नक्कली चिनियाँ प्रहरीको नालीबेली: अमेरिका र बेलायतसम्मै ठगीको जालो



चिनियाँ प्रहरी भन्दै अमेरिका, बेलायत लगायत देशमा रहेका चिनियाँ नागरिकहरुलाई वित्तीय ठगीको आरोप लाउँदै अनलाइनको माध्यमबाट फसाएर लाखौं डलर असुल्ने गिरोह । आरोप लगाएर निगरानी गर्दै कसरी पैसा असुलिन्छ ? ठगीको विश्वव्यापी सञ्जाल ।

एजेन्सी । विश्वभर चिनियाँ नागरिकहरुसँग अवैध असुली तथा स्क्यामको माध्यमबाट व्यापक रुपमा ठगी भइरहेका घटना सार्वजनिक भएका छन् । जसमा ठगी गर्ने गिरोह पनि चिनियाँ प्रहरीको नक्कली आवरणमा ठगी भएको समाचार सार्वजनिक भएका छन् ।

बीबीसीमा प्रकाशित समाचार अनुसार चिनियाँ मूलकी एक बेलायती महिलाले आफ्नो पूरा कमाइ तिनै ठगी गिरोहलाई बुझाएको बताएकी छन् । जहाँ ठगी गर्ने व्यक्तिले भिडियो कलमा प्रहरीको पोशाक लगाएर प्रहरी स्टेसनमै बसेको देखिन्थे ।

हेलेन योङ नामकी ती महिला अहिले पनि ठगी गिरोहबाट पाएको झट्काबाट मुक्त हुन कठिन भइरहेको बताउँछिन् । फर्जी प्रहरीले सुरुमा ती महिलालाई चिनियाँ प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको धम्की दिएका थिए । र यस्तो आरोपलाई बारम्बार दाबी गरिरहेपछि हेलेन पनि आफूमाथिको गलत आरोप स्विकार्न बाध्य बनेकी थिइन् ।

चिनियाँ प्रहरी बताउने ठगले यतिसम्म गरेका थिए कि चीनमा भएको ठूलो फ्रडमा ती महिलाको भूमिकाबारे छानबिन भइरहेको भन्दै आएका थिए । हेलेनलाई ती ठगले नक्कली प्रमाण देखाउँदै ब्ल्याकमेलिङ गर्दै चीनको जेलमा राखिदिने धम्की दिएर फिरौती मागेका थिए । हेलेनले भने आफूले हालसम्म कमाइ गरेको रकम २९ हजार पाउन्ड सोही ठगी समूहलाई बुझाएकी थिइन् ।

‘अहिले म स्वयं ठगिएको महसुस गरिरहेकी छु । तर यो सबै यति सत्य लागेको थियो कि यसबारे सोच्ने मौका नै भएन,’ हेलेनले भनेकी छन् । बीबीसीमा प्रकाशित समाचार अनुसार हेलेनको यो घटना अनौठो लागे पनि विदेशमा रहने चिनियाँ नागरिकहरुमाथि यस्ता थुप्रै घटना भइसकेका छन् । पूरा विश्वमा चिनियाँ दूतावासहरु र अमेरिकामा केही घटना आएपछि एफबीआईले समेत चेतावनी जारी गरेका छन् । लस एन्जल्समा रहने एक महिलाले त प्रत्यार्पण हुने डरले ३० लाख डलर तिरेहकी थिइन् ।

कसरी बनाइन्छ निशाना

आम रुपमा निशामा बन्ने व्यक्तिलाई फोन कलहरु आउन थाल्छ । हेलेनको सवालमा पनि आफूलाई चिनियाँ भन्सार अधिकृत बताउने व्यक्तिबाट फोन आएको थियो । जसले भनेको थियो कि उनको नामबाट आएको एक गैरकानुनी पार्सल उसैले रोकिदिएको थियो । जवकि हेलेनले कुनै पनि पार्सल पठाएकी थिइनन् । र उसले के पनि भनेको थियो भने यदि उनलाई फ्रडको आशंका लागेको खण्डमा प्रहरीलाई उजुरी दिनसक्ने भनेको थियो ।

