भोजपुरको अकबरे खुर्सानी काठमाडौं हुन्छ ढुवानी, किलोको ३ सय



भोजपुर । पहाडी जिल्ला भोजपुरका कृषकमा अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य बाली छाडेर यहाँका अधिकांश ठाउँमा अकबरे खुर्सानीको व्यावसायिक खेती सुरु गरिएको छ ।

खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । जिल्लामा उत्पादन भएको खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन । यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ ।

अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने गरेको बताए ।

उनले भने, ‘अहिले प्रतिकेजी दुई सय ५० देखि तीन सय रुपैयाँका दरले खुर्सानी बिक्री हुँदै आएको छ । मैले करिब २० रोपनी क्षेत्रफलमा व्यावसायिक कृषि गर्दै आइरहेको छु ।’

खुर्सानीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर यसको खेती गर्नेहरु पनि छन् । पौवादुङमा गाउँपालिकाका धु्रवकुमार राईले त्यसैमध्येको एक हुन् ।

दश वर्षभन्दा बढी वैदशिक रोजगारीमा बिताएका उनी पछिल्लो पाँच वर्षदेखि व्यावसायिक खुर्सानी खेतीमा रमाएका छन् । राईले गाउँमै ध्रुव कृषि तथा पशुपालम फर्म खोलेर व्यावसायिक रुपमा कृषि कर्म गर्दै आएका हुन् ।

‘वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान लाग्ने खर्चको सही सदुपयोग गर्न सकिएमा स्वदेशमै पनि केही गर्न सकिने रहेछ’, राईले भने ।

दुई लाख खर्च गरेर दुई हजार पाँच सय विरुवा अकबरे लगाउन सके मात्रै राम्रो आम्दानी लिन सकिने राईको अनुभव छ । यसअघि मकै, कोदो, आलुलगायतको खेती गर्नेहरू पनि यतिबेला अकबरे लगाउन थालेको स्थानीय सीताराम प्रधानको भनाइ छ।

पौवादुङमा गाउँपालिकामा व्यावसायिक अकबरे खुर्सानी सुरु गरेकी मन्दिरा विश्वकर्माले यसबाट मनग्गे आम्दानी भएको बताइन् ।

जिल्लाका षडानन्द, अरुण, भोजपुर, टेम्के मैयुङलगायत गाउँपालिकामा व्यावसायिक खुर्सानी खेती भइरहेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार नेपालका प्रायः सबै भू–भागमा अकबरे खुर्सानीको खेती हुने भए पनि पहाडी जिल्लामा राम्रो उत्पादन हुने गरेको छ ।

प्रदेशका पहाडी जिल्ला इलाम, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लामा यसको उत्पादन धेरै हुने गरेको छ।


क्लिकमान्डु