सहकारीमा बम्जन परिवारको जालोः १५ वटा संस्था ठगेपछि यसरी भयो जिवी राईसँग कनेक्सन



काठमाडौं । सहकारी ठगीमा डीबी बम्जन तथा उनको परिवारका १६ जना र आफन्तको ठूलो जालो रहेको पाइएको छ ।

उनीहरुको समूहले प्रत्यक्ष रुपमा १५ वटा सहकारी कब्जा गरेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति अध्ययनले देखाएको छ ।

डीबी बम्जन ब्रिटिश सैनिकबाट दोस्रो विश्वयुद्ध लडेका योद्धा दर्जबहादुर तामाङकी जेठी श्रीमतीतर्फका छोरा हुन् ।

दर्जबहादुरकी जेठी श्रीमती बिबिमाया तामाङबाट ५ भाइ, २ बहिनी जन्मिएका थिए । सात सन्तान जन्माएपछि बिबिमायाको निधन भयो । त्यो बेला डीबी २ वर्षका नाबालक थिए ।

दर्जबहादुरले दोस्रो श्रीमतीका रूपमा बिबिमायाकै भदैनी आइतमाया तामाङसँग विवाह गरे । आइतमायाबाट चार भाइ र पाँच बहिनीको जन्मभयो ।

तिनै १६ दाइ-भाइ, दिदी-बहिनीको विवाह, सम्धि, सम्धिनी, माइती, ज्वाइँ प्रायः सहकारी वा नेटवर्किङ पेशामा जोडिएको अध्ययनले देखाएको छ । त्यसमध्ये अहिले अधिकांश सहकारी डीबी बम्जन र पछि ज्ञानबहादुर बम्जनसँग जोडिएकाहरूको संलग्नतामा खुलेका र सहकारीहरूमा उनीहरूको पारिवारिक जालो व्यापक रहेको देखिएको हो ।

दर्जबहादुर तामाङको पहिली श्रीमती बिबिमाया तामाङको तर्फका छोराहरू उत्तरबहादुर तामाङ, पदमबहादुर तामाङ, रमेशबहादुर तामाङ, तेजबहादुर तामाङ र डम्बरबहादुर तामाङ (बम्जन )हुन् भने छोरीहरू विष्णु तामाङ र हेमकुमारी तामाङ थिए ।

दोस्री श्रीमती आइतमाया तामाङका छोराहरुमा खड्गबहादुर बम्जन, शेरबहादुर तामाङ, ज्ञानबहादुर तामाङ, खिलाबहादुर तामाङ रहेका थिए भने छोरीहरू नन्दा कुमारी बम्जन, निर कुमारी बम्जन, नेत्र कुमारी बम्जन, निशा भनिने भगवती बम्जन र रेश्मा बम्जन थिए । यी सबै कुनै न कुनै सहकारीमा जोडिएका छन् ।

उपकार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि., ललितपुर

गोरखा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभमा बजार प्रमुख हुँदै निर्देशक भएर निस्किएपछि डीबी बम्जनका कान्छी आमापट्टिका साइला भाइ ज्ञानबहादुर तामाङ बम्जनले संस्थापक अध्यक्ष भई ललितपुरमा रहेको उपकार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ स्थापित गरे ।

सहकारीमा २०६० सालमा केरदानाथ शर्मा उपाध्यक्ष बनेका थिए । हाल शिवशिखर र तुलसी सहकारी चलाएका केदारनाथ शर्माको शान्तिनगर गेटनजिकै उहिले दुई सटरको राम्रो किराना पसल थियो । उपकारमा कलेक्सन गर्नेहरूले पैसा उठाउँदै जाँदा केदारनाथबाट सहकारीमा सबै भन्दा बढी बचत जम्मा हुने गरेको थियो । सोही सम्बन्धलाई उपयोग गर्दै उनलाई शिखर को – अपरेटिभको उपाध्यक्षमा राखिएको थियो ।

कुमारी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि., चाबहिल

चाबहिलमा रहेको कुमारी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभको संस्थापक अध्यक्षमा ज्ञानबहादुर तामाङ थिए । उनीपछि उनकै श्रीमती पुष्पाकुमारी तामाङ हुँदै सहपाठी सूर्यध्वज न्यौपानेलाई अध्यक्ष बनाए । हाल सो संस्थामा ईश्वर किराँत राई अध्यक्ष रहेका छन् ।

