आजदेखि प्रथम नेपाल आँप फेस्ट २०८१ सुरु, १५ प्रकारका आँप पाइने



काठमाडौं । आजबाट पहिलो नेपाल आँप फेस्ट २०८१ सुरु भएको छ । ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ भन्ने नाराका साथ प्रथम नेपाल आँप फेस्ट सुरु भएको हो ।

किसान भेन्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजना भएको हो ।  शुक्रबार, शनिबार र आइतबार तीन दिनसम्म फेस्ट चल्नेछ ।   फेस्टमा सर्लाही, सप्तरी र सिराहाका ५० किसानहरूबाट प्रत्यक्ष खरिद गरेर ल्याइएका विभिन्न प्रजातिका आँपहरू यो मेलामा प्रदर्शनी गरिनेछ ।

यो फेस्टमा माल्दा, जर्दा, बम्बै, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन्। सबै आँपहरू सिधा किसानबाट खरिद गरेर ल्याइने हुँदा ताजा र सस्तोमा उपभोक्तासम्म पुर्याइनेछ। मेलामा प्राकृतिक रुपमा पाकेका र पकाइएका आँपहरू मात्र उपलब्ध हुनेछन्, जसले विषादीको जोखिमबाट उपभोक्ताहरुलाई जोगाउनेछ ।

आँप फेस्टमा ग्राहकहरुले आँपको स्वाद चाखेर ५ र २० किलोको बक्समा आँप किन्न पाउने व्यवस्था मिलाइएको छ। फेस्टको प्रमुख उद्देश्य नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानहरूलाई प्रोत्साहन गर्नु र उपभोक्ताहरूलाई विषादीरहित स्वस्थ आँपको पहुँच पुर्‍याउनु रहेको आयोजकले जनाएको छ ।

फेस्टको उद्घाटन समारोह असार ७ गते वालनट बिस्ट्रो पानीपोखरीमा हुनेछ । काठमाडौं अर्गानिक्स, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा तीन दिन नै आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरु प्रदर्शनी एवं बिक्रीवितरण गरिनेछ । फेस्टमा विभिन्न कम्पनीका १० वटा स्टलहरू रहनेछन्, जहाँ ग्राहकहरूले आँपका विभिन्न उत्पादनहरू जस्तै अचार, आँपको पाउडर, डिहाइड्रेड म्याङ्गो, जाम लगायतका वस्तुहरू पनि पाउन सक्नेछन्।

नेपालमा पछिल्लो समय भारतबाट आँपको अत्यधिक आयात भइरहेको छ। नेपाली आँपको सिजन ४५ दिन मात्र चल्छ र यस अवधिमा पनि भारतबाट आँप आयात हुन्छ । विषादी प्रयोग गरिएका महँगा आँपहरू उपभोग गर्नुको सट्टा, यस फेस्टले नेपाली आँपको बारेमा जानकारी प्रदान गरी स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखेको जनाएको छ ।

आँप फेस्टको दोस्रो दिन, शनिबार उत्पला क्याफेमा भब्य कार्यक्रम हुनेछ । जसमा ३५ सय जना आगन्तुकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ । तीन दिनको अवधिमा २५ देखि ३० टन आँप विक्री गर्ने लक्ष्य राखिएको छ । फेस्टमा म्याङ्गो इटिङ कम्पिटिस’ जस्ता रमाइलो कार्यक्रमहरू पनि समावेश गरिएका छन् ।

किसान भेन्चर र काठमाडौं अर्गानिक्सले कृषकहरूको उत्पादनलाई बढावा दिन कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् ।


क्लिकमान्डु