साउदी अरबमा विश्वकप फुटबल: आलोचनादेखि विश्वकै अग्लो र अनौठो रंगशालाहरूले बनाउनेछ विशेष
उच्चगतिको लिफ्ट र चालकविहीन गाडीमार्फत मात्र पुग्न सकिने रंगशाला बनाइने
एजेन्सी । सन् २०३४ को विश्वकप साउदी अरबमा आयोजना गर्ने निर्णय गरेको छ । यो निर्णयले फिफाको संरचना, पारदर्शिता, र मानवअधिकारको अवस्थालाई लिएर विश्वव्यापी बहस निम्त्याएको छ ।
साउदी अरब सन् २०३४ को विश्वकप आयोजना गर्ने एकमात्र उम्मेदवार थियो । सन् २०२४ को अक्टोबरमा अष्ट्रेलियाले आफ्नो बोली फिर्ता लिएपछि साउदी अरबको आयोजना सुनिश्चित भएको थियो । यसअघि २०३० को विश्वकप तीन महादेश (स्पेन, पोर्चुगल, र मोरक्को)मा विभाजित गरिएपछि, २०३४ को विश्वकप एसिया वा ओसियानिया क्षेत्रलाई दिने फिफाको रणनीति स्पष्ट थियो ।
साउदी अरबको फिफासँगको घनिष्ठ सम्बन्धले पनि यो निर्णयलाई प्रभाव पारेको मानिन्छ । हालै साउदी अरबले क्लब वर्ल्ड कप आयोजना गरेको छ भने सरकारी तेल कम्पनी अराम्को फिफाको प्रायोजक बनेको छ ।
आलोचना
साउदी अरबको मानवअधिकार रेकर्डलाई लिएर विश्वभर आलोचना भइरहेको छ । एम्नेस्टी इन्टरनेसनलले भनेको छ, ‘साउदी अरबमा कार्यक्रम गर्दा विदेशी कामदारहरू शोषणको शिकार हुन सक्छन् ।’
गार्डियन पत्रिकाले साउदी अरबमा बंगलादेशी आप्रवासी कामदारहरूको रहस्यमय मृत्युका घटनाहरू उजागर गरेको छ ।
महिला फुटबल खेलाडीहरूले फिफालाई साउदी अराम्कोको प्रायोजन हटाउन पत्र लेखेका छन् । साउदी अरबमा मानवअधिकारको अवस्थालाई लिएर युरोपेली र उत्तर अमेरिकी फुटबल संघहरूले समेत चिन्ता व्यक्त गरेका छन् ।
साउदी अरेबिया मानव अधिकार उल्लङ्घन, समलिङ्गी सम्बन्धमाथिको प्रतिबन्ध, र अभिव्यक्ति स्वतन्त्रताको अभावका कारण आलोचित हुँदै आएको छ । २०२४ को पहिलो नौ महिनामा २०० जनाभन्दा बढी मृत्युदण्डको सजाय भएको मानव अधिकार समूहहरूले दाबी गरेका छन्।
यस्तो पृष्ठभूमिमा साउदी अरेबियाले विश्वकपको आयोजना पाउनुले ‘स्पोर्ट्सवासिङ’ अर्थात् खेलकुदको माध्यमबाट छवि सुधार्ने प्रयास गरिरहेको आरोप लागेको छ।
साउदी अरबको तयारी र योजना
साउदी अरबले विश्वकप आयोजना गर्नका लागि पाँच शहरमा १५ रंगशाला निर्माण गर्ने योजना बनाएको छ । तीन स्टेडियम निर्माणाधीन छन् । यसमा एक रंगशाला एउटा बन्न बाँकी नयाँ सहर ‘निओम’ मा हुनेछ ।
निओम परियोजनाअन्तर्गत ३५० मिटर अग्लो स्थलमा निर्माण गरिने यो रंगशाला केवल उच्च-गतिको लिफ्ट र चालकविहीन गाडीमार्फत पुग्न सकिनेछ ।
साउदीको ‘क्लिफटप’, ‘मेक्सिकन वेभ’ जस्ता विशेष डिजाइनका रंगशालाहरूले भविष्यका रंगशालाहरूको निर्माण शैलीमा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । १५ रंगशालामध्ये चार पहिले नै बनिसकेका छन् भने तीन निर्माणाधीन छन्, जसले २०२७ को एसियन कप आयोजना गर्नेछन् । आठ स्टेडियमको निर्माण कार्य सुरु हुन बाँकी छ ।