हिमाल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. भक्तपुर

भक्तपुरमा रहेको हिमाल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ ज्ञानबहादुर तामाङको तजबिजीमा भक्तपुरमा खोलिएको हो । हिमालमा ’डमी’का रूपमा उपकारको कलेक्सनमा कार्यरत विज्ञान राईलाई अध्यक्ष बनाएर सञ्चालन गरिएको थियो । हाल उक्त सहकारी संस्थाको अध्यक्ष ईश्वर किरात रहेका छन् । यसको पनि संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जन नै रहेको पाइएको छ ।

बज्रयोगिनी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि, बज्रयोगिनी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ ज्ञानबहादुरकै स्कूलका सहपाठी सूर्यध्वज न्यौपानेलाई नै अध्यक्ष बनाएर स्थापना गरियो । ताम्राकार कम्पलेक्स न्यूरोडमा सहकारीको कार्यालय रहेको छ । अहिले सूर्यध्वज सल्लाहकार र सूर्यध्वजकी श्रीमती सुनिता कार्की अध्यक्ष रहेकी छिन् ।

लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि.

डीबी बम्जनकी श्रीमती कुमारी तामाङ संस्थापक अध्यक्ष रहेर नयाँ बजारमा कार्यालय राखी सञ्चालन गरिएको सहकारी हो लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ ।

उक्त सहकारीमा स्थापनाकालमा डीबी बम्जनका भाञ्जी ज्वाइँ धनबहादुर तामाङ प्रवन्ध निर्देशक थिए । डीबी बम्जनकी भाजी संगीता तामाङ गोरखा विकास बैंकको एचआर, एडमिन र प्रोक्युरमेन्टमा काम गर्थिन् । उनैमार्फत धनबहादुर तामाङ लालिगुराँसको अध्यक्ष बनेका थिए ।

यूनाइटेड गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ

केही कर्मचारीहरूले स्थापना गरेका यूनाइटेड गोरखा सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लि.मा पनि डीबी बम्जनकी भान्जी संगीता तामाङ नै हालकी अध्यक्ष रहेकी छन् । उपकार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. मा ज्ञानबहादुर बम्जनले आफूले छोडेपछि भान्जी संगीताका बुबा नरेन्द्र बललाई अध्यक्ष बनाएका थिए । अहिले कल्याणसँग एकीकरण भई कल्याण उपकार सहकारी बनेको छ । उनका अर्का ज्वाईं लीलाबहादुर गुरुङ अध्यक्ष रहेका छन् ।

स्वर्णलक्ष्मी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, कालीमाटी

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ यही समूहले जवरजस्ती कब्जा गरेको संस्था हो । ज्ञानबहादुर बम्जनको टिमले हिमाल सेभिङ एण्ड क्रेडिट को- अपरेटिभ लि. भक्तपुरको स्टाफ कल्पना श्रेष्ठलाई ल्याएर अध्यक्ष बनाइएको थियो । त्यसअघिका अध्यक्ष निर्मलराज पौडेललाई कार्यालयमै कुटपिट समेत गरिएको चर्चा थियो । हाल उक्त सहकारी अन्य सहकारीसँग एकीकरण भई बहुउद्देश्यीय सहकारीका रूपमा क्रियाशील छ ।

मुकूल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ

बालुवाटारमा ज्ञानबहादुर बम्जनकै योजनामा मुकूल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. स्थापना गरियो । यसको अध्यक्ष प्रतिमा गिरीलाई बनाइएको थियो ।

देवदर्शन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ

देवदर्शन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. थानकोट, चन्द्रागिरिमा स्थापना गरियो । यसको अध्यक्ष डीबी बम्जनका भतिजा ईश्वरराज बम्जनको श्रीमती सावित्री तामाङ र उपाध्यक्ष ज्ञानबहादुर बम्जनको श्रीमती पुष्पाकुमारी तामाङलाई बनाइएको थियो । हाल उक्त सहकारीका अध्यक्ष रामनारायण घिमिरे रहेका छन् ।

शिखर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, ठिमी

शिखर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि., ठिमीको अध्यक्ष सुरूमा डीबी बम्जनका भान्जी ज्वाइँ धनबहादुर तामाङ रहेका थिए । यसको उपाध्यक्षमा २०६५ सालतिरै केदारनाथ शर्मालाई राखेको देखिन्छ ।

गोरखाद्वीप सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ

गोरखाद्वीप सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. मा तेजबहादुर तामाङ (डीबी बम्जनको काइँला दाइ) अध्यक्ष रहेका थिए । २०६६ सालसम्म गोरखा विकास बैङ्कका अध्यक्ष डीबी बम्जन नै थिए । बैक संकटग्रस्त हुने भएपछि शिखर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. र बागबजारस्थित गोरखाद्वीप सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. को बचत समेत डुब्ने स्थिति सिर्जना भयो । अनि एकीकरण गरी शिखरद्विप बनाइएको थियो र शिवशिखर कृषि सहकारीसँग एकीकरण भएपछि हाल शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था भयो ।

