न्युरोड सडक विवाद: सडक डिभिजनले छलफलका लागि भन्दै महानगरलाई पत्र काट्यो, के गर्लान् बालेन ?



काठमाडौं । न्युरोडको सडकमा फुटपाथ विस्तारका विषयमा सडक डिभिजन कार्यालय र काठमाडौं महानगरबीच बिबाद चलिरहेको छ । महानगरपालिकाले कार्यालयको गेटमा एक ट्रक धुलो खसालेपछि बिबाद सतहमा आएको थियो ।

काठमाडौँ महानगरपालिकाले न्युरोड गेटदेखि जुद्ध सालिकसम्म सवारीसाधन गुड्ने क्षेत्र घटाएर फुटपाथ थप्न सडक काटेपछि विवाद उत्पन्न भएको थियो।

त्यसपछि कार्यालयले कानुनविपरित विस्तार गरिएको फुटपाथलाई दुई दिनभित्र जस्तातस्तै नबनाए कार्बाही गर्ने चेतावनी महानगरलाई दिएको थियो । जसको समय आज सकिँदै छ । तर महानगरपालिकाले उक्त काटिएको सडकलाई पुरानै अवस्थामा लगेन ।

बरु महानगरका प्रमुख बालेन्द्र शाहले सडकको मापदण्ड स्मरण गराएका छन् ।

‘सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला’ शाहले भनेका छन् ।

यसबैबीच सडक डिभिजन कार्यालय काठमाडौंले न्युरोडको सडक विवादको समाधानका लागि काठमाडौं महानगरपालिकालाई छलफलमा बोलाएको छ ।

आज महानगरपालिकालाई पत्र काट्दै छलफलका लागि बोलाएको सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी प्रमोद खतिवडाले जानकारी दिए । कार्यालयले अनुमतिबिना सडक काटेको भन्दै बुधबार पत्र पठाएर २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गर्नु भनी निर्देशन दिएको थियो।

आफूहरुले त्यहाँको सडक २ दिनभित्र यथास्थितिमा पुनःस्थापना गर्नु भनेको भए पनि नभएको र आज निर्देशन दिएको समय सकिन लागेको भन्दै उनले अब यसको कसरी निकास निकाल्ने भनेर छलफलका लागि महानगरपालिकालाई पत्र काटेको उनले जानकारी दिए ।

पत्र काटिए पनि महानगरले भने काम नरोक्ने संकेत गरेको छ । महानगरका प्रमुख शाहले अल्टिमेटम सकिने दिन नै सडक मापदण्ड स्मरण गर्दै सामाजिक सञ्जालबाट पार्किङ हटाउँदा बिरोध गर्नेहरुले नै अहिले फुटपाथ विस्तारको बिरोध गरिरहेको जनाएका छन् ।


क्लिकमान्डु