अर्थमन्त्रीले भने- भेडा जस्तै भएर सेयरमा लगानी नगर्नू, डुबे हामीलाई धारे हात नलगाउनू



काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले भेडा जस्तै गरी सेयर बजारमा लगानी गर्दा डुब्ने खतरा रहेको भन्दै लगानीकर्ताहरुलाई यसरी लगानी नगर्न आग्रह गरेका छन् ।

नेपाल धितोपत्र बोर्डले बुधबारदेखि राजधानीमा आयोजना गरेको पुँजी बजार प्रदर्शनीमा मन्त्री खतिवडाले साना लगानीकर्ताहरुले आफैंले जोखिम लिएर सेयर बजारमा लगानी गर्नुभन्दा पनि म्युचुअल फण्डमार्फत लगानी गर्न सुझाए ।

‘म्युचुअल फण्ड नहुने हो भने उसले त लगानी गरेछ मैले किन नगर्ने भनेर भेडा प्रवृत्तिमा लगानी गर्ने चलन छ,’ उनले भने ।

यस्तो प्रवृत्तिलाई अंग्रेजीमा हर्ड साइकोलोजी भन्ने गरेको उनले सुनाए । सन् १९८७ मा ब्ल्याक मण्डे भनिन्छ, जुनदिन न्यूयोर्क स्टक एक्सचेञ्ज कोल्याप्स भएको थियो । उनले त्यो भेडा मनोविज्ञान अर्थात् हर्ड साइकोलोजिले गर्दा भएको भनेर त्यतिबेलाको न्यूज विकमा छापिएको उदाहारणसमेत प्रस्तुत गरे ।

‘भेडालाई अगाडि बढाउनुहोस्, उ उफ्रिन सक्नेगरी डोरी राखिदिनोस्, त्यो उफ्रन्छ, त्यसपछि त्यो डोरी झिकिदिनोस्, अर्को भेडो पनि उफ्रिन्छ, अर्को पनि उफ्रिन्छ, डोरी छैन भन्ने उसले जान्दैन, अघिल्लोले जे गर्यो पछिल्ला भेडाहरुले पनि त्यही गर्छन्, यो मनोविज्ञानबाट सेयरमा लगानी नगर्नुहोस्,’ उनले भने, ‘तपाई आफैंले हेर्नुहोस् त्यहाँ डोरी छ कि छैन, अनि मात्रै उफ्रनुहोस्, डोरीमा उफ्रिन थाल्नुभयो भने त बजार कस्तो हुन्छ, त्यसो भएको हुनाले तपाईंलाई त्यो आँट छैन भने म्युचुअल फण्डमा गएर लगानी गर्नुहोस् ।’

सेयर बजार जोखिमको व्यवसाय हो, भनेर बुझ्नु जरुरी भएको उनको भनाइ छ । आफ्नो एकजना साथीले जागिर छाड्दा आएको पैसा सेयरमा लगानी गरेर डुबाएको उदाहारण पनि उनले प्रस्तुत गरे ।

‘एकजना मेरो साथीले जागिर छाड्यो, सेयरमा पैसा हाल्यो । र, डुब्यो । म पनि जागिरबाट रिटायर्ड भएको मान्छे हो । मैले त्यो पैसा लगेर बैंकमा निक्षेप राखेँ । मेरो पैसा सुरक्षित नै छ । किनभने मलाई थोरै नाफाले पुग्थ्यो । र, मैले जोखिम लिइँन । उसले सेयर बजारमा हालेपछि त भोलि नै हुन्छ कि पर्सि नै हुन्छ कि भनेर जोखिम लियो,’ उनले सुनाए ।

जोखिम लिन सक्नेले जोखिम अनुसारको नाफा लिन र त्यसअनुसारको घाटा सहन तयार रहनुपर्ने अर्थमन्त्रीको भनाइ छ ।

