निष्क्रिय कर्जामा आईएमएफको चासो, १० ठूला बैंकको कर्जा पोर्टफोलियो मूल्यांकन गर्न ताकेता



काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेकाले निरन्तर सतर्कता आवश्यक भएको जनाएको छ ।

कोषकी उपनिर्देशक सरवत जहानको नेतृत्वमा भदौ २६ गतेदेखि असोज ६ गतेसम्म नेपालको आर्थिक अवस्थाको विषयमा मूल्यांकन गर्न आएको टोलीले पुँजीको अभाव झेलिरहेका रहेको अवस्थामा निष्क्रिय कर्जा समेत बढीरहेकाले निरन्तर सतर्कता आवश्यक रहेको जनाएको हो ।

राष्ट्र बैंककाअनुसार असार मसान्तमा बाणिज्य बैंकको निष्क्रिय कर्जा ३.७६ प्रतिशत छ । जुन चैत मसान्तमा ४.०२ प्रतिशत थियो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत साउन महिना भरी ब्याज भुक्तानी गर्ने सुविधा दिनुको साथै तथा निर्माण व्यवसायीले मंसिर मसान्तसम्म ब्याज भुक्तानी नगरे पनि निष्क्रिय कर्जामा वर्गीकरण गर्न नहुने व्यवस्था गरेपछि असार मसान्तको तथ्यांक सुधार भएको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

आर्थिक गतिविधिमा खासै सुधार नभए पनि गत पुस मसान्तमा ४.०६ प्रतिशत पुगेको निष्क्रिय कर्जा तथ्यांक मिलाउन दिने राष्ट्र बैंकको रणनीतिले घटेको बैंकरहरु बताउँछन् ।

गत वर्ष २०८० असार मसान्तमा निष्क्रिय कर्जा २.९८ प्रतिशत थियो भने २०७९ असार मसान्तमा निष्क्रिय कर्जा १.२ प्रतिशत थियो । विगतमा कोषले पुरानो ऋणको साँवा र ब्याज चुक्ता गर्न थप ऋण दिने रणनीतिले नेपालका बैंकहरुको निष्क्रिय कर्जा कम भएको भन्दै प्रश्न उठाउने गरेको थियो ।

नेपाल सरकारले २०७८ सालमा बिस्तारित कर्जा सुविधा लिँदा गरिएका प्रतिबद्धताको मूल्यांकन गर्न सरवत जहानको नेतृत्वमा आईएमएफको मिसन नेपाल आएको हो ।

आइतबार मूल्यांकन सम्पन्न गरेर आईएमएफको मुख्यालय वासिङ्टन डिसी फर्किएको टोलीले विज्ञप्ति जारी गर्दै १० ठूला बैंकहरुको कर्जा पोर्टफोलियो मूल्यांकनलाई पूरा गर्नु पर्ने विषय दोहोर्‍याएको छ ।

राष्ट्र बैंकले १० ठूला बैंकको कर्जा पोर्टफोलियो मूल्यांकन गर्न लेखापरिक्षक छनोट गर्न बोलपत्र आह्वान गरे पनि गत महिना लेखापरिक्षक छनोट सम्बन्धी बोलपत्र रद्द गरेको थियो । नेपालका ठूला बैंकले अन्धाधुन्ध कर्जा लगानी गरेको आशंका गर्दै कोषले कर्जाको गुणस्तर सम्बन्धमा अन्तर्राष्ट्रिय संस्थाबाट अध्ययन हुनु पर्ने विषय उठाउँदै आएको छ ।

महँगी घट्नु, आयात बढ्नु, राजस्व संकलन सुधार हुनु, सार्वजनिक लगानी बढ्नु जस्ता कारणले अर्थतन्त्र सुधार भइरहेको संकेत गरेको कोषले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन पारित हुनु सकारात्मक भएको बताउँदै कोषले कुल गार्हस्थ उत्पादनको वृद्धी दरभन्दा केही कम भएपनि कर्जा बिस्तार हुनुलाई पनि सुधारको रुपमा लिएको छ ।

रेमिट्यान्स आप्रवाहमा भएको सुधार, पर्यटकिय गतिविधीमा भएको बृद्धि तथा सुस्त रहेको आयातले विदेशी मुद्राको सञ्चिति बढाएको आईएमएफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘लगानी पर्वद्धन सम्बन्धी कानुन संशोधन हुनुलाई समेत सकारात्मक छ । अर्थतन्त्र बलियो बनाउन हाल भइरहेका सुधारको गति बलियो हुनु पर्छ । राजस्वको आन्तरिक स्रोत बलियो बनाउन राजस्व परिचालन रणनीति बनाउनु पर्ने ,’ आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बचत र ऋण सहकारीहमा देखिएको चुनौती समाधान गर्ने विषय प्राथमिकता राख्दै नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्नु पर्छ ।’


क्लिकमान्डु