बाढीले कञ्चनपुरमा एक हजार ६ सयभन्दा धेरै विस्थापित, ७ महिने शिशुको मृत्यु



कञ्चनपुर। लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको अधिकांश भाग डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ ।

महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा चाँदनी नगरपालिका–१० को तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका छन् ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र दक्षिणी क्षेत्रका अधिकांश बस्तीमा बाढी पसेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जिल्लाभर बाढीबाट प्रभावित एक हजार ६ सय २२ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।

“बाढीले जिल्लाका अधिकांश बस्ती डुबानमा परेका छन्,” उनले भने, “डुबानबाट प्रभावितलाई नजिकै विद्यालय र आफन्तकोमा सारिएको छ ।”

त्यसैगरी बाढीमा परी कृष्णपुर नगरपालिकाको वडा–१ पोतीपुरमा सात महिनाका शिशु सोलु धानुकको मृत्यु भएको पनि उनले जानकारी दिए । प्रवक्ता जोशीले भने भने, “घरमा सुतेको अवस्थामा बाढी पसेपछि डुबेर शिशुको मृत्यु भएको छ ।” निरन्तर वर्षा भइरहेका कारण अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेको बताइएको छ ।


क्लिकमान्डु