पाँच पत्रकारलाई सेजन आर्थिक पत्रकारिता पुरस्कार




काठमाडौं । मुलुक संघीय संरचनामा प्रवेश गरेपछिको अवस्थामा वित्तीय कारोबार सञ्चलन गर्न सरकारले वित्तीय आयोग गठनको तयारी गरेको छ ।

वित्तीय अनुशासन, पारदर्शिता, संघीय संरचनामा प्रादेशिक एवं केन्द्रीय स्तरमा हुने वित्तीय कारोबारको प्रारुपको तयारी प्रशासनिकस्तरमा भइरहेको हो ।

जननिर्वाचित संसद् नभएकाले राज्यले उच्च सरकारी कर्मचारीलाई वित्तीय आयोग गठनसम्बन्धी नीति, नियम तर्जुमा गर्ने अभिभारा सुम्पेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्ले बताउछन् ।

नेपाल आर्थिक पत्रकार समाजको (सेजन) २०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले संविधानसभाबाट व्यवस्थापिका–संसद्मा रुपान्तरित सदनबाट आयोग गठनसम्बन्धी काम पूरा गर्ने लक्ष्य पूरा नभएकाले प्रशासनिकस्तरमा अहिले पनि काम भइरहेको बताएका हुन् ।

आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारलाई सकारात्मक प्रभाव पार्ने खोजीपूर्ण समाचार प्रस्तुत गर्नुपर्ने सुझाव दिँदै विश्वनीय एवं स्तरीय पत्रकारिताले नै समाजलाई फाइदा पुग्ने उपाध्यक्ष डा. वाग्लेको भनाइ छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकका ७५३ स्थानीय निकायमध्ये १२० वटामा वित्तीय सेवा पुग्न बाँकी रहेको जानकारी दिँदै ती स्थानमा बैंकिङ सेवा पु¥याउन केन्द्रीय बैंक क्रियाशील रहेको जानकारी दिए ।

सेजनका अध्यक्ष पुष्प आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा सेजनका पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

यस्तै सेजनले आफ्नो स्थापना दिवसको दिन प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार ४ जनालाई र एक जना पत्रकारलाई सम्मान गरिएको छ ।

सेजनले छापा माध्यम तर्फबाट कान्तिपूर दैनिकका कृष्ण अचार्य र नागरिक दैनिकका दिलिप पौडेललाई सेजन आर्थिक पत्रकारिता पुरस्कार दिएको हो । यस्तै विद्युतीय माध्यमतर्फको आर्थिक पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका पत्रकार किरण भट्टराई र कर्पोरेट नेपाल डटकमका सिताराम विलासीलाई पुरस्कृत गरिएको छ । त्यसैगरी क्यापिटल म्यागेजिनका विनय बञ्जारालाई प्रोत्साहनस्वरुप कदरपत्रबाट सम्मान गरिएको छ ।

सेजन डेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पुरस्कार सम्मानपत्र प्रदान गरेका थिए । रासस


क्लिकमान्डु