आजको मौसम: वागमतीसहित पश्‍चिमका केही भागमा भारी वर्षा



काठमाडौं । सोमबार सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तीन दिनदेखि देशका विभिन्न स्थानमा भइरहेको वर्षासँगै आएको बाढीपहिरोले एक दर्जनभन्दा धेरैको मृत्यु भएको छ । हजारौं मानिस विस्थापित बनेका छन् । बाढीपहिरोमा केही हराइरहेका छन् ।

वागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


क्लिकमान्डु