भारतका १० सर्वाधिक धनी अर्बपति महिला, कति छ सम्पत्ति ?



एजेन्सी । फोर्ब्सको सर्वाधिक धनीहरुको सूचीमा भारतीय उद्यमीहरुले उल्लेख्य स्थान ओगटेका छन् । यतिसम्म कि भारतमा मात्रै एक सयभन्दा धेरै अर्बपति व्यावसायीहरु रहेको बताइन्छ । तर पीतृसत्तात्मक समाजमा महिलाहरु पनि पछिल्लो समय व्यावसायमा उदाउँदै गरेका छन् ।

अमेरिकाको प्रसिद्ध बिजनेस म्यागजिन फोर्ब्सले केही साताअघि भारतमा सबैभन्दा धनी १० जना महिलाहरुको सूची सार्वजनिक गरेको थियो । तीमध्ये एक जना सावित्री जिन्दल भने भारतकै सर्वाधिक धनी १० जनामध्ये परेकी छन् । फोर्ब्सका अनुसार सावित्री एसियाकै सर्वाधिक धनी महिला पनि हुन् ।

सावित्री जिन्दल
उमेर : ७३
जन्म : तिनसुकिया आसाम
सम्पति : ३६ अर्ब अमेरिकी डलर
कम्पनी : जिन्दल ग्रुप

सावित्री जिन्दल भारतकै सबैभन्दा धनी महिला हुन् । २००५ मा उनका श्रीमान ओपी जिन्दलको निधन भएपछि ओपी जिन्दल ग्रुपको सम्पूर्ण कारोबार उनकै जिम्मामा छ । हाल उनी ओपी जिन्दल ग्रुपको अध्यक्ष छिन् । उनी भारतकै एक मात्रै महिला फोर्ब्स अर्बपति पनि हुन् । फोर्ब्सले सूचीकृत गरेको भारतका सर्वाधिक धनी १० जनामध्ये उनको नाम पनि छ । भारतको मात्रै नभएर दुई वर्षअघि उनी एसियाकै सर्वाधिक धनी महिलाको रुपमा पनि फोर्ब्समा सूचीकर्त भएकी थिइन् । व्यवसायसँगै जिन्दल राजनीतिमा पनि सक्रिय छिन् । उनले २००५ मा हरियाणाको विधानसभा निर्वाचन पनि जितेकी थिइन् । साथै २००९ मा उनी फेरि निर्वाचित भइन् र २०१३ मा हरियाणा सरकारमा क्याबिनेट मन्त्रीको रुपमा नियुक्त भएकी थिइन् ।

रेखा झुनझुनवाला
उमेर : ५९
जन्म : मुम्बइ, महाराष्ट्र
सम्पत्ति : ७ अर्ब ८ करोड डलर
कम्पनी : टाइटान

रेखाले पनि आफ्ना श्रीमानले गरेको व्यावसायलाई नै पछ्याएकी हुन् । उनका श्रीमान राकेश झुनझुनवालाको २०२२ मा निधन भएपछि टाइटान कम्पनीको जिम्मेवारी रेखाकै हातमा आयो । उनी अहिले कम्पनीको अध्यक्ष छिन् । उनको हाल टाइटानसहित टाटा मोटर्स र क्रिसिल लगायत २९ कम्पनीमा लगानी छ ।

विनोद गुप्ता
उमेर : ७९
जन्म : पटियाला, पन्जाब
सम्पत्ति : ५ अर्ब ७ करोड डलर

कम्पनी : हाबेल्स

विनोद गुप्ता र उनका छोरा अनिल राइ गुप्ता मिलेर हाबेल्स इन्डिया सञ्चालन गरिरहेका छन् । इलेक्ट्रिकल उपकरण उद्योगमा उनीहरु भारतका अग्रणि व्यवसायी हुन् । उनको कम्पनी विनोदका पति किमत राइ गुप्ताले स्थापना गरेका थिए । हाल उनीहरुको कम्पनी हाबेल्स ५० देशहरमा विस्तार भएको छ । जसका १४ वटा उत्पादन छन् ।

रेनुका जग्तियानी
उमेर : ७० वर्ष
जन्म : मुम्बइ, महाराष्ट्र
सम्पत्ति : ४ अर्ब ८ करोड डलर
कम्पनी : ल्यान्डमार्क ग्रुप

रेनुका ल्यान्डमार्क ग्रुपको अध्यक्ष तथा सीईओ हुन् । दुबइमा मुख्य कार्यालय रहेको उक्त कम्पनीले विश्वभर आफ्नो व्यावसाय फैलाएको छ । रेनुकाका श्रीमान मिक्की जग्तियानीले यो कम्पनी सुरु गरेका हुन् । रिटेल र हस्पिटालीटी क्षेत्रमा २ दशकभन्दा लामो समयदेखि यस कम्पनीको राम्रो उपस्थिति छ ।
रेनुका सुरुदेखि नै कम्पनीको प्रमुख भूमिकामा रहेर नयाँ बजार विस्तार गर्ने काममा यसका रणनीति बनाउँदै आएकी छन् । उनको कम्पनीले हाल ५० हजार मानिसलाई रोजगारी दिँदै आएको छ ।

अनु आगा
उमेर : ८१ वर्ष
जन्म : मुम्बइ, भारत
सम्पत्ति : ४ अर्ब ६ करोड डलर
कम्पनी : थरम्याक्स

