१ अर्ब ६५ करोड हत्याउन मेलम्चीको ठेकेदारले यतिसम्म गर्यो
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार सिएमसी रेभेनाले परामर्शदाताको सुझाव विपरित १ अर्ब ६५ करोड हत्याउन षड्यन्त्र गरेको छ ।
आयोजनाको बाँध स्थल रहेको सिन्धुपाल्चोकको अम्बाथानमा बढी काम गरेको भन्दै ठेकदारले उक्त विषयलाई विवाद समाधान समिति (डिस्प्यूट बोर्ड)का लगेको छ । सो समितिको बैठक आज बस्दैछ ।
ठेकेदारको ज्यादतीका कारण आगामी दशैं अगावै काठमाडौंमा पानी ल्याउने सरकारको सपना समेत करिब करिब अन्त्य भएको छ ।
कूल २७ किलोमिटर लामो सुरुङ मध्ये ६ किलोमिटर सुरुङको मात्रै ढलान कार्य भएको छ । बाँकी रहेको २१ किलोमिटर सुरुङ निर्माण गर्न ठेकेदारले काम गरेको छैन ।
दैनिक ३० मिटरको दरले मात्रै सुरुङ मर्मतको काम भइरहेको छ । थप पैसा नपाईकन काम नगर्ने भन्दै ठेकेदारले ज्यादती गरेपछि सरकारले कुटनीतिक पहलबाट समस्या समाधानको पहल सुरु गरेको छ ।
खानेपानी मन्त्री बिना मगर, सचिव कृष्णराज बिसी, आयोजना प्रमुख रामचन्द्र देवकोटाले आयोजनामा ठेकेदारको ज्यादती बढेको भन्दै कालो सूचीमा राखेर अन्य उपाय खोज्ने कि हालकै ठेकेदारको मागलाई केही न केही रुपमा सम्बोधन गरेर जाने भन्ने विषयमा बहुपक्षीय छलफल गरिरहेका छन् ।
आयोजनाको मुख्य सुरुङ निर्माणको काम गत चैत २७ गते नै सम्पन्न भएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुन, खानेपानी मन्त्री मगरलगायतको टोली सुरुङ ब्रेक थ्रु समारोहमा सहभागी भएको थियो ।
सोही समारोहमा समेत ठेकेदार कम्पनलिे आगामी भदौ १५ भित्र मेलम्चीको पानी राजधानी भित्र्याइने प्रतिवद्धता जनाएको थियो । तर सुरुङ निर्माण सकिए लगत्ते निहुँ खोज्न सुरु गरेको ठेकेदारले हाल काम पनि नरोकेको , काम पनि नगरेको अवस्थामा आयोजना अड्काएर राखेको छ ।
मुख्य दातृ निकाय एशियाली विकास बैंक, परामर्शदाता स्फ्टेशा, खानेपानी मन्त्रालय र आयोजनाका अधिकारीको सर्वपक्षीय बैठकमा समेत ठेकेदारले तोकिएको काम समयमै सम्पन्न गर्ने विषयमा सहमति जनाएको थियो ।
उनीहरुले गत वैशाख १६ गते भित्रै सुरुङ मर्मतको काम ५० प्रतिशत बढी सकाउने बताएको थियो । तर वैशाख १६ गते स्थलगत अनुगमनका लागि पुगेका खानेपानी मन्त्रालयको उच्च अधिकारीलाई ठेकेदारले आयोजनाको काम नै हेर्न समेत नदिई फर्काएको थियो ।
ठेकेदारको ज्यादती बढेपछि मन्त्रालयले यही जेठ १८ गते सिएमसीको हेडक्वाटर इटालीमा पत्र लेख्दै आयोजना ढिलाई हुनाको कारण १५ दिन भित्र उपलब्ध गराउन चेतावनी सहितको पत्र पठाएको थियो । सो पत्रको जवाफ आउने क्रममा नै रहेको छ ।
ठेकेदारले आयोजना स्थलमा काम नगर्ने र बढी रकम माग गर्न थालेको र काम समेत रोकेर विवाद समाधान समितिको बैठकले निर्णय नगरिकन काम नगर्ने अड्डी कसेको छ ।
खानेपानी मन्त्री मगर र सचिव बिसीले बिहिबार परराष्ट्र मन्त्री ज्ञवालीलाई समेत भेटेर कुटनीतिक पहल मार्फत समस्या समाधान गरिदिन आग्रह गरेका छन् ।
मन्त्री ज्ञवालीले पनि दिल्लीस्थित इटालीको राजदूतलाई सो विषयमा के भएको हो बुझ्न सम्वद्ध अधिकारीलाई निर्देशन दिएका छन् । त्यसको आवश्यक समन्वयका लागि दिल्लीस्थित नेपाली दूतावासलाई समेत आवश्यक निर्देशन दिइएको छ ।
ठेकेदारको निर्देशनमा टिम लिडर हटाइयो
काम नगर्ने ठेकेदारलाई पाता कस्नुपर्छ भन्ने मान्यता राख्ने परामर्शदाता कम्पनी स्फ्टेशा कम्पनीका टिम लिडर थोमस बारबरियरलाई तत्कालका लागि आवश्यक नभएको भन्दै स्फ्टेशाले हटाएको छ ।
ठेकेदारले काम नगरेको र बढी भुक्तानी दिनु आवश्यक नभएको धारणा राख्ने टिम लिडरलाई हटाएर विवाद समाधान समितिको बैठक प्रभावित पार्न ठेकेदारले चलखेल गरेको आयोजना प्रमुख भट्टराईको भनाइ छ ।
ठेकेदार कम्पनीले हालसम्म ७ अर्ब ८० करोड रकम लगिसकेको छ । सन् २०१३ बाट इटालियन कम्पनीले सो आयोजना लिएको हो । त्यसअघि चिनियाँ ठेकेदार चाइना रेल्वेले ४ किलोमिटर मात्रै सुरुङ खनेर आयोजना अलपत्र छाडेको थियो । सरकारले सो कम्पनीलाई कालो सूचीमा राखेर नयाँ ठेक्का प्रक्रियाबाट इटालियन ठेकेदार छनौट गरेको थियो ।
काम गरे दशैंमा पानी अझै सम्भव
मन्त्रालयका उच्च अधिकारीले ठेकेदारले काम गरे आगामी दशैंमा काठमाडौँमा पानी ल्याउन अझै सम्भव रहेको बताएका छन् । ठेकेदारले पूर्ववत रुपमा गरेको तयारीअनुसार काम गरे ६ वटा बिन्दुबाट ढलानको काम हुने र दैनिक ४५० मिटरको दरले ढलान गर्न सकिनेछ ।
त्यस आधारमा काम गर्दा आगामी २ महिना भित्र जसरी पनि ढलानको कार्य सम्पन्न हुनेछ । बाँकी रहेको बाँध बनाउने काम पनि सोही अवधिमा सम्पन्न गर्न सकिने मन्त्रालयको बुझाई छ । तर बढी रकम माग गरेर काम नै रोक्ने खालको प्रवृत्तिका कारण मात्रै आयोजनामा ढिलाई भइरहेको आयोजना प्रमुख देवकोटाको भनाइ छ ।