हेलेन भन्छिन्, “चीनमा हुर्के बढेका हामी जस्ता नागरिकहरुलाई आज्ञाकारिता सिकाइएको थियो । यसले पनि मलाई कसैले केही भन्यो भने हुँदैन भन्न सक्दिनँ ।”
यसरी हेलेनले आफूलाई सेङझेनमा अफिसर फेंङ बताउने एक फर्जी प्रहरीलाई पैसा ट्रान्सफर गरिदिएकी थिइन् । जब हेलेनले प्रमाण मागेकी थिइन् उक्त प्रहरीले भिडियो कल गरेको थियो । र जहाँ उसले पोशाक लगाएर परिचयपत्र समेत भिरेर बसिरहेको थियो ।

र अफिसर फेंङले भिडियोमा प्रहरी स्टेसन जस्तो ठाउँ देखाएको थियो । जहाँ अरु पनि केही प्रहरीको पोशाक लगाएका व्यक्तिहरु बसिरहेको आफूले देखेको हेलेन बताउँछिन् । त्यस क्रममा हेलेनले आशंका गर्न छोडेर माफी मागेको बताउँछिन् ।

यस्तै हेलेनलाई फोनबाट उनी एक ठूलो वित्तीय ठगी तथा किर्तेमा संलग्न भएको र यसमा छानबिन भइरहेको भन्दै धम्की दिइएको थियो । “मैले भनेँ यो बकबास हो । उसले भन्यो-तिमीलाई दोषी भनेर कसैले भनेको छैन । तर प्रमाणले अर्थ राख्छ ।”

हेलेनलाई ती व्यक्तिले बैंक स्टेटमेन्ट जस्तो कागजात देखाइयो । जहाँ उनको नाममा ठूलो रकम घोटाला गरेको उल्लेख थियो । फेक प्रहरी अधिकृतले यतिसम्म कि यदि हेलेन आफूलाई निर्दोष भन्छिन् भने उनले वास्तविक अपराधीलाई पक्राउ गर्न मद्दत गर्नुपर्नेछ भन्दै दबाब दिए ।

अपराधमा फस्ने डर

हेलेनलाई एक यस्तो गोप्य सम्झौता गर्न दबाब दिइयो कि जसमा भनिएको थियो छानबिन चलिरहँदा उनले यसबारे कसैलाई भन्ने छैनन् । अन्यथा जेलमा अतिरिक्त ६ महिना सजाय भुक्तान गर्नुपर्ने सर्त राखिएको थियो । हेलेन भन्छिन्, “उसले भन्यो कि यदि तिमीले कसैलाई पनि मलाई चिनियाँ प्रहरीले सोधपुछ गरेको छ भनेर सुनायौ भने तिम्रो जीन्दगी थप खतरामा पर्नेछ ।”

यसै क्रममा ठगी गिरोहले हेलेनलाई एउटा यस्तो एप डाउनलोड गराए कि जसबाट उनीहरु दिनरात हेलेनको गतिविधि निगरानी गर्न सक्थे । र केही दिनसम्ममा हेलेनलाई आफ्नो बयान तयार गर्न भने र आफ्नो जीन्दगीको हरेक क्षणहरुको बारेमा लेख्नुपर्ने थियो ।

यसपछि फेरि अफिसर फेंङको फोन आयो र उसले केही संदीग्ध पक्राउ परेको सुनायो । उसले केही मानिसको लिखित बयान पनि देखायो । जसमा हेलेनलाई पनि दोषी देखाइएको थियो । हेलेनलाई एक भिडियो पठइयो । जहाँ एक कैदी पुरुषले आफू नै हेलेनको बोस भएको भन्दै प्रहरी समक्ष स्विकार गरिरहेको थियो । तर संदीग्धले अनुहारमा मास्क लगाएकाले उसलाई चिन्न पनि मुस्किल भएको हेलेन बताउँछिन्।

