पुटिन उत्तर कोरिया जाँदा चीन किन खुसी छैन ?



युक्रेन युद्धका कारण पश्चिमा देशहरुले प्रतिबन्ध लगाइरहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरिया भ्रमण गरे । दुई देशमध्ये कतै पनि आक्रमण भएमा एकअर्कालाई सहयोग गर्ने सम्झौता भएको छ । तर दुबैको सहयोगी मानिएको शक्तिशाली चीन किन मौन छ ?

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरिया भ्रमणमा चौतर्फी चासो र चर्चा भइरहेको छ । युक्रेनसँगको युद्धका कारण विश्व समुदायले रुसलाई एक्ल्याइरहेका बेला पुटिन उत्तर कोरिया भ्रमण गरेका हुन् । जहाँ पुटिनलाई उत्तर कोरियाली नेता किम जङ उनले घोडसवार सैनिकहरुको गार्ड अफ अनर दिए ।

यसअघि सन् २००० मा पुटिनले पहिलो पटक उत्तर कोरिया भ्रमण गरेका थिए । तर यति लामो समयपछि उनले दोस्रो भ्रमण तय गरेका छन्, जतिबेला रुसलाई अमेरिका र युरोपले युद्ध रोक्न दबाब दिइरहेका छन् । उत्तर कोरिया र रुसबीच ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । उनीहरु मित्र देश हुन् । तर पछिल्लो समय पुटिनको भ्रमण यसरी भएको छ कि यसले दुई देशबीचको मित्रता बढाउने भन्दा पनि पश्चिमा देशहरुलाई शक्ति प्रदर्शन गर्नेतर्फ केन्द्रित छ ।

यसबीचमा उत्तर कोरियाका नेता किमले युक्रेन युद्धमा आफूले रुसलाई पूर्ण रुपमा समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जसलाई लिएर दक्षिण कोरिया, अमेरिका र युरोपियन युनियनले धेरै खतरा देखिरहेका छन् । जवकि पुटिन र किमले आफूहरु एकअर्कालाई आवश्यक पर्ने नेताको रुपमा लिइरहेका छन् । रुसलाई युद्ध जारी राख्नका लागि गोला बारुद आवश्यक परिरहेको छ भने उत्तर कोरियालाई पैसा र खाद्यान्न आवश्यक छ ।

तर उत्तर कोरियाले रुसले अपेक्षा गरे जस्तो पनि सहयोग गर्न नसक्ने अवस्था रहेको बताइन्छ । यसरी दुवै देश चीनको सहयोगमै आफ्नो मित्रता बढाउन चाहन्छन् । र चीनलाई दुवैले चिढ्याउन चाहँदैनन् । त्यसो त पश्चिमा प्रतिबन्धका बीच दुबै देशका लागि ब्यापारिक प्रभाव कायम गर्न चीन एक महत्त्वपूर्ण स्रोतको रुपमा उभिएको छ । यसैले पनि चीनलाई उनीहरु चिढ्याउन चाहँदैनन् । उत्तर कोरिया भ्रमणको क्रममा पुटिनले किमको खुलेर प्रशंसा गरे । र किमले पनि पुटिनलाई उच्च सम्मानसहित स्वागत गरे ।

पुटिन किन गए उत्तर कोरिया ?

भ्रमणको क्रममा पुटिनले रुस र उत्तर कोरियाले सम्बन्धलाई एक नयाँ स्तरमा पुर्‍याएको बताएका छन् । साथै दुई देशबीच भएको नयाँ समझदारी अनुसार कुनै पनि देशमा हमला भएमा एकअर्काले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उत्तर कोरियामा पुटिनलाई ऐतिहासिक रुपमा स्वागत गरिएको छ । जहाँ हजारौं उत्तर कोरियाली जनताहरुले पुटिन अवतरण गर्दा ‘वेलकम पुटिन’ भन्दै नारा लगाइरहेका थिए । र प्योङयाङको भव्य समारोहमा ठूलो मात्रामा फूलका बुकेसहित दुवै देशका झण्डा र किम र पुटिनका तस्बिर संयुक्त रुपमा राखिएको थियो ।

