एसियाका २० शक्तिशाली महिला व्यवसायी, सबैभन्दा धेरै भारतीय, नेपाली कति छन् ?
काठमाडौं । विश्वभर आर्थिक चुनौतीका बावजुद पछिल्लो समय महिलाहरुले पनि विभिन्न व्यवसाय, स्टार्टअप, इन्भेस्टमेन्ट फर्म तथा पारिवारिक व्यवसायहरुको सफलतापूर्वक नेतृत्व गरिरहेका छन् ।
विश्वप्रसिद्ध अमेरिकी बिजनेस म्यागजिन फोर्ब्सले यस वर्ष २०२४ मा एसिया प्यासिफिक क्षेत्रका २० उद्यमी महिलाहरुलाई छनोट गरेको छ । जहाँ जापान, इन्डोनेसिया, भारत लगायत देशका महिलाहरुले सफल रुपमा व्यवसायलाई स्थायित्व दिनुका साथै आफ्नो व्यवसायलाई विस्तार पनि गरिरहेका छन् ।
फोर्ब्सले शक्तिशाली महिला व्यवसायीहरुको रुपमा उनीहरुको सूची सार्वजनिक गरेको हो । र विश्वमा धेरै महिला उद्यमीहरु भए पनि फोर्ब्सले सार्वजनिक गरेका महिलाहरु आफ्नो व्यवसायलाई सफलतापूर्वक नेतृत्व गरिरहेका छन् ।
यस सूचीमा रहेका महिलाहरुलाई फोर्ब्सले साहसी रणनीति लागू गर्ने महिलाहरुको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्ने उद्यमीको रुपमा व्याख्या गरेको छ । साथै उनीहरु जुनसुकै किसिमको कठिनाइ र चुनौती सामना गर्न तयार रहेको उल्लेख गरेको छ ।
यस्तै व्यवसाय नेतृत्वकर्ताको रुपमा आफ्नो जिम्मेवारी पूरा गर्दै आफूलाई सफल रुपमा प्रमाणित गरेकोमा उनीहरु छनोटमा परेको पनि फोर्ब्सले जनाएको छ ।
फोर्ब्सले आफ्ना १३ जनाको सामूहिक अनुसन्धान र रिपोर्टिङबाट यो सूची तयार भएको पनि आफ्नो वेबसाइटमा लेखेको छ । उक्त सूचीमा भारतबाटै तीन जना महिला व्यवसायीहरु परेका छन् ।
यसैगरी जापान, इन्डोनेसिया, ताइवान, दक्षिण कोरिया, फिलिपिन्स, अस्ट्रेलिया, न्युजिल्यान्ड, हङकङ लगायत देशबाट महिला व्यवसायीहरु परेका छन् । यद्यपि भारतसँग जोडिएको नेपालबाट भने कुनै पनि महिलाहरुको नाम परेको छैन । एसिया प्यासिफिक क्षेत्रका समग्र साहसी महिला उद्यमीहरुलाई प्रतिनिधित्व गर्ने २० महिलाको सूची यस्तो छ ।
000
विक्की ब्राडी
उमेर: ५३ वर्ष
कम्पनी: टेल्स्ट्रा
पोजिसन: सीईओ तथा एमडी
देश: अष्ट्रेलिया
ब्राडी २०१६ मा ग्रुप म्यानेजिङ डाइरेक्टरको रुपमा टेल्स्ट्रामा प्रवेश गरेकी थिइन् । त्यसको ३ वर्षपछि २०१९ मा उनी कम्पनीको चिफ फाइनान्सियल अफिसर बनिन् । त्यसभन्दा पहिले उनी टेल्स्ट्राको प्रतिद्वन्द्वी टेलिकम कम्पनी ओप्टस र यसको माउ कम्पनी सिंगापुर टेलिकम्युनिकेसन र लेखा फर्म केपीएमजी काम गरेकी थिइन् । टेल्स्ट्रा अष्ट्रेलियाको विशाल बजार भएको टेलिकम्युनिकेसन कम्पनी हो । जसले २०२७ सम्म १ अर्ब ६० करोड अष्ट्रेलियन डलर लगानी बढाउने भएको छ ।
बोनी चान
उमेर: ५४ वर्ष
कम्पनी: हङकङ एक्सचेन्ज एन्ड क्लियरिङ
पोजिसन: सीईओ
