तपाईले कुनै सीमाभन्दा बढी कमाउनुभयो भने अमेरिकी सरकारलाई कर तिर्नुपर्छ । निकै चर्को करले अमेरिकी नागरिक पेलिएका छन् ।
कर तिरेअनुसारको सुविधा भए पनि कमाएको धेरै अंश करमा जाने भएपछि यहाँ नागरिकलाई वितृष्णा बढेको हुनसक्छ । यसरी यहाँको नागरिक सरल कर प्रणाली र लगानीको अबसर भएका देश खोज्दै हिँडेको अनुमान गर्न सकिन्छ ।
धनीबाट लिएर गरिबलाई दिन्छ अमेरिका
नेपालमा धनीले धन थुपारेको थुपार्यै गर्ने र गरिब कहिल्यै उभो नलाग्ने गरी बनेको ठूलो खाडल छ । भलै यसमा सरकारको कमजोरी नहोला तर गरिबले सरकारबाट पाउने राहत भनेको दशैमा नुन र तेलमा दिईने छुटमै सिमित भएको छ ।
तर, अमेरिकाको सामाजिक सुरक्षा व्यवस्था मजबुत छ । यहाँ धनीबाट पैसा लिएर गरिबलाई दिईन्छ । अर्थात प्रत्येक वर्ष करको हिसाब मिलान गर्दा आम्दानीको आधारमा अरु तिर्नुपर्ने वा सरकारले पैसा दिने भन्ने निक्र्यौल गरिन्छ । उचित कारणसहित कम आम्दानी भएको छ भने सरकारबाट प्रसस्त पैसा पाईन्छ ।
तर यो पैसा सरकारले आफै दिने होईन । धनीहरुसँग लिएर दिने हो । यसको अर्थ हो जति धेरै पैसा कमायो उति धेरै कर तिर्नुपर्छ ।
अमेरिकाको यस्तो कर प्रणालीले गरिब र निम्न आय भएका ब्यक्तिहरुलाइ राम्रो गरेको छ । तर धनीहरु चिढिएका छन् ।
सजिलो छैन अमेरिकी नागरिकता त्याग्न
अमेरिकामा भर्खर आएका र एक दुई वर्ष बसेका नेपालीहरुको प्रायजसो एकै मानसिकता पाईन्छ थोरै पैसा कमाएर नेपाल फर्किने । अझ भर्खर भर्खर अमेरिका आएका मित्रहरुलाई सोध्यो भने भोली नै नेपाल फर्किने जस्तो कुरा सुनिन्छ तर त्यही व्यक्तिलाई तीन/चार वर्षपछि सोध्ने हो भने मुन्टो बटार्ने अवस्थामा पुगेको हुन्छ । कतिपय व्यक्ति मनै नभएर पनि अमेरिकामा जबरजस्ती बसेको भान हुन्छ ।
यहैबीचमा सञ्चारकर्मी मित्र रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेको (पासपोर्ट बुझाएको) खबरले अहिले अमेरिका र नेपालमा बस्ने नेपालीहरुमा चर्चाको विषय बनेको छ ।
अमेरिकाको नागरिकता लिन मरिहत्ते गर्नेहरुकोबीचमा रविले किन अमेरिकाको नागरिकता त्यागेर नेपाल फर्किए त्यो त्यति चासोको विषय रहेन । तर अमेरिकामा बसेर नागरिकता समेत पाईसकेको (अमेरिकामा नजन्मिएका व्यक्तिलाई यहाँको नागरिकता पाउन कम्तिमा पनि ५ वर्ष पहिला अमेरिका आएको र कम्तीमा ३० महिना बसेको हुनुपर्छ) मान्छेले किन अमेरिका छोड्न सक्दैन ? हामी त्यतातिरको चर्चा गरौं ।
अमेरिकामा बस्नेले अमेरिका छोड्नै नसक्ने सबैभन्दा ठूलो कारण भनेको यहाँको ऋण हो । नेपालमा हामी बिनानगद केही पनि किन्न सक्दैनौं । बैंकको ऋण नै लिनु छ भने पनि तपाईसँग सम्पत्ति हुनुपर्छ । तर अमेरिका त्यस्तो छैन ।
तपाई अलि समय बस्नु भएको छ भने बिना पैसा तपाईले अमेरिकाको सबै सुविधा पाउनुहुने छ । तर पछि तिर्ने सर्तमा । यहाँ किरानादेखि विलासीका सामानसम्म, सुत्ने बेडदेखि बस्ने घर, गाडी कतिले मोबाईल, घडीसबैकुरा ऋणमा जोडेका हुन्छन् । एक पछि अर्को गर्दै थपिँदै गएको ऋणले पस्नै नसक्नेगरी दलदलमा पु¥याएको हुनसक्छ ।
यदि तपाई नेपाल फर्किने हो वा अमेरिका त्यागिदिने हो भने पहिला त्यो ऋण तिर्नुपर्छ । अरुको ऋण छ भने तपाई त्यो नतिरेसम्म यहाँबाट निस्कन पाउनुहुन्न । अमेरिकामा बस्नेहरुमा ऋण नभएका कमै भेटिन्छन् । यहाँको सुविधा र अरु सबैकुरालाई गौण राख्नेहरुपनि यस्ता ऋणले गर्दा फर्किन नसक्ने अवस्थामा पुगेका हुन्छन् ।
यो बाहेक अमेरिकाको भौतिक सुविधाको कारण पनि कतिपय नेपाल फर्कन नसक्ने अवस्थामा पुगेको हुनुपर्छ । कतिपय यहाँको हावापानीमा भिजेकाहरु नेपालको धुवाधुलो विर्षिसकेका हुन सक्छन ।
(लेखक खतिवडा अमेरिकाको बाल्टिमोर बस्छन्)