जहाँ पुटिन र किम एउटै गाडीमा सयर गर्नुका साथै पुटिन आफैंले गाडी कुदाइरहेको र छेउमा किम हाँस्दै यात्रा गरेको तस्बिर पनि सार्वजनिक भएको छ । यस भ्रमणमा पुटिन र किमले नयाँ रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका छन् । जसले यसअघि सन् १९६१, २००० र २००१ मा भएका सम्झौतालाई रिप्लेस गरेको रुसी सञ्चारमाध्यम तासले उल्लेख गरेको छ ।

पुटिनले किमसँगको भेटवार्तापछि भनेका छन्, ‘आज हस्ताक्षर गरिएको व्यापक साझेदारीको सम्झौतामा अन्य कुराहरु वाहेक यस सम्झौतामा कुनै एक पक्षविरुद्ध आक्रमण भएको अवस्थामा पारस्परिक सहायता गर्ने प्रावधान छ ।’ दुई देशबीचको यो सम्झौताले अब युक्रेन युद्धमा रुसलाई उत्तर कोरियाले सैन्य सहयोग पनि गर्न सक्ने विकल्प खुला गरेको व्याख्या हुन थालेको छ ।

पुटिनका अनुसार उक्त सम्झौताले दुई देशको राजनीतिक, ब्यापारिक, लगानी, सांस्कृतिक र सुरक्षा क्षेत्रमा पनि सहयोग गर्ने विषय समेटेको छ । साथै यस सम्झौतालाई पुटिनले सम्झौताको एक कोषेढुंगा भएको प्रतिक्रिया दिएका छन् । पुटिनले अमेरिका, दक्षिण कोरिया र जापानका संयुक्त अभ्यासलाई अमेरिकी नीतिको टकरावपूर्ण अवस्था भन्दै उत्तर कोरियाका लागि शत्रुतापूर्ण रहेको पनि बताए ।

युक्रेन युद्धका कारण पश्चिमा देशहरुको प्रतिबन्ध सामना गरिरहेका पुटिनको यस भ्रमणमाथि धेरै प्रश्न पनि उठिरहेका छन् । यस भ्रमणसँगै रुसले उत्तर कोरियासँग आफ्नो परमाणु प्रतिरोधक क्षमता अब उत्तर कोरियासम्म फैलाइरहेको छ वा दुई देशबीच संयुक्त सैन्य अभ्यासको तयारी भएको हो कि भन्ने प्रश्नले पश्चिमा देशहरुलाई त्रसित बनाएको छ ।

चीनको भूमिका :

तर चिनियाँ राष्ट्रपति सी चिनफिङ आफ्ना दुई सहयोगीहरु यसरी नजिक भएकोमा खुसी नभएको केही संकेत देखिएका छन् । मे महिनामा चीनका राष्ट्रपति चिनफिङले पुटिनलाई भेट गरेका थिए । अन्तर्राष्ट्रिय मिडियाका अनुसार उक्त भेटपछि पुटिनलाई सीले सिधै उत्तर कोरिया नजानका लागि आग्रह गरेका थिए । यससँगै उत्तर कोरियालाई भ्रमणमा सामेल गरेको कुरा चिनियाँ अधिकारीहरुलाई चित्त नबुझेको हुनसक्ने बताइन्छ ।

चीनलाई पहिलेदेखि नै अमेरिका र युरोपले रुसलाई सहयोग नगरोस् भनेर दबाब दिँदै आएका छन् । साथै युक्रेन युद्धलाई बढाउने कुनै पनि सामग्री नदिनका लागि चीनलाई उनीहरुले दबाब दिँदै आएका छन् । सीले भने यस्तो दबाबलाई पूर्ण रुपमा इन्कार गर्न सकिरहेका छैनन् ।