विश्वकपका लागि साउदीले विमानस्थल विस्तार, उच्च-गतिको रेलमार्ग, र सार्वजनिक यातायात प्रणालीको सुधार गर्ने योजना बनाएको छ । यस्तै, रियादमा नयाँ मेट्रो प्रणाली सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
तर, विशाल भू-भाग भएका साउदीमा रंगशालाहरूबीचको दूरीका कारण प्रशंसकहरूले प्रमुखत: हवाई यात्रामा निर्भर रहनुपर्नेछ ।
साउदी अरेबियाले १० प्रशंसक पार्क (प्रत्येक सहरमा दुई) निर्माण गर्ने योजना बनाएको छ । समर्थकहरुको बसोबासका लागि विभिन्न स्तरका होटल र आवासको व्यवस्था गरिनेछ । फिफाको प्रतिवेदनले साउदीको तयारीलाई उत्कृष्ट मूल्यांकन दिएको छ ।
साउदीको उच्च गर्मीलाई ध्यानमा राख्दै २०२२ को कतार विश्वकपजस्तै यो प्रतियोगिता पनि जाडो महिनामा आयोजना हुन सक्नेछ । अक्टोबरदेखि अप्रिल महिनामा तापक्रम १५-३० डिग्री सेल्सियस बीच रहन्छ भने मेदेखि सेप्टेम्बरसम्म तापक्रम २७-४३ डिग्री सेल्सियस पुग्छ ।
साउदीका खेल मन्त्रीका अनुसार, जाडो होस् वा गर्मी, वातावरण सहज बनाउनका लागि सबै तयारी गरिनेछ । यो विश्वकप जनवरीमा आयोजना हुने सम्भावना छ ताकि रमजान महिनासँग ठोक्किन नपरोस् ।
साउदी अरबको खेल रणनीति र प्रतिष्ठा सुधारको प्रयास
सन् २०२१ देखि साउदी अरबले ‘विजन २०३०’ अन्तर्गत खेल क्षेत्रमा व्यापक लगानी गर्दै आएको छ । फर्मुला वान, क्लब वर्ल्ड कप, स्पेनिश र इटालियन फुटबल कप जस्ता ठूला प्रतियोगिताहरू आयोजना गरिसकेको छ ।
सार्वजनिक लगानी कोषमार्फत लिभ गोल्फ सिरीज सुरु गरेको छ । चार ठूला साउदी प्रो लिग क्लबहरूको स्वामित्व लिएको छ।
भविष्यको चुनौती र संभावना
साउदी अरबको मेजबानीले फिफाको पारदर्शिता र उत्तरदायित्वमा प्रश्न उठाएको छ । मानवअधिकार संगठनहरूले साउदी अरबलाई ‘आयोजना र प्रदर्शनको माध्यमबाट आलोचनालाई दबाउने प्रयास’ गरेको आरोप लगाएका छन् ।
यता, साउदी अरबले महिलाको सहभागितालाई प्रोत्साहन गर्दै खेलकुदमा सुधार ल्याउने प्रयास गरिरहेको दाबी गरेको छ ।
फिफाको निर्णयले खेल क्षेत्रमा के देखाउँछ ?
साउदी अरबलाई विश्वकपको मेजबानी दिनु खेल क्षेत्रको शक्ति सन्तुलन परिवर्तन हुँदै मध्यपूर्वमा केन्द्रित भइरहेको सङ्केत हो ।
पछिल्लो दशकमा, कतार र साउदी अरब जस्ता देशहरूले विश्व फुटबलमा आफ्नो उपस्थिति मजबुत बनाएका छन् ।
साउदी अरब र फिफाले अबको १० वर्षमा विश्वकपलाई विवादरहित बनाउने र मानवअधिकारका सवालहरूको समाधान गर्ने प्रतिबद्धता देखाउनुपर्ने छ ।
बीबीसीबाट