रवि लामिछाने पत्नी उपाध्यक्ष रहेको साई स्वागत सहकारीका निवर्तमान अध्यक्ष भरतमणि जंगम पक्राउ



काठमाडौं । सहकारी ठगी प्रकरणमा साई स्वागत सहकारीका निवर्तमान अध्यक्ष भरतमणि जंगम पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिकाको सहकारी विभागले उक्त सहकारीको २०८० चैत २३ गते अनुगमन गरेको थियो । अनुगमनका क्रममा धेरै कैफियत पाएपछि विभागले थप अनुसन्धान गर्न भन्दै प्रहरी परिसर काठमाडौंमा फाइल पठाएको थियो ।

महानगरको सिफारिसका आधारमा प्रहरीले उक्त सहकारीका अध्यक्ष जंगमलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । उक्त सहकारीले बचतकर्तको १ करोड १० लाख रुपैयाँ भन्दा बढी अपचलन गरेको भन्दै महानगरको सहकारी विभागमा उजुरी परेको थियो । उजुरीका आधारमा महानगरले अनुगमन गरेको थियो ।

उक्त सहकारीमा पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता पौडेलले उपाध्यक्ष थिइन् । उनले सहकारीबाट राजीनमा दिएको बताएकी थिइन् । उनले पदबाट राजीनामा दिएको भनेपनि संस्थाको वार्षिक साधारणसभाले स्वीकृत नगरेको पाइएको छ । काठमाडौं महानगरको सहकारी विभागले गरेको अनुगमनले यस्तो देखाएको हो ।

महानगरको सहकारी विभागले गरेको अनुगमन रिपोर्टमा ‘तत्कालीन उपाध्यक्ष निकिता पौडेलले मिति २०७८ असोज ८ गते राजीनामा दिएको भनि व्यवस्थापकले लिखित जानकारी गराए पनि सो राजीनामा सम्बन्धमा सञ्चालक समिति तथा साधारणसभाले निर्णय गरिएको नदेखिएको’ भन्ने उल्लेख छ ।

पौडेलले आफूले राजीनामा दिएको र साधारणसभाले स्वीकृत गरेको भन्दै आएकी थिइन् भने रास्वपा सभापति लामिछानेले पनि निकिताले राजीनामा दिइसकेको बताएका थिए ।

२०८० असार दोस्रो साता आन्दोलरत सहकारीका बचतकर्तासँग माइतीघर मण्डलामा लामिछानेले निकिताले सहकारीको उपाध्यक्षबाछ राजीनामा दिएको र उक्त राजीनामा सहकारीको सभाले स्वीकृत गरेको बताएका थिए । तर, महानगरको अनुगमनका क्रममा भने लामिछानेले दाबी गरेभन्दा फरक पाइएको छ ।

निकिताले सहकारीको उपाध्यक्षबाट २०७७ साल असोज ८ गते राजीनामा दिएर २०८० साल असार ९ गते अर्थात् ३ वर्षपछि स्वीकृत भएको भनिएको राजीनामा पत्र हराएको थियो ।

महानगरपालिकाको सहकारी विभागले २०८० असार पहिलो साता सहकारीलाई निकिताको राजीनामा बारे प्रश्न गर्दै साई सहकारी संस्थामा पत्र पठाएको थियो । महानगरको सहकारी विभागको पत्रको जवाफमा उक्त सहकारीले निकिताले २०७७ असोज ८ गते राजीनामा दिएको र २०८० असार ९ गते राजीनामा स्वीकृत भएको जवाफ महानगरमा पठाएको थियो । त्यो जवाफ पनि झुठो साबित भएको छ । स्रोतका अनुसार रास्वपाका केही नेताको दबाबमा उक्त सहकारीका प्रतिनिधिले महानगरलाई २०८० असार ९ गते राजीनामा स्वीकृत भएको झुठो जवाफ पठाएका थिए ।

उक्त सहकारीबाट ठगिएँ भनेर महानगरको सहकारी विभागमा उजुरी परेलगत्तै निकिताले राजीनामा दिइसकेको भन्ने प्रचार गरिएको भए पनि अहिलेसम्म संस्थाले स्वीकृत नगरेको पाइएको हो ।

पौडेल उपाध्यक्ष भएको समयमै सहकारीले बचतकर्तालाई १ करोड १० लाख रुपैयाँ बढी बढी ठगेको भन्दै २०८० असार पहिलो साता विभागमा उजुरी परेको थियो ।

बचतकर्ताले पैसा फिर्ता नपाएको भन्दै असार ५ गतेअघि नै १ करोड १० लाख रुपैयाँबढी माग दाबी गरेका थिए । जुन रकम अहिलेसम्म सहकारीले बचतकर्तालाई फिर्ता गरेको छैन । उपाध्यक्ष रहँदा निकिताले बिनाधितो ५० लाख रुपैयाँ प्रयोग गरेको समाचारहरु सार्वजनिक भएका थिए ।

यो अवधिमा सहकारीले कार्यक्षेत्र नभएको स्थानमा संस्था सार्नेदेखि संस्थाको सदस्य नै नभएको व्यक्तिलाई सञ्चालक समिति अध्यक्ष बनाउनेसम्मको काम गरेको छ ।

महानगरको सहकारी विभागले गरेको अनुगमनका क्रममा संस्थाका तत्कालीन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहाल, लेखा समिति संयोजक रामहरि अधिकारी र सदस्य जनक गौतम तथा अध्यक्ष भरतमणि जंगमबीच करारनामा गरी संस्थाका तत्कालीन अध्यक्षलाई जिम्मेवारी मुक्त गर्ने तयारीका साथ २०७२ मंसिर १२ गते संस्थाको सदस्य नै नभएको व्यक्ति निमकुमारी छन्तेललाई सञ्चालक समिति अध्यक्ष बनाएको पाइएको छ ।

साधारणसभामा अनुपस्थित तथा सदस्य नरहेकी निशा खड्का उपाध्यक्ष लगायतका अन्य पदाधिकारी नियुक्ति गरी तत्कालीन सञ्चालक समिति बचतकर्ताको बचत फिर्ता गर्ने जिम्मेवारीबाट उम्किने काम गरेको पाइएको छ ।

अनुगमनका क्रममा २०७५ पुस २८ गतेको साधारण सभाले तत्कालीन अध्यक्ष नोखराज पोखरेल, कोषाध्यक्ष योगिता पुन, सदस्यहरु लिस्सा पौडेल, सरोज लामिछाने, रजनीश आचार्य तथा लेखा समिति सदस्य केदार बहादुर दाहालको मात्र राजीनामा स्वीकृत गरेको उल्लेख छ । रिक्त पदमा नियुक्त गरेकोमा निर्णयपुस्तिकामा केरमेट गरी बिभिन्न पदमा संचालक नियुक्ति तथा हेरफेर गरेको देखिएको पाइएको छ ।

सहकारी संस्थाले सहकारी विभागको पूर्वस्वीकृतिविना कार्यक्षेत्र बाहिर कार्यालय राखेको पाइएको छ ।


क्लिकमान्डु