संकट नजिकिएपछि मर्जरमा जाने फाइनान्स कम्पनीका योजना, वाणिज्य बैंक ‘टार्गेट’मा



काठमाडौं । संस्थामा आर्थिक संकट सुरु हुन थालेपछि फाइनान्स कम्पनीहरुले धमाधम मर्जरमा जाने प्रस्ताव अघि सारेका छन् । वित्त कम्पनीहरुले वार्षिक साधारणसभाका लागि मर्जरको प्रस्तावमात्र गरेका छैनन, पारित गरी काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत दिएका छन् ।

पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्तताको असर वित्त कम्पनीमा समेत परेको छ । ब्याजदर घट्दै जानु, कर्जा प्रवाह नहुनु, पुरानो ऋण नउठ्नु जस्ता समस्याले वित्त कम्पनी प्रभावित छन् । यस्तो परिस्थितिमा केही वित्त कम्पनीले मर्जर तथा प्राप्तिको क्रमलाई निरन्तरता दिएका छन् भने केहीले मर्जरमा जाने नयाँ प्रस्ताव गरेका हुन् ।

सञ्चालनमा रहेका १७ मध्ये ५ वटा कम्पनीले मर्जरको प्रस्ताव गरेका हुन् । अहिलेसम्म साधारण सभा गरिसकेका र गर्न बाँकी रहेका यी कम्पनी मर्जरमा जान तयार भएका छन् ।

साधारणसभा सकेका कम्पनीले मर्जरमा जाने प्रस्ताव पारित गरिसकेका छन् । अरु कम्पनीले मर्जरमा जाने प्रस्ताव सहित सभा बोलाएका छन् ।

गुहेश्वरी फाइनान्सको पुस २८ गते सम्पन्न २३ औं बार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । कम्पनीले बोलाएको सभामा ‘यस वित्तीय संस्था तथा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर (गाभ्ने गाभिने गर्ने/गराउने, उपयुक्त वित्तीय संस्थाहरू प्राप्ती गर्ने वा गाभिने सम्बन्धमा प्रचलित ऐन, कानुन, नीति, नियम तथा निर्देशन अनुसार गर्नु पर्ने सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने’ उल्लेख थियो । त्यो प्रस्ताव सभाले पारित गरेको छ ।

यस्तै मञ्जुश्री फाइनान्सले पनि पुस २८ गते नै बोलाएको १७औं वार्षिक साधारण सभामा मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । कम्पनीले सभाको सूचना जारी गर्दा ‘यस वित्तीय संस्था र अन्य कुनै उपयूक्त बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने गर्ने वा प्राप्ती गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयूक्त देखिएमा यस वित्तीय संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियूक्त गर्न तथा निजको पारिश्रमिक तोक्न, गाभ्ने वा गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने’ प्रस्ताव गरेको थियो । यो प्रस्ताव सभाले पारित गरेको छ ।

समृद्धि फाइनान्सको पनि मर्जर तथा प्राप्तिमा जाने विशेष प्रस्ताव मंसिर ६ गते बसेको सभाले पारित गरिसकेको छ ।

फाइनान्सले ‘यस संस्थालाई अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिसन) को लागि छलफल गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत डिडिए गर्न नियमनकारी निकायसँग सम्पर्क गर्न, स्वीकृति लिन वा अन्य कुनै पनि विषयमा संशोधन, परिमार्जन, थपघट वा परिवर्तन गर्ने लगायत सो सम्बन्धमा प्रचलित नियमानुसार जे जो गर्नु पर्ने हो सोको लागि चाहिने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने’ प्रस्ताव गरेकमा सो प्रस्ताव पारित गरेको हो ।

यस्तै नेपाल फाइनान्सले पनि मर्जरमा जाने प्रस्ताव गरेको छ । कम्पनीले माघ ८ गतेका लागि ३२ औं बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा बोलाउँदा मर्जरको प्रस्ताव पनि राखेको छ । कम्पनीले सभाका लागि एउटा विशेष प्रस्ताव राखेर सभा बोलाएको छ ।

विशेष प्रस्तावमा संस्थाले ‘अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा संस्थाले अन्य कुनै उपयुक्त संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा संस्थाको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यता प्राप्त मुल्याङ्कनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संस्था गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने समझदारीपत्र तर्जुमा गर्ने, हस्ताक्षर गर्ने, अन्तिम सम्झौता तयार पार्ने, हस्ताक्षर गर्ने लगाएतका गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने’ रहेको छ । सभाले उक्त प्रस्ताव पारित गरेपछि कार्यान्वयमा जानेछ ।

पोखरा फाइनान्सले पुस २९ गते सम्पन्न गरेको २७ औं बार्षिक साधारणसभामा मर्जरमा जाने प्रस्ताव पारित गरेको छ । कम्पनीले मर्जरमा जाने विषय विषेश प्रस्तावमा राखेको थियो ।

फाइनान्सले ‘अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा प्राप्ति/समाहित/गाभ्ने वा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक, वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता मुल्याङ्गनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने तथा मर्जरसँग सम्बन्धित अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने’ प्रस्ताव पारित गरेको छ ।

पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स मर्जर प्रक्रियामा अघि बढिलसकेको छ । फाइनान्सका एक उच्च अधिकारीका अनुसार संस्थाले एक अग्रणी वाणिज्य बैंकसँग मर्जमा जाने विषयमा फाइनान्सले छलफल सुरु गरिसकेको जनाएको छ ।

स्रोतका अनुसार फाइनान्सको वर्तमान सञ्चालक समितिले वाणिज्य बैंकसँग मर्जमा जाने विषयमा छलफल गरेर प्रक्रिया अगाडि बढाइसकेको छ । तर, कुन बैकसँग मर्जमा जाने भन्ने विषय खुलाएको छैन ।

यता कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएपछि नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकमा पत्र लेख्दै पोखरा फाइनान्ससहित २ वित्त कम्पनी र ४ विकास बैंकले वाणिज्य बैंकमा कति निक्षेप राखेका छन् भनेर खोजी गरेको छ ।

राष्ट्र बैंकले अफ-साइट सुपरिभिजन अन्तर्गत उक्त जानकारी वाणिज्य बैंकसँग माग गरेको जनाएको छ ।


क्लिकमान्डु