बोनी चान हङकङको सेयर बजार नियमन गर्ने हङकङ एक्सचेन्ज एन्ड क्लियरिङको पहिलो महिला सीईओ हुन् । उनकै नेतृत्वमा यस वर्षको पहिलो ३ महिनामा हङकङको आईपीओ ६१ करोड डलरले वृद्धि भएको छ ।
हार्भर्ड स्कुल अफ लबाट दीक्षित उनी २००७ देखि २०१० मा हङकङ एक्सचेन्ज एन्ड क्लियरिङमा काम गरेर छाडेकी थिइन् । २०२० मा उनी फेरि प्रवेश गरिन् । र २०२३ को फेब्रुअरीमा उनी को-चिफ अपरेटिङ अफिसर बनिन् । मार्चमा उनी सीईओ बनिन् ।
क्लारा चान
उमेर: ४४
कम्पनी: हङकङ इन्भेस्टमेन्ट कर्पोरेसन
पोजिसन: सीईओ
हङकङ इन्भेस्टमेन्ट कर्पोरेसनको पहिलो सीईओ हुन् क्लारा । उनकै नेतृत्वमा हङकङमा लगानीको वातावरण बनाउनुका साथै दिगो विकासका आधार तयार पार्न महत्त्वपूर्ण भूमिका खेलिन् । विशेषगरी एआई लगायतका हाइटेक उद्योगहरुमा लगानीले हङकङलाई आज विश्वभर प्रतिस्पर्धी देशको रुपमा उभ्याएको छ ।
यसभन्दा पहिले क्लारा योग्य वकिलको रुपमा काम गर्थिन् । त्यसपछि उनी हङकङ मौद्रिक प्राधिकरणमा व्यवस्थापकको रुपमा २०१० मा प्रवेश गरिन् । क्रमश: उनी २०२० मा मुद्रा व्यवस्थापनमा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिन् । जहाँ उनले महामारीको समयमा हङकङको झण्डा वाहक क्याथे प्यासिफिकलाई बेल आउट गर्न ३९ अर्ब हङकङ डलरको सम्झौता गरिन् ।
म्याग्गी चेन
उमेर: ६८
कम्पनी: चेनब्रो मिकोम
पोजिसन: सहसंस्थापक तथा अध्यक्ष
ताइवान
म्याग्गीले ताइवानमा १९८३ मा आफ्ना श्रीमान र भाइसँग मिलेर चेनब्रो मिकोम स्थापना गरेकी थिइन् । त्यसको ३० वर्षपछि उनले अहिले यो कम्पनीको नेतृत्व गरिरहेकी छन् । यो कम्पनीले कम्प्युटर डिजाइन तथा निर्माणको काम गर्छ । यसले चीनसहित थुप्रै देशमा आफ्नो बलियो बजार विस्तार गरेको छ ।
हाल यो कम्पनी अग्रणी चिप निर्माता एनभिडियासँगै ग्राहकहरुमाझ लोकप्रिय छ । विशेषगरी सर्भरका लागि सबैभन्दा धेरै पार्ट्स उत्पादन गर्ने कम्पनीमध्ये यो कम्पनी एक हो । २०२४ को पहिलो ६ महिनामा यस कम्पनीको कमाइ ५३ प्रतिशत बढेर १९ करोड ८० लाख अमेरिकी डलर पुगेको थियो । जवकि कुल नाफा १७६ प्रतिशतले बढेको थियो । म्याग्गी १९७७ मा नेसनल चेङग्ची युनिभर्सिटीबाट १९७७ मा ग्र्याजुएट भएकी थिइन् ।
शिना चङ
उमेर : ४९ वर्ष
कम्पनी: काकाओ
पोजिसन: सीईओ
दक्षिण कोरिया
गत मार्चमा शिना चङ दक्षिण कोरियाको लोकप्रिय म्यासेजिङ एप चलाउने प्रविधि कम्पनी काकाओको नेतृत्व सम्हाल्दै कम्पनीको पहिलो महिला सीईओ बनिन् । काकाओका संस्थापक तथा अर्बपति किम बेओम सु सेयर मूल्य हेरफेर सम्बन्धी मुद्दामा जुलाइमा पक्राउ परेपछि शिनले काकाओको नयाँ विकास योजना अगाडि बढाइन् । उनको नियुक्तिपछि काकाओले दोस्रो ३ महिनामा ५९ प्रतिशत कुल नाफा गर्दै ८७ अर्ब कमायो ।
