साउनमा उठेको ब्याज गत आर्थिक वर्षकै मान्न पाउने भएपछि बैंकको सेयर उचालियो
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि सेयर बजारमा बैंकहरुको सेयरको माग बढेको छ । साउनमा आम्दानी गरेको ब्याजलाई असारकै खातामा जोड्न पाउने भएपछि बैंकको मुनाफा राम्रो हुने आशामा बैंकको सेयरको माग बढेको हो ।
बजारमा बैंकहरुको सेयरको अत्यधिक मागका कारण मूल्यमा उच्च वृद्धि भएको छ । वाणिज्य बैंकमा आएको वृद्धिले आइतबार नेप्सेमा दुईपल्ट सर्किट लागेको छ ।
हालसम्म १९ वटै वाणिज्य बैंकको सेयर मूल्यमा उच्च अंकको वद्धि आएको छ । प्रभु, एनएमबि, एनआईएमबी, ग्लोबल आईएमई बैंकको सेयर मूल्य १० प्रतिशतले बढिसकेको छ ।
आइतबार सबै बैंकको सेयर मूल्य २०० रुपैयाँ नाघेको छ ।
नबिल बैंकको सेयरधनीले सबैभन्दा बढी प्रतिकित्ता ५० रुपैयाँ १० पैसा कमाएका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्य ५७ रुपैयाँले बढेको छ ।
सेयर मूल्य बढी दरले बढ्ने सूचीमा शीर्ष १२ कम्पनीहरु वाणिज्य बैंक नै छन् । दोस्रो सर्किट लागुन्जेलसम्म वाणिज्य बैंक उपसूचक ८.९६ प्रतिशतले बढेको छ ।
मौद्रिक नीतिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिनेछ ।’
यसबाहेक बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषमा परेको दवाबलाई दृष्टिगत गर्दै तथा मौद्रिक नीति र समष्टिगत नियामकीय व्यवस्थाहरु बीच थप सामञ्जस्यता ल्याउने अभिप्रायले आर्थिक वर्ष २०८१/८२ को लागि बैंकहरुलाई पुँजीको सकस अन्त्य गरिएको छ । यसबाट बैंकहरुको कर्जा विस्तार सहज आई बैंकको प्रोफिटाबिलिटी सुधार हुनेछ ।
मौद्रिक नीतिले पुँजीको सहक अन्त्य गर्न बैंकहरुलाई पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने उद्घोष गरेको छ भने असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने भएको छ । प्रोभिजन घटाउँदा बैंकहरुले थप ११ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गर्ने बाटो खोलेको छ ।
यसैगरी कर्जा खरिदबिक्रीको लागि गरिने जोखिम भारसम्बन्धी व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने, विद्यमान रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमालाई २ करोडबाट बढाएर अधिकतम २ करोड ५० लाख रुपैयाँ कायम गर्ने राष्ट्र बैंकको उद्घोष छ । यसैगरी बैक तथा वित्तीय संस्थाले टियर टु क्यापिटल गणना गर्दा कुल पुँजीकोष प्राथमिक पुँजीकोषको दोब्बरभन्दा बढी नहुने गरी रेगुलेटरी रिजर्भमा रहेका उपयुक्त रिजर्भ रकमलाई टियर टुमा गणना गर्न सकिने व्यवस्था गर्ने भएको छ ।
यो व्यवस्थाबाट आर्थिक वर्ष २०८१/८२ मा बैंकले कर्जा प्रवाह बढाइ नाफा पनि उल्लेख्य बढ्ने अपेक्षाका साथ लगानीकर्ताहरु बैंकको सेयर किन्न तम्सिएका हुन् ।