विश्व समुदायलाई जसरी चिनियाँ सामानको आवश्यकता छ, ठीक त्यसैगरी चीनलाई पनि युरोप र अमेरिकाको सहयोग आवश्यक छ । युरोप र अमेरिकाको यस्तै सहयोगले चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनाइराख्न मद्दत गरिराखेको छ ।

यससँगै पछिल्लो समय चीनले युरोपका केही देशका साथै थाइल्यान्ड र अस्ट्रेलियाबाट आउने पर्यटकहरुको भिसा सहज बनाउन काम गरिरहेको छ । तिनै विदेशी पर्यटक र उपभोक्ताहरु चीनको अर्थतन्त्र बढाउन सहायक बनिरहेका छन् । यसवाहेक चिनियाँ नेता सीका लागि ‘ग्लोबल’ भूमिका निभाउने कुराले महत्त्वपूर्ण अर्थ राखेको हुन्छ । किनकि उनको सिधा प्रतिस्पर्धा अरु कोही नभएर अमेरिकासँगै भइरहेको छ।

सी आफूलाई यस्तो नेताको रुपमा स्थापित गराउँदै छन् कि, पश्चिमा देशहरुले रुसलाई झैं चीनलाई पनि वहिस्कार नगरुन् । र ती देशहरुको दबाब सामना गर्नु नपरोस् भन्ने उनको एक प्रमुख चाहना देखिन्छ । कतिपय दबावका बावजुद चीनले रुससँगको सम्बन्ध सन्तुलित बनाइराखेको छ । यसैले पनि युक्रेन युद्धमा सीले न त रुसको भूमिकाप्रति आपत्ति जनाएका छन् न त युद्धका लागि सहयोग नै गरेका छन् ।

गत मे महिनामा पुटिनसँग भेटको क्रममा चिनियाँ राष्ट्रपति सीले ज्यादै सन्तुलित अभिव्यक्ति दिएका थिए । पुटिनले भने सीको विषयमा खुलेर प्रशंसा गरिरहेका थिए । चीनले किम जोङको परमाणु हतियार बढाउने कोसिसलाई हालसम्म समर्थन गर्दै आएका छन् । यसले संयुक्त राष्ट्रसंघमा पटक पटक अमेरिकी नेतृत्वको प्रतिबन्धलाई ‘चेक एन्ड ब्यालेन्स’ गर्न काम गरिराखेको छ । उत्तर कोरियाले भने पटक पटक परमाणु हतियार परीक्षण गर्दै आएको छ । यसैकारण पनि जापान र दक्षिण कोरिया उत्तर कोरियासँगको गहिरो इतिहासलाई छाडेर अमेरिकासँग नजिक भइराखेका छन् ।

यसरी नै चीनले पनि उत्तर कोरियालाई करुणा भन्दा धेरै आफ्नो स्वार्थका लागि कूटनीतिक रुपमा प्रयोग गरिराखेको छ । जवकि उत्तर कोरियाको भूमिका उसलाई मन नपरे पनि अमेरिकासँग टक्कर लिनका लागि भने उपयोगी बन्दै आएको छ । चीनका लागि उत्तर कोरियाको आवश्यकता जति जरुरी छ, त्यसभन्दा धेरै उत्तर कोरियाका लागि चीनको जरुरी बढी छ । पश्चिमा प्रतिबन्धका बीच चीनको सहायता उत्तर कोरियाका लागि बढी नै आवश्यक देखिन्छ । चीन एक मात्र त्यस्तो देश हो जहाँ किम भ्रमण गर्छन् । उत्तर कोरियाको करिब आधा तेल रुसबाट आउँछ भने उसको कम्तीमा ८० प्रतिशत ब्यापार चीनसँग नै हुन्छ ।


क्लिकमान्डु