मिवाको डेट
उमेर : ५३
कम्पनी: मोरी ट्रस्ट
पोजिसन: अध्यक्ष र सीईओ
जापान
उनी आफ्ना बाबुले १९९८ मा सुरु गरेको कम्पनीमा दुई दाजुहरुले कम्पनी छाडेपछि मिवाकोले २०१६ मा कम्पनीको नेतृत्व लिएकी हुन् । टप कर्पोरेट लिडरको रुपमा उनको यो नेतृत्वलाई जापानमा दुर्लभ समेत मानिएको थियो । सीमित महिला अगुवाहरुको बीचमा कम्पनीलाई नेतृत्व दिनु उनका लागि ठूलो अवसर मानिएको थियो ।
लउर्ड्स गुटेरेज अल्फोन्सो
उमेर: ६१ वर्ष
कम्पनी: मेगावर्ल्ड
फिलिपिन्स
अल्फोन्सो गत जुनमा मेगावर्ल्डको अध्यक्ष नियुक्त भएकी हुन् । १९८९ मा अन्ड्र्यु टानले स्थापना गरेर फिलिपिन्सको सर्वाधिक ठूलो कल सेन्टर मालिक तथा होटल अपरेटर कम्पनीको रुपमा सफल बनाएको कम्पनीको नेतृत्व यतिबेला लउर्ड्स गुटेरेजको नेतृत्वमा आएको छ ।
१९ ठाउँमा रहेका होटलका ८ हजार कोठाबाट बढाएर २७ ठाउँमा होटल विस्तार गर्दै १२ हजार कोठाहरु थप्ने कम्पनीको तयारी गरेको छ । यद्यपि केन्द्रीय बैंककले ब्याजदर बढाउनाले कतिपय चुनौतीको सामना यस कम्पनीका अगाडि छन् । सर्टिफाइड पब्लिक एकाउन्टेन्ट समेत रहेकी अल्फोन्सो यस कम्पनीमा १९९० मा प्रवेश गरेकी थिइन् ।
न्यारिका हल्कर
उमर : ४२ वर्ष
कम्पनी: गोद्रेज इन्टरप्राइजेज ग्रुप
पोजिसन: कार्यकारी निर्देशक
भारत
१ अर्ब ९० करोड अमेरिकी डलरसहित भारतबाट अर्बपति सूचीमा परेका जम्सेद गोदरेजको व्यवसायिक विरासत न्यारिका हल्करले सम्हालेकी हुन् । हल्कर जम्सेदकी भतिजी हुन् । जम्सेदको गोदरेज इन्टरप्राजेज ग्रुपले एरोस्पेसदेखि घरजग्गा लगायत विविध क्षेत्रमा लगानी गर्छ ।
हल्करका जिजुबाजे पिरोजशा गोदरेजले १२७ वर्षअघि सुरु गरेको व्यवसाय क्रमश विस्तार हुँदै आलको गोदरेज ग्रुप बनेको हो । जसको नेतृत्व न्यारिका हल्करले गरिरहेकी छन् ।
न्यारिका यो कम्पनीको नेतृतवमा आएपछि उनले विशेषगरी कम्पनीको ब्रान्डिङमा धेरै काम गरिन् । २००९ मा लिगल फर्म सञ्चालन गरेर करिअर सुरु गरेकी उनले २०१५ मा गोदरेज समूहमा काम गर्न थालेकी हुन् । त्यसको २ वर्षपछि २०१७ मा उनी कम्पनीको कार्यकारी निर्देशक बनिन् ।
स्टेफनी लो
उमेर : ४२ वर्ष
कम्पनी : शुइ अन ल्यान्ड
पोजिसन: उपाध्यक्ष
हङकङ
स्टेफनी लो मे महिनामा शुइ अन ल्यान्डको उपाध्यक्षको जिम्मेवारी पाएकी हुन् । जुन शुइ अन ग्रुपको फ्ल्यागसिप युनिट उनका अर्बपति बाबु भिन्सेन्ट लोले १९७१ मा स्थापना गरेका थिए । २०२० मा सुरु भएको पुँजी बजार संकटबाट अगाडि बढ्नुपर्ने उनको जिम्मेवारी छ । जब चीन सरकारले निर्माणकर्ताहरुलाई अत्यधिक उधारो दिन रोकिदिएपछि समस्या सुरु भएको थियो ।
