पोखरा विमानस्थलमा १ अर्ब रुपैयाँ घोटाला भएको खुलासा, ६ महिनामै परामर्शदाताले छाडे



काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ८५ लाख डलर (करीब एक अर्ब रुपैयाँ) घोटाला भएको खुलासा भएको छ ।

पोखरा विमानस्थल निर्माण गर्दा ८५ लाख अमेरिकी डलरको कामबिना नै पैसा छुट्याएको थाहा पाएपछि आफूहरुले ६ महिनामै काम छाडेको परामर्शदाता मुरारी गौतमले बताए ।

‘प्राधिकरणले ८५ लाख डलरको काम घटी राखेको र पैसामात्र राखेको थाहा पाएपछि ६ महिना काम गरेर हामी बाहिरियौं’ उनले भने ।

संघीय संसदको लेखा समितिले प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनको अध्यक्षतामा गठन गरेको एक उपसमितिको बैठकमा सहभागि गौतमले पोखरा विमानस्थल बनाउँदा कुल लागतभन्दा ८५ लाख डलर कम बनाएर काम लगाएको फेला परेको जनाए।

रकमको तुलनामा काम कम भएको थाहा पाएपछि र पोखरा विमानस्थल निर्माणमा नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्वले मिलेमतो गरेको आंशक लागेकोले ६ महिना काम गरेर छोडेको गौतमले दाबी गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले भने उक्त रकम घटी भए पनि पछि थप काम लगाएको र उक्त रकम थप गरेको दाबी गरेका छन् ।

अधिकारीले संसदीय उपसमितिलाई भने, ‘पहिले काम कम हुने भनेर घटी भएको काम पछि सोही रकम बराबर अर्को काम दिएर पैसा थप गरिएको हो ।’

उनले अन्य परियोजनाको तुलनामा कन्सल्टेन्सीलाई २५ प्रतिशत रकम दिनुपरेकोले बढी खर्च पोखरा विमानस्थल निर्माण गर्दा भएको बताए ।

अधिकारीले ठेकेदारले नै कन्सल्ट्यान्सीलाई भुक्तानी दिएको बताए ।’अरु आयोजनामा १५ प्रतिशत कन्सल्टेन्सीले भुक्तानी पाउनेमा यो आयोजनामा सार्वजनिक खरिद ऐन फलो गरेर, अर्थ मन्त्रालयको स्वीकृति लिएर र मन्त्रिपरिषदले निर्णय गरेरै उक्त रकम दिएको हो’ उनले भने ।

यो रकम प्राधिकरण, अर्थमन्त्रालय र चिनियाँ अधिकारीको उपस्थितिमा त्रिपक्षीय सहमतिबाट भएको प्रदीप अधिकारीले बताए ।

संसदीय समितिमै बाझाबाझ

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी, संसद सदस्य र आमन्त्रित सदस्यबीच बिहीबार संसदीय उपसमितिको बैठकमा बाजाबाज भएको छ । समितिमा गौतमले ८५ लाख डलर कम काम भएको भनेर खुलासा गरेपछि प्राधिकरणका कर्मचारी तथा पोखरा विमानस्थल निर्माणका आयोजना प्रमुख भएर काम गरेको इन्जिनियर विनेश मुनाकर्मीले गौतमले ढाँटेको भन्दै प्रतिवाद गरेका थिए ।

मुनाकर्मीको प्रतिवादको गौतमले बिरोध गरे । गौतमले स्पष्टीकरण दिँदै गर्दा पोखरा विमानस्थल अध्ययन उपसमितिका अध्यक्ष राजेन्द्र लिंङदेलले रोके । राजेन्द्र लिङ्देनले गौतमलाई आफ्ना कुराहरु भए पछि समय दिने भन्दै पन्छाए ।

समितिमा पोखरा विमानस्थल निर्माणका क्रममा दिएको भ्याट छुट, धानवमार्ग घसाएर ४० मिटरको डाँडा काटेको, ३२ मिटरको खानेपानीको ट्यांकी भत्काउनुपरेको, विमानस्थलको धावनमार्गका हाल्नुपर्ने २ लाख घनमिटर माटो नहालेको विषयमा प्राधिकरणमाथि छानबिन समितिले जवाफ मागेको हो ।

पोखरा विमानस्थल इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रक्सन (इपीसी) मोडलमा बनेको नेपालकै पहिलो र सफल मोडल भएको दाबी गर्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल निर्माणमा गरेको कमजोरीको विषयमा भने ‘गोलमटोल’ जवाफ दिए ।

महानिर्देशक अधिकारी तत्कालीन समयमा राष्ट्रिय गौरव आयोजना प्रमुख थिए । उनकै निर्देशन र मिलेमतोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा घोटाला भएको आरोप लागेको छ ।

default

बिजनेस प्लानबिना बनाउँदा विमानस्थल ‘घाँडो’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि ब्यापारिक योजना तथा बिजनेस प्लानबिना नै बनाएका कारण अहिले नै घाँडो भएको प्राधिकरणकै अधिकारीले स्वीकार गरेका छन् ।

प्राधिकरणले तत्कालीन समयमा चिनियाँ एक्जिम बैंकसँग ऋण लिँदा जम्मा १५ अर्ब लाग्ने भनिएको अयोजना सम्झौता गर्दा २२ अर्ब रुपैयाँ पुग्यो भने अहिले यसको लागत ३० अर्ब रुपैयाँ नाघिसकेको छ ।

पोखरा विमानस्थल बनाउँदा लिएको ऋणको ब्याज मात्रै ५ अर्ब रुपैयाँ थपिएर साँवा बढिसकेको छ । यो विमानस्थलबाट आम्दानी नभएर घाँडो भएको प्राधिकरणकै उच्च तहका अधिकारीले स्वीकार गरेका छन् ।

यद्यपि विमानस्थल बनेको र आन्तरिक उडान सुरु भइरहेकोले अब यसलाई अन्तर्राष्ट्रिय उडान गर्नेमा जोड दिनुपर्ने वायुसेवा सञ्चालक संघको भनाइ छ । वायुसेवा सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले विमानस्थलबाट हाल आन्तरिक उडान भइरहेकोले अब यसलाई अन्तर्राष्ट्रिय उडानमा जोड दिन सके यसको निर्माणको सार्थकता हुने बताए ।


क्लिकमान्डु