कल्याण सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, जावलाखेल

कल्याण सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. जावलाखेलमा सञ्चालनमा ल्याइयो । डीबी बम्जनले बहिनी ज्वाईँ लिलाबहादुर गुरुङ (एलबी गुरुङ) लाई अध्यक्ष बनाएका थिए । एलबी हाल सहकारी ठगी मुद्दामा मुद्दा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन् । गुरुङ गोरखा विकास बैंकमा कानून शाखामा कार्यरत हुँदा डीबी बम्जनसँग सँगत भई पारिवारिक नातामा गाँसिएका थिए ।

कस्मिक सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ

कस्मिक सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. नयाँ बानेश्वरमा खिलाबहादुर बम्जन ( ज्ञानबहादुर बम्जन पट्टीको कान्छो भाइ ) लाई अध्यक्ष बनाई खोलिएको थियो । यसमा पहिल्यै संकट देखिएको थियो ।

मनोकांक्षा बचत तथा ऋण सहकारी संस्था, कालिमाटी

ज्ञानबहादुर बम्जनले भान्जा सन्तोष तामाङ्लाई पनि सहकारीमा आबद्ध गराएका थिए । भान्जी संगीताको भाइ सन्तोष कालिमाटीस्थित मनोकांक्षा बचत तथा ऋण सहकारी संस्था लि. मा कार्यरत थिए ।

जनमुक्ति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, धुम्बाराही

जनमुक्ति सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. धुम्बाराहीमा सञ्चालनमा रहेको थियो । जसको अध्यक्ष रमेश बम्जन ( डीबी बम्जन पट्टीको साइलो दाइ) लाई अध्यक्षमा राखियो । जनमुक्ति सहकारी पछि घेदुङ सहकारीसँग एकीकरण भयो । अहिले आइडियलल यमुना हुँदै एकीकरणबाट आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. बनेको छ ।

सूर्यदर्शनबाट उपत्यकाबाहिर प्रवेश

ज्ञानबहादुर बम्जन उपत्यकाका सहकारीमा मात्र सीमित रहेनन् । उनले आफ्नो सञ्जाल उपत्यका बाहिरसमेत बिस्तार गरेका छन् । त्यही क्रममा उनी आफैं अध्यक्ष रहेर २०६३ सालमा पोखरामा सूर्यदर्शन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. सञ्चालनमा ल्याए । सूर्यदर्शन सहकारीमा सुरुआती दिनमा भाजी संगीता तामाङका काका दिनेश तामाङलाई प्रबन्धक बनाएर लगेका थिए ।

सूर्यदर्शन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लि. पोखरासँग जीबी राई भनिने गितेन्द्रबाबु राईको सम्बन्ध पछि मात्रै जोडिएको थियो । जीबी राईका दाइ अनन्तबाबु राईले बागबजारमा सिचुएसन ल्याङ्ग्वेज इन्सिच्युट सञ्चालन गरेका थिए ।

उक्त इन्स्टिच्युटको काउन्टरमा जीबी राईले दाइको सहयोगी भएर काम गर्दथे । सोही क्रममा निशा भनिने भगवती बम्जन ( ज्ञानबहादुर बम्जनकी ठूलीकान्छी बहिनी। अंग्रेजी भाषा पढ्न सिक्न आइन् । त्यही इन्स्टिच्यूटमा भगवतीको जीबी राईसँग चिनजान हुँदै मायाप्रेम भई सम्बन्ध गाढा बन्दै गयो । सोही सम्बन्ध पछि भागी विवाहमा परिणत भयो । बम्जन परिवारले जीबी र भगवतीको वैवाहिक सम्बन्धलाई लामो समयसम्म स्वीकार गर्न सकेन। जीबी ओखलढुङ्गामा पहिल्यै विवाहित थिए । उनका एक छोरा समेत थिए ।

भगवतीलाई वैधानिक बनाउन जीबी राईलाई हम्मे-हम्मे परेको थियो । विस्तारै उनको सम्बन्ध भगवतीले माइती खलकसँग जोड्दै लगेको पाइएको छ । ज्ञानबहादुर बम्जनले २०६७ सालमा जीबीलाई पोखराको सूर्यदर्शनको जिम्मा दिएको अध्ययनले देखाएको छ ।


क्लिकमान्डु