पैसा नर्तिनेको धारामा अब मेलम्चीको पानी नआउने



काठमाडौं । काठमाडौं बासीलाई मेलम्चीको पानी पिलाउनका लागि १ लाख धारामा मिटर जोडिने भएको छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं बासीलाई नयाँ पाइपलाईनबाट पानी पिलाउनका लागि १ लाख धारामा मिटर जडान गर्न लागिएको हो ।

मेलम्चीको पानी शहरबासीलाई पिलाउनका लागि निर्देशनालयले ६ सय ७० किलोमिटर पाइपलाईन विस्तार गरिरहेको छ ।

प्रवक्ता ढकालका अनुसार पाइपलाईन विस्तारको ९३ प्रतिशत काम सकिएको छ ।

‘भदौसम्ममा मेलम्चीको पानी काठमाडौं आउँछ, मेलम्चीको पानी सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा झर्नु अघि नै पाइपलाईनको विस्तारको काम सक्नेछौं,’ ढकालले क्लिकमाण्डूसँग भने ।
मेलम्चीको पानी सहज रुपमा उपभोक्ताको घरमा पुर्याउनका लागि निर्देशनालयले पाइपलाईनको विस्तारको काम गरिरहेको छ ।

१ लाख मिटर जोडिडै

निर्देशनालयकले काठमाडौं बासीलाई मेलम्चीको पानी पिलाउनका लागि १ लाख नयाँ मिटर जडान गर्ने भएको छ ।

निर्देशनालयकले मेलम्चीको पानी सुन्दरीजलको प्रशोन केन्द्रमा आएपछि नयाँ पाइपलाईनको क्षमता जाँचपछि मिटर उपभोक्ताको घरमा जडान गर्ने जानकारी दिएको छ ।

‘पाइपलाईनको क्षमता जाँच अघि उपभोक्तालाई पुरानै पाइपलाईनबाट पानी वितरण गर्ने व्यवस्था गरेका छौं, पाइपलाईनको क्षमता जाँचपछि नयाँ पाइपलाईनबाट पानी वितरण हुन्छ,’ प्रवक्ता ढकालले भने ।

मेलम्ची खानेपानी आयोजनाले आगामी भदौ महिनासम्ममा मेलम्चीको पानी काठमाडौंमा ल्याउने तयारी गरिरहेको छ ।

पैसा नर्तिनेले पानी पिउन नपाउने

मिटर जडान बापत आयोजनाले उपभोक्तासँग पैसा लिने छैनन् ।

‘उपभोक्ताले धारमा मिटर जडान गर्न खानेपानीको बक्यौदा रकम हुनुहुँदैन, बक्यौदा रकम हुने उपभोक्ताको धारामा मिटर जोडिदैन,’ ढकालले भने ।

निर्देशनालयका कर्मचारीले खानेपानीको पैसा तिरेको वा नतिरको रसिद जाँच गरेर मात्र उपभोक्ताको धारामा नयाँ मिटर जोड्ने छन् । त्यसका लागि उपभोक्ताले आफूले तिरेको बिल सुरक्षित राख्नुपर्ने उनले बताए ।

पानी जम्मा गर्ने ८ वटा पोखरी बन्यो

निर्देशनालयले उपत्यका बासीलाई समान रुपमा पानी वितरण गर्न विभिन्न ठाउँमा ९ वटा पोखरी निर्माण गरिरहेको छ ।

प्रवक्ता ढकालका अनुसार भक्तपुरको कटुन्जेमा अविस्थित ६ हजार घनमिटर क्षमताको पोखरी बाहेक अन्यको निर्माण सम्पन्न भईसकेको जानकारी दिएका छन् ।

‘कटुन्चेमा मुआब्जा विवादका कारण निर्माण प्रकृयामा ढिलोगरी सुरु भएको हो, अहिले तीब्रगतीमा काम गरिरहेका छौं, आगामी पुससम्मा कटुन्चेको पानी ट्याङकी बनाइसक्छौं,’ ढकालले भने ।

नयाँ ट्याङकी निर्माण हुनुपूर्व कटुन्चेमा रहेको पूरानो ट्याङकीको सहयाताले पानी वितरण गरिने ढकालले जानकारी दिए ।

आरुबारी ८ हजार ५ सय घनमिटर, महाँकालचौर ८ हजार घनमिटर, बाँसबारी ९ हजार ५ सय घनमिटर, महाराजगञ्ज ७ हजार ५ सय घनमिटर, खुमलटार ९ हजार ५ सय घनमिटर, बालाजु ७ हजार घनमिटर, टिगनी ३ हजार घनमिटर र किर्तिपुर ६ हजार घनमिटर क्षमताको पानी जम्मा गर्ने पोखरी निर्माण भईसकेको छ ।


क्लिकमान्डु