समस्याका बीच शुइ अन नेतृत्वमा आउने क्रममा नै २०२४ को पहिलो ६ महिनामा उनको कम्पनीले खुद नाफामा ८८ प्रतिशत गिरावट गर्दै १ करोड खुद नाफा कमाएको थियो । सम्पत्तिहरुको विक्रीमा मन्दी आएसँगै यो डेभलपर कम्पनीको नाफामा गिरावट आएको बताइन्छ । समस्याहरुका बीच कम्पनीको नेतृत्वकर्ताको रुपमा शुइलाई चुनौतीहरु पनि छन् । शुइ न्युयोर्कमा आर्टिटेक्ट डिजाइनरको काम छाडेर पहिलो पटक २०१२ मा यो कम्पनीमा प्रवेश गरेकी थिइन् ।
विशाखा मुले
उमेर : ५५ वर्ष
कम्पनी : आदित्य बिरला क्यापिटल
पोजिसन: सीईओ
भारत
प्रख्यात बैंकरको रुपमा चिनिएकी विशाखा २०२२ मा कम्पनीको नेतृत्व सम्हालेकी हुन् । आदित्य बिरला क्यापिटल भारतको सबैभन्दा ठूलो वित्तीय सेवा कम्पनीको रुपमा चिनिन्छ । जुन आदित्य बिरला ग्रुपको एक हिस्सा हो । विशाखा नेतृत्वमा आएपछि कम्पनीलाई डिजिटल सेवा लगायतका क्षेत्रमा धेरै काम गरेर उपलब्धि हासिल गरेकी छन् ।
यस वर्षको पहिलो ६ महिनामा उनको कम्पनीले खुद नाफा १७ प्रतिशत बढाएर १८ करोड ९० लाख अमेरिकी डलर कमाएको छ । साथै २९ प्रतिशत आम्दानी बढाएको छ । अप्रिलमा उनले आदित्य बिरला क्यापिटल डिजिटलको उद्घाटन गरेकी थिइन् । जुन आफ्ना ग्राहकहरुमाझ कम्पनीको सेवा सहज बनाउन र विस्तार गर्नका लागि सुरु गरिएको मोबाइल एप हो । र उक्त मोबाइल एप सुरु गरेपछि नै २५ लाख ग्राहकहरु एपमा दर्ता भएका छन् । विशाखा एक दक्ष सीए हुन् । १९९३ मा ट्रेनीको रुपमा करिअर सुरु गरेकी उनले झन्डै ३ दशकसम्म आईसीआईसी ग्रुपमा काम गरेर २०१६ मा बोर्ड सदस्य समेत बनेकी थिइन् ।
शानिया मनोज पन्जाबी
उमेर: ५० वर्ष
कम्पनी : एमडी इन्टरटेनमेन्ट
पोजिसन: प्रेसिडेन्ट कमिसनर
इन्डोनेसिया
शानिया मनोज मार्केट क्यापको रुपमा इन्डोनेसियाको सबैभन्दा ठूलो फिल्म स्टुडियो कम्पनी एमडी इन्टरटेनमेन्टको नेतृत्व गर्छिन् । जुन कम्पनीले अक्टोबरको मध्यसम्म १ अर्ब ३० करोड डलर कमाएको छ । २००२ मा यो कम्पनी स्थापना गर्ने क्रममा शानियक एक संस्थापक हुन् । उनले आफ्ना अर्बपति पति मनोज पन्जाबी र उनका बाबुआमासँग मिलेर यो कम्पनी स्थापना गरेकी थिइन् । उनी २०२१ मा कम्पनीको नेतृत्वमा आएकी हुन् । उनले युनिभर्सिटी अफ पेनिसेल्भियानियाज ह्वार्टन स्कुलबाट अर्थशास्त्रमा स्नातक गरेकी छन् ।
फेनी जोको सुसान्तो
उमेर: ४७ वर्ष
कम्पनी: सम्बर अलफारिया त्रिजया
पोजिसन: प्रेसिडेन्ट कमिसनर
इन्डोनेसिया
फेनी जोको १० वर्षपहिले नै कम्पनीको नेतृत्वमा आएकी थिइन् । इन्डोनेसियाका ५० धनीमध्ये १२ नम्बरमा रहेका उनका बाबु जोको सुसान्तोले सुरु गरेको मिनी मार्केट सञ्जालको छोरी फेनीले नेतृत्व सम्हालेकी हुन् । कम्पनीलाई विदेशमा पनि विस्तार गर्नु र यसको व्यवस्थापनमा फेनीको महत्त्वपूर्ण भूमिका मानिन्छ । हाल यसले आफ्ना थुप्रै चेनमार्फत अनलाइन सपिङमा आफ्नो राम्रो प्रभाव जमाइरहेको छ । फेनीले क्लिभल्यान्ड स्टेट युनिभर्सिटीबाट एमबीए गरेकी छन् ।