‘जोखिम आफू लिने अनि घाटा लाग्यो भने सरकारलाई दोष दिने काम चाहीँ नगर्नुहोला । त्यस्तो हुँदैन । जोखिम पनि आफैं लिने हो, नाफा पनि आफैं लिने हो । अनि घाटा भए आफैं सहने हो हामीतिर धारेहात नलगाउनुहोला । हामीले बिगार्ने काम कहिल्यै गर्दैनौं ।’ उनले भने ।

सरकारको काम धितोपत्रको स्वस्थ, व्यवस्थित र पारदर्शी विकास गर्ने भएको बताउँदै त्यहाँ कुनै व्यक्तिले विगार्यो भने आफूलाई भन्न खतिवडाले आग्रह गरे ।

त्यसैगरी अर्थमन्त्री खतिवडाले पुँजी बजारमा ठूल्ठूला उद्योगहरुलाई ल्याउने बताए । ५०औं अर्ब नाफा कमाउने ठूला निजी कम्पनीहरु पुँजी बजारमा प्रवेस नपाएसम्म नेपालको पुँजी बजार जोखिमरहित हुन नसक्ने उनको भनाइ छ ।

‘नेपालको पुँजी बजारमा उत्पादनसँग, अन्य व्यवसायसँग र सेवासँग सम्बन्धितलगायतका कम्पनीहरु किन सूचिकृत हुँदैनन् ? के नेपालमा अन्य व्यवसाय नै छैनन् त ?’ प्रश्न गर्दै अर्थमन्त्रीले भने, ‘५०औँ अर्ब नाफा कमाउने निजी क्षेत्र पनि छन्, अनि १ करोड पुँजी भएको लघुवित्त पनि छन् । ५० अर्ब नाफा कमाउने कम्पनी अब धितोपत्र भन्दा बाहिर हुँदैन् ।’

उनले एउटा मात्र क्षेत्रमा लगानी गरेर जोखिम न्यूनिकरण नहुने भएका हुनाले लगानीकर्ताहरुको जोखिम विभिधिकरण गर्न आवश्यक रहेको बताए ।

कुनै एक क्षेत्र धक्काले सम्पूर्ण पुँजी बजारमा समस्या नपर्योस भनेर, जोखिमको विभिधिकरण गर्नका लागि लगानीको क्षेत्र बढाउन आवश्यक रहेको उनले बताए ।

‘कुनै एउटा क्षेत्रको धक्काले सम्पूर्ण पूँजी बजारमा समस्या पर्न दिनुभएन, त्यो गर्ने क्रममा हामी सरकारको तर्फबाट त्यस्ता संस्थाहरुलाई पूँजी बजारको दायरामा ल्याउने र सार्वजनिक कम्पनीको रुपमा स्थापना गर्न हामी तयार छौं,’ खतिवडाले भने ।

नेपालमा जल विद्युतमा, दुरसञ्चारमा, हवाइ सेवामा, उद्योग, उत्पादनमूलक उद्योगलगायतका क्षेत्रमा धेरै कम्पनीहरु आइरहेका हुनाले उनीहरु पनि बजारमा आउन सक्छन् भन्ने सोच्न आवश्यक रहेको उनको भनाइ थियो ।

पुँजी बजारलाई अघि बढाउनमा सरकारको ध्यान रहेको उनले बताए । सरकार राष्ट्रिय पुँजी निर्माणको क्रममा रहेकाले त्यसका लागि धेरै मान्छे सहभागी हुनसक्ने गरी सेयर कारोबारको विस्तार गर्नुपर्ने उनको धारणा छ ।

‘संस्थागत सुध्रिकरण गरेर हुन्छ कि, बिस्तार गरेर हुन्छ, छिटो छरितो गरेर हुन्छ कि, विद्युतीय माध्यमको कारोबार गरेर हुन्छ, लगानीकर्तालाई छान्न सक्ने ठाउँ दिएर हुन्छ कि, के गरेर हुन्छ धेरै भन्दा धेरै नेपालीहरु सेयरका मालिक बनुन भन्ने हाम्रो चाहाना हुन्छ,’ खतिवडाले भने ।


पुष्प दुलाल