भदौमा ‍पनि उठेन लक्ष्यअनुसार राजस्व, पुँजीगत खर्चमा सुधार



काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा सरकारले १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत वर्ष यही अवधिमा संकलन भएको राजस्वभन्दा ९.७४ प्रतिशत बढी हो ।

गत वर्षभदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन गत वर्षभन्दा ३१.३८ प्रतिशत बढी राजस्व संकलन हुनु पर्छ ।

गत आर्थिक वर्षमा १० खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

तर, चालु आर्थिक वर्षको साउन र भदौमा गत वर्षभन्दा १० प्रतिशत बढी मात्रै राजस्व संकलन भएको हो । साउन र भदौको कारोबार तथा व्यवसायीसँगको छलफलको आधारमा चालु आर्थिक वर्षमा गत वर्ष भन्दा १५ प्रतिशत बढी राजस्व संकलन हुनेमा अर्थ मन्त्रालयका अधिकारीहरु आसावादी छन् ।

’गत वर्ष भन्दा ३१ प्रतिशत बढी राजस्व संकलन कुनै पनि हिसाबले सम्भव छैन,’ अर्थमन्त्रालयका एक अधिकारीले भने, ‘ साउन र भदौमा देखिएको उत्साह कायमै रहेमा यो वर्ष १२ खर्ब भन्दा बढी राजस्व संकलन हुन सक्छ ।’

गत वर्ष भन्दा ९.७ प्रतिशत राजस्व संकलन हुँदा समेत यो वर्ष भदौ मसान्तसम्म गत वर्ष भन्दा ४.५७ प्रतिशत बढी खर्च भएको छ । चालू आर्थिक वर्षमा भदौ मसान्तसम्म सरकारले १ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको छ । गत वर्ष सोही अवधीमा १ खर्ब ३१ अर्ब रुपैयाँ खर्च भएको थियो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले काम सम्पन्न भएका निर्माण व्यवसायीको भुक्तानी गर्दै कुल सरकारी खर्च बढाउने बताउँदै आएका छन् ।

अर्थ मन्त्रालयले साउन १ गते बिभिन्न मन्त्रालयलाई मार्गदर्शन जारी गर्दै काम सम्पन्न भएका योजनामा बजेट भए बराबरको रकम भुक्तानी गर्न सर्कुलर गरेकाले यो वर्षको २ महिनामा गत वर्ष भन्दा पुँजीगत खर्चमा बृद्धि भएको छ ।

पुँजीगत तर्फ गत वर्ष ८ अर्ब १६ करोड रुपैयाँ खर्च भएकोमा यो वर्ष २ महिनामा १४ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ ।

यस्तै यो वर्ष २ महिनामा चालू तर्फ ८२ अर्ब ९८ करोड रुपैयाँ तथा वित्तीय व्यवस्थापन तर्फ ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ ।

गत वर्ष २ महिनामा चालू तर्फ ८७ अर्ब ६६ करोड रुपैयाँ, तथा वित्तीय व्यवस्थापन तर्फ ३५ अर्ब ३१ करोड रुपैयाँ खर्च भएको थियो ।


क्लिकमान्डु