इन्भेष्टमेन्ट, ग्लोबल आइएमइ, एसबिआइ र सिद्धार्थ: कुन बैंकको अवस्था कस्तो ?



काठमाडौं । शुक्रबार ४ वटा वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो ३ महिनाको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेका छन् । जसमध्ये एक वर्षअघिको नाफासँग तुलना गर्दा २ बैंकको नाफा घटेको छ भने २ बैंकको नाफा बढेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल एसबिआइ बैंकको नाफा बढेको छ भने सिद्धार्थ बैंक र ग्लोबल आइएमइ बैंकको नाफा घटेको छ ।

इन्भेष्टमेन्ट बैंक

त्यसैगरी निजी क्षेत्रको सबैभन्दा बढी चुक्ता पुँजी भएको नेपाल इन्भेष्टमेन्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८९ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यही अवधिमा बैंकले ७४ करोड ८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ र सञ्चित कोष ९ अर्ब ११ करोड छ । चुक्ता पुँजी र सञ्चित कोष निजी क्षेत्रका प्रवद्र्धकहरुद्वारा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा धेरै हो ।

पहिलो त्रैमासमा बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

३ महिना मै बैंकले ३ अर्ब २० करोड ब्याज आम्दानी गरी १ अर्ब ८८ करोड रुपैयाँ गरेको छ । यस अवधिमा बैंकले ब्याजबाट मात्रै खुद १ अर्ब ३२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

गत वर्षको तुलनामा बैंकले प्रवाह गरेको कर्जामा खराब कर्जाको मात्रा केही बढेको छ । गत वर्षको पहिलो त्रैमासमा ०.७१ प्रतिशत रहेकोमा यो वर्षको पहिलो त्रैमासमा १.०४ प्रतिशत पुगेको छ ।

ग्लोबल आइएमइ बैंक

चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा ग्लोबल आईएमई बैंकको ३५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा ७ करोड रुपैयाँले कम हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले ४२ करोड रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्षको पहिलो त्रैमासको भन्दा यो वर्षको पहिलो त्रैमासमा बैंकले ३ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । ०७४ असोज मसान्तसम्ममा बैंकले १ खर्ब ४ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ भने बैंकको संचित कोष ४ अर्ब ३८ करोड रुपैयाँ छ । यो बैंकले आधा दर्जन भन्दा बढी बैक तथा वित्तीय संस्थालाई मर्ज तथा एक्वार गरी पुँजी बढाएको हो ।

चालु आवको पहिलो त्रैमासमा बैंकले प्रवाह गरेको कूल कर्जामा खराब कर्जा को मात्रा १.५७ प्रतिशत छ ।

एसबिआइ बैंक

नेपाल एसबिआइ बैंकले चालू आर्थिक वर्षको पहिलो ३ महिनामा ४३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ९ करोड रुपैयाँले बढी हो । गत वर्ष ३५ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।

यस अवधिमा बैंकले २ अर्ब ७ करोड रुपैयाँ ब्याज आम्दानी गरी १ अर्ब १७ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । यस अबधिमा बैंकले ८६ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६७ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा बैंकको चुक्ता पुँजी ३ अर्ब ८८ करोड रुपैयाँ थियो ।

राष्ट्र बैंकले ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको चुक्ता पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेपछि बैंकलाई चुक्ता पुँजी बढाउने दाबब परेको हो । बैंकले गत वर्ष कमाएको नाफा र सञ्चित कोषमा रहेको रकमबाट बोनस र हकप्रद सेयर जारी गरी तोकिएको चुक्ता पुँजी पुर्याउने छ । बैंकको सञ्चित कोषमा ४ अर्ब ३५ करोड रुपैयाँ छ ।

ब्यवसायको आकार बढेपनि प्रतिशतका आधारमा खराब कर्जा भने स्थिर छ । गत वर्षको पहिलो त्रैमासमा ०.१३ प्रतिशत रहेको बैंकको खराब कर्जा यो वर्षको त्रैमसमा पनि ०.१३ प्रतिशत नै छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले चालु आवको पहिलो ३ महिनामा २१ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले ३५ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकको नाफा करिब १४ करोड रुपैयाँले कम भएको छ ।

संभावित जोखिान ब्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटब्याक) मा गिरावट आएसँगै बैंकको नाफा पनि घटेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले २८ करोड ६२ लाख रुपैयाँ राइटब्याक गरेको बैंकले यो वर्षको पहिलो त्रैमासमा १७ करोड ७० लाख रुपैयाँ मात्रै राइटब्याक गरेको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले ७७ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जाको अनुपात पनि केही बढेको छ । गत वर्षको पहिलो त्रैमासमा कूल कर्जाको १.५९ प्रतिशत रहेकोमा यो वर्षको पहिलो त्रैमासमा २.०१ प्रतिशत पुगेको छ ।

एक वर्षको अवधिमा बैंकले चुक्ता पुँजी दोब्बरले बढाएको छ । गत वर्षको पहिलो त्रैमासमा ३ अर्ब ३७ करोड रहेको चुक्ता पुँजी यो वर्षको पहिलो त्रैमासमा ६ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ ।


पुष्प दुलाल