रवि लामिछानेविरुद्ध मुद्दा पोखरेलको इजलासमा, सुनुवाइको सम्भावना कति ?



काठमाडौं । सहकारीका बचतकर्ताको बचत अपचलनमा संलग्न भएको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

रिटको पेसी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ । रिटमा महान्यायधिवक्ता कार्यालयको पत्र खारेजीको पनि माग गरिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

गृहमन्त्रीलाई पदबाट हटाउन र महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजलगायतका मागसहित परेको रिट यसअघि सर्वोच्च अदालतले दरपीठ गरेको थियो । तर त्यसविरुद्ध परेको रिटमा गत बधुबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट दर्ताको आदेश दिएको थियो ।

उक्त आदेशपछि अधिवक्ता भट्टराईले दिएको रिट सर्वोच्चमा दर्ता भएको हो ।

रिटमा उपप्रधान एवं गृहमन्त्री लामिछाने सहकारी ठगीमा संलग्न रहेको र त्यसको छानबिनका क्रममा उनी पदमा रहन उपयुक्त नहुने भन्दै पदबाट निलम्बनको माग गरिएको छ । पदमा रहँदा सहकारी ठगीको अनुसन्धानलाई प्रभावित पार्ने दाबी रिटमा गरिएको छ ।

त्यस्तै कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि रिटमा प्रश्न उठाइएको छ ।

तर लामिछानेविरुद्धको रिट आज न्यायाधीश पोखरेलले हेर्ने सम्भावना कम रहेको छ । विगतमा लामिछानेका केही मुद्दामा उनले कानुन व्यवसायीको भूमिका निर्वाह गरेका कारण सुनुवाइ गर्न अस्वीकार गर्ने सम्भावना रहेको जनाइएको छ ।


क्लिकमान्डु