अनुले आफ्ना श्रीमानसँग मिलेर एक इन्जिनियरिङ कम्पनी थरम्याक्सका लागि सुरुदेखि नै काम गरिन् । १९८० को दशकमा उनीहरुले यस कम्पनी सुरु गरेका थिए । १९९६ मा श्रीमानको निधनपछि अनुले कम्पनी सम्हालेकी थिइन् । २००४ मा भने उनले कम्पनी छोडेर छोरी मेहेर पुदुमजीलाई जिम्मेवारी हस्तान्तरण गरेकी थिइन् । २०२२ मा भने अनु भारतकै सर्वाधिक धनी व्यक्तिको सूचीमा परेकी थिइन् । २०१२ को राज्यसभामा उनी मनोनित भएर सांसद समेत बनेकी थिइन् । तत्कालीन अध्यक्ष प्रतिभा पाटिलसँग मिलेर उनले भारतका लागि गैरनाफामुखी शिक्षा पनि सुरु गराएकी थिइन् ।

स्मिता कृष्णा गोदरेज
उमेर : ७३
जन्म : मुम्बइ, भारत
सम्पत्ति : ३ अर्ब ९ करोड डलर
कम्पनी : गोदरेज

प्रसिद्ध गोदरेज क्लानको उनी एक सदस्य हुन् । पारिवारिक व्यावसायको रुपमा रहेको यस कम्पनीमा उनको २० प्रतिशत सेयर छ । १ सय २६ वर्ष पुरानो यस कम्पनीमा गोदरेज परिवारले ५ अर्ब २० करोड अमेरिकी डलर ओगटेको छ ।

राधा वेम्बु
उमेर : ५१ वर्ष
जन्म : चेन्नइ, तामिल नाडु
सम्पत्ति : ३ अर्ब ३ करोड डलर
कम्पनी : जोहो कर्पोरेसन

राधा जोहो कम्पनीको सहसंस्थापक हुन् । चेन्नइमा अवस्थित यस कम्पनीमा २००७ देखि प्रोडक्ट म्यानेजरको रुपमा राधा रहेकी छन् । जोहोको प्रभावशाली व्यावसायिक यात्रामा राधाको उल्लेखनीय भूमिका रहँदै आएको छ । जसकारण २०२१ मा यस कम्पनीले १ अर्ब अमेरिकी डलरभन्दा धेरै आम्दानी गरेको थियो । यससँगै सोही वर्ष राधाको सम्पत्ति १२७ प्रतिशतले वृद्धि भएको थियो । जोहोलाई अन्य देशमा पनि विस्तार गर्दै जोहो कर्पोरेसनको नाममा ४५ वटा उत्पादन हुँदै आएको छ

लीना गान्धी तिवारी
उमेर : ६६ वर्ष
जन्म : सुबरबन मुम्बइ
सम्पत्ति : ३ अर्ब २ करोड डलर
कम्पनी : यूएसभी फर्मा

ग्लोबल फर्मास्युटिकल तथा बायोटेक कम्पनी यूएसभीको अध्यक्ष हुन् लीना । उनका बाबु विथाल गान्धीले १९६१ मा यो कम्पनी स्थापना गरेका थिए । यूएसभीले विशेषगरी डायबेटिक र कार्डियोभास्कुलर औषधिहरु उत्पादनमा आफ्नो प्रभाव छोडेको छ । यूएसभीले २०१८ मा जर्मन कम्पनी जुता फर्मालाई पनि गाभेको थियो ।

लीना गान्धी तिवारी
उमेर : ६६ वर्ष
जन्म : सुबरबन मुम्बइ
सम्पत्ति : ३ अर्ब २ करोड डलर
कम्पनी : यूएसभी फर्मा

फाल्गुनी नायर कुनै बेला एक बैंकर थिइन् । हाल उनी एक सफल उद्यमीको रुपमा चिनिन्छिन् । उनको कम्पनी नायकामा पब्लिक लगानी भित्र्याएपछि २०२१ मा एकैपटक उनको कम्पनीको कुल सम्पत्ति ९६३ प्रतिशतले वृद्धि भयो । यसैकारण पनि उनको नाम भारतको सर्वाधिक धनी महिलाको सूचीमा लेखिएको छ। नायकाभन्दा पहिले फाल्गुनी कोटाक महिन्द्रा क्यापिटलको म्यानेजिङ डाइरेक्टर थिइन् । उनी भारतमा आफ्नै मेहनतबाट अर्बपति बनेकी महिला पनि हुन् । अर्था अन्य उद्यमीले श्रीमान वा बाबुको व्यावसाय सम्हालेर धनी बनिरहँदा फाल्गुनीले भने आफ्नै योजनामा व्यावसाय विस्तार गरेकी हुन्।

किरण मजुमदार शा
उमेर : ७०
जन्म : बैंग्लोर कर्नाटक
सम्पत्ति : २ अर्ब ८ करोड डलर
कम्पनी : बायोकोन

मजुमदार भारतमा पहिलो पुस्ताको उद्यमी हुन् । उनले १९७८ मा औषधि कम्पनी बायोकोन सुरु गरेकी थिइन् । बायोकोन एसियाकै सबैभन्दा धेरै इन्सुलीन उत्पादन गर्ने कम्पनी पनि हो । जुन हाल मलेसियामा अवस्थित छ । गत वर्ष यस कम्पनीले यस्तै प्रकृतिको एक अमेरिकी कम्पनीलाई ३ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो ।


क्लिकमान्डु