तान सु शान
उमेर: ५७ वर्ष
कम्पनी: डीबीएस ग्रुप
पोजिसन: डेपुटी सीईओ
सिंगापुर
प्रख्यात बैंकरको रुपमा पहिचान बनाएकी तान सिंगापुरमा सूचीबद्ध डीबीएस समूहको नेतृत्व गर्ने पहिलो महिला बन्दैछिन् । सम्पत्तिको हिसाबमा दक्षिण पूर्वी एसियाकै सबैभन्दा ठूलो ऋणदाता कम्पनीको नेतृत्वमा रहेका पियुष गुप्ताको ठाउँमा २०२५ को सुरुमा तान नियुक्त हुँदैछिन् ।
कम्पनीले २०२३ मा अघिल्लो वर्षको तुलनामा २६ प्रतिशत वृद्धि गर्दै ७ अर्ब ९० करोड खुद नाफा कमाएको थियो । यद्यपि कम्पनीको वृद्धिलाई कायम गर्नु र विस्तार गर्नु उनका लागि प्रमुख चुनौतीको रुपमा खडा हुनेछ ।
सेरेना तेओ जु लिङ
उमेर: ५० वर्ष
कम्पनी: क्यापिटलल्यान्ड एस्कट ट्रस्ट
पोजिसन: सीईओ
सिंगापुर
सेरेना २०२२ को जुलाइमा सिंगापुरको सूचीबद्ध कम्पनी क्यापिटलल्यान्ड एस्कट ट्रस्टको नेतृत्वमा आएकी थिइन् । यसअघि उनले सोही कम्पनीको डेपुटी सीईओको रुपमा एक वर्ष काम गरेकी थिइन् । जुन कम्पनी एसिया प्यासिफिक क्षेत्रको सबैभन्दा ठूलो आवास कम्पनी मानिन्छ ।
यस कम्पनीले विभिन्न १६ देशहरुमा १०२ वटा प्रपर्टीमार्फत होटेल तथा आवास लगायतका सेवा विक्री गर्दै आएको छ । कम्पनीको नेतृत्वमा सेरेना आएपछि कम्पनीको व्यापार विस्तार हुनुका साथै आम्दानी वृद्धि भएको बताइन्छ । २०२३ मा मात्रै २० प्रतिशत आम्दानी वृद्धि गरेको थियो । उनी २००८ मा एसेन्डास सिङब्रिज ग्रुपमा प्रवेश गरेकी थिइन् । पछि उक्त कम्पनी क्यापिटल ल्यान्डले किनेको हो ।
मितसुको तातोरी
उमेर: ५९ वर्ष
कम्पनी: जापान एयरलाइन्स
पोजिसन: सीईओ
जापान
मितसुको जापान एयरलाइन्सको नेतृत्व गर्ने पहिलो महिला हुन् । फ्लाइट एटेन्डेन्टको रुपमा करिअर सुरु गरेकी उनी अप्रिलमा कम्पनीको सीईओ बनेकी हुन् । २०१५ मा वरिष्ठ निर्देशक बनेकी उनी २०१९ मा क्याबिन सेफ्टीका लागि उपाध्यक्ष बनेकी थिइन् ।
जो टाउनसेन्ड
उमेर: ५७ वर्ष
कम्पनी गार्डियन्स अफ न्युजिल्यान्ड सुपरएनुएसन
पोजिसन: सीईओ
अप्रिलमा उनी सीईओमा नियुक्त भएकी हुन् । जुन कम्पनीले राज्यको सम्पत्ति कोषलाई व्यवस्थापन गर्ने काम गर्छ । यस कम्पनीले अक्टोबरको अन्त्यसम्म ४८ अर्ब ३० करोडभन्दा धेरैको कारोबार गरेको थियो । उनी नेतृत्वमा आएपछि कम्पनीले राम्रो वृद्धि गर्ने अपेक्षा गरिएको छ । अनुभव र दक्षताको आधारमा उनी सीईओ बन्दै गर्दा कम्पनीलाई कुशल रुपमा हाँक्न सक्ने व्यक्तिको रुपमा स्वागत गरिएको थियो ।