चितवनका मतदाता भन्छन्: विकास नबुझेकालाई भोट दिदैनौं



चितवन । ‘राजनीतिज्ञको नकारात्मक शक्ति हेर्नु हेरियो, हेर्नु परिरहेको छ, अब सकारात्मक शक्ति हेर्न बाँकी छ, त्यो सकारात्मक शक्ति भनेको आर्थिक उन्नति नै हो ।’ वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले केही दिनअघि चितवनमा आउँदा एउटा कार्यक्रममा दिएको अभिव्यक्ति हो यो ।

जनताको शक्ति भनेकै यही भोट हाल्ने बेला हो भन्दै श्रेष्ठले मतदातालाई सचेत पार्न खोजे र अब देशले आर्थिक विकास खोजेको छ र त्यसमा ध्यान पुग्न ढिलो भैसक्यो भन्ने सुझाव पनि नेतालाई दिएका थिए । ‘जुनसुकैले जितोस्, तर लोकतन्त्र बचोस्’-उनले आफ्नो चाहना पनि व्यक्त गरेका थिए ।

चितवनका स्रष्टा विनोद अनुजले कसैको शब्द सापटी लिएर अहिलेसम्म महत्वपूर्ण मत सित्तैमा दान (मतदान) गरेको प्रसंग जोड्दै फेसबुक वालमा लेखेकाछन्, ‘अब नयाँ भूमि खोज्ने बेला आएको छ, जसले उब्जनी देओस् ।’

माथिका दुई फरक व्यक्तिको प्रसंगलाई हेर्दा त्यसको सार समग्रमा ‘विकास’ नै भन्ने अर्थ लाग्छ ।

जनतालाई देश विकासको सुन्दर सपना बाँडेर मत माग गरिएको थियो । तर कार्यान्वयन भने न्यून भइरहेको यथार्थ छ ।

अहिले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको दुई चरणमा निर्वाचन हुँदैछ । पहिलो चरणको मंसिर १० मा ३२ जिल्लामा र दोस्रो चरणको मंसिर २१ गते ४५ जिल्लामा निर्वाचन हुन गइरहेको छ । निर्वाचन आयोगले निर्वाचनको तयारी तीव्र पारिरहेको छ । यता राजनीतिक दलका उम्मेदवार आ-आफ्नो पक्षका उम्मेदवारलाई मतदानका लागि आह्वान गर्दै चुनावी दौडाहामा छन् ।

यसअघि विसं २०६४ मा र विसं २०७० मा संविधान निर्माणका लागि निर्वाचन गरिए । केही महिनाअघि सकिएको स्थानीय तहको निर्वाचन स्थानीय सरकार गठन सँगसँगै स्थानीय क्षेत्रको विकासका लागि थियो । अबको चरण थप महत्वपूर्ण जिम्मेवारीका लागि निर्वाचन हुँदैछ । अबको निर्वाचन संविधानको कार्यान्वयन गर्दै स्थायी शान्ति, आर्थिक विकास र समृद्धिको चरणमा मुलुकलाई डोर्याउन हो ।

भरतपुरका मतदाता मनोज अर्याल लोकतन्त्रको संस्थागत विकास र समृद्धिका लागि यो निर्वाचनले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गछन् । तर राजनीतिक दलका उम्मेदवारले गरेका वाचा पूरा गर्नुपर्ने भनाइ अर्यालको छ ।

यसअघिका निर्वाचनमा पनि दलबाट धेरै वाचा गरिएको थियो । जनतालाई देश विकासको सुन्दर सपना बाँडेर मत माग गरिएको थियो । तर कार्यान्वयन भने न्यून भइरहेको यथार्थ छ । भरतपुर-१२ का मतदाता कृष्ण सापकोटा पनि दलले गरेको वाचा पूरा नहुँदा चिन्तित छन् । भोट माग्न आउने नेतालाई उनले गरेका प्रतिबद्धता पूरा गर्न आग्रह गर्दै आएका छन् ।