तर यो एक एडिटेड भिडियो पनि हुनसक्ने समाचारमा उल्लेख छ । र उक्त व्यक्तिको बयान सुनेपछि हेलेन आफ्नो होस् नै उडेको बताउँछिन् । हेलेन भन्छिन्, “जब मैले एक फ्रडमा आफ्नो नाम सुनेँ त्यसले मलाई धेरै अत्तालिएँ । के लाग्यो भने म कुनै ठूलो समस्यामा फसेँ ।”

यस्तै फेंङले हेलेनलाई उनी बेलायती नागरिक भए पनि प्रत्यार्पण गराउने भनेपछि घटनाप्रति थप विश्वास लागेको हेलेन बताउँछिन् । “उसले भन्यो- सामान प्याकिङ गर्न तिमीसँग २४ घण्टा मात्रै छ । प्रहरी तिम्रो विमानस्थल लैजानका लागि यहाँबाट हिँडिसकेको छ,” हेलेन भन्छिन् ।

प्रत्यार्पणबाट बच्नका लागि पैसाको डिमान्ड

तर यदि जमानत लिने भए प्रत्यार्पण रोक्न सकिने भन्दै हेलेनलाई आश्वासन दिइएको थियो । उनको बैंक एकाउन्ट चेक गरेपछि उनलाई २ हजार पाउन्ड पठाउन भनियो । हेलेनले उक्त पैसा आफ्नी छोरीको फ्लाइटका लागि संकलन गरेकी थिइन् ।

यति हुँदाहुँदै ठगीको यो प्रपन्च यहीँ सकिएन । फेक प्रहरीको फेरि फोन आयो र यस पटक उनलाई प्रत्यार्पणको सट्टा २ लाख ५० हजार पाउन्ड पठाउन भनियो । उनी भन्छिन्, “म जिन्दगीको लडाइँ लडिरहेकी थिएँ । यदि म चीन गएँ भने त फेरि फर्किएर आउन सक्दिनँ ।”

यसैबेला हेलेनले आफ्नो एक साथीसँग ऋण मागेकी थिइन् । तर साथीले उनकी छोरीलाई सुनाइदिए । अन्त्यमा हेलेनले यस्तो दबाब झेल्न नसकेर सबै कुरा खुलाइन् । उनकी छोरीले यो एउटा ठगी भएको भन्दै आमालाई सम्झाइन् ।

हेलेनको बैंकले अन्त्यमा उनको पैसा फिर्ता दियो तर उनको हैरानीको अन्त्य अझै डरलाग्दो हुनसक्ने थियो । हेलेन भन्छिन्,”दुई हप्तादेखि म मुस्किलले सुत्न पाएकी छु । कसैले तपाइँको फोनको निगरानी गरिरहेको छ भने तपाइँलाई कसरी निद्रा लाग्छ र ?”

यही अवस्थामा उनको दुई पटक कार दुर्घटना भयो । दोस्रो पटक धेरै क्षति भयो । हेलेन भन्छिन्, “कोही मरेन । तर मर्न पनि सकिन्थ्यो । यस्ता आपराधिक ठगले मानिसलाई मार्न पनि सक्छन् ।”

कतिपय घटनामा चिनियाँ छात्राहरुलाई पनि निशाना बनाउने गरेको पाइएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुलाई आफ्नै अपहरणको नाटक गर्न बाध्य बनाउने गरेको र परिवारजनलाई पैसा पठाउन लगाएको पाइन्छ । अस्ट्रेलियामा यस्तै केही घटना सार्वजनिक भएपछि न्यु साउथ वेल्सको प्रहरीले यस्तो नक्कली अपहरणविरुद्ध जागरण अभियान चलाएको थियो ।

-बीबीसीबाट


क्लिकमान्डु