केही दिनअघि भरतपुरमा चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ घरदैलोमा आउँदा सापकोटाले फूल दिँदै भने, ‘ल गरेको प्रतिबद्धता पूरा गर्नूस् । सडक बाटोघाटोको दुर्दशा छ । विकास चाहियो ।’

उनको मात्रै होइन आम मतदाताकै चाहना अहिले देशको विकास नै रहेको देखिन्छ । एक महिला मतदाता सरस्वती पौडेलले आएका उम्मेदवारलाई आफ्नो घर अगाडिको सडक देखाउँदै बाटो, खानेपानीको धारो निर्माणसँगै विकासका काममा लाग्न अनुरोध गर्दै आएकी छिन् । सडक देखाउँदै पौडेलले भनिन्, ‘यो बाटो बन्नुपर्यो । अब विकास चाहियो ।’

अहिले मतदातालाई नमस्कार गर्दै नेता चुनावी घरदैलोमा छन् । जितेर गएपछि फर्केर आउँदैनन् । यो भनाइ अहिले पनि दोहोर्याइरहेका छन् चितवनका मतदाताले । त्यसैले अब जितेर विकास ल्याउनुपर्ने आवश्यकता रहेको बताउँछिन्, देवमाया दाहाल पनि ।

हुन त राजनीतिक उम्मेदवारले अहिलेको चुनावी एजेण्डा ‘स्थायी शान्ति र देशको समृद्धि’ बनाएका छन् । चितवनका तीन निर्वाचन क्षेत्रमध्ये मुख्य प्रतिष्पर्धीमा देखिएको वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको चुनावी प्रतिबद्धता उस्तैउस्तै छ ।

यहाँको क्षेत्र नं ३ बाट वाम गठबन्धनका उम्मेदवार पुष्पकमल दाहालले चितवनमा मेट्रोसिटी, प्रचण्ड रोजगार र आवास योजना, चितवन औद्योगिक नगरी, समृद्ध र सम्पन्न माडी, चितवन कृषि, शिक्षा र उत्पादनको केन्द्र, सामुदायिक शिक्षामा क्रान्तिकारी विकास, समृद्ध र विकसित चितवन, पर्यटकीय नगरिका लागि विशेष योजना, चितवनलाई मेडिकल राजधानी बनाइने, चितवनको विकास निर्माणको स्थायित्वलगायत विषय समेटेर चितवन विकासको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

उनका प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेले पनि विकासलाई प्राथमिकता दिँदै ५ वर्षमा सबै क्षेत्रको सडक कोलोपत्र गराइसक्ने, युवालाई स्वदेशमै रोजगार बनाइने, सुन्दर पर्यटकीय नगरी बनाइनेलगायत योजनासहित चुनावी अभियानमा लागेका छन् ।

चितवन क्षेत्र नं २ मा नेकपा (एमाले)का उम्मेदवार कृष्णभक्त पोखरेल छन्, भने प्रतिष्पर्धीमा नेपाली काँग्रेसबाट शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी चुनावी मैदानमा रहेका छन् । यस्तै क्षेत्र नं १ मा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीको प्रतिस्पर्धा हुँदै छ ।

उनीहरुका मुख्य चुनावी मुद्दा पनि बाटोघाटो, पुलपुलेसा, सडक निर्माण, उद्योगको विकास गर्दै आर्थिक समृद्धि हासिल गर्ने नै हुन् । यी बोलेका कुरा मात्रै व्यवहारमा लागू गर्ने हो भनेमात्रै पनि देशको मुहार फेरिनसक्ने मतदाता बताउँछन् ।

चितवनमा यसपालि कूल ३ लाख ५४ हजार ३६ मतदाता छन् । तीन निर्वाचन क्षेत्रमा नौ सिटका लागि ९५ जनाको उम्मेदवारी परेको छ । हरेक चोक चौतारोमा दलका नेता तथा कार्यकर्ताको सहभागिताले जिल्ला चुनावमय भएको देखिँदै छ ।


क्लिकमान्डु