‘यसकारण एनआरएनए सबैको बनेन’
एनआरएनएको जन्मथलो बेलायतमा नेपालीहरूको संख्या करिब २ लाख छ । तर त्यहाँ ३ हजार छ सय ७६ जना मात्रै पञ्जिकृत सदस्य छन् । गएको निर्वाचनमा जम्मा २ हजार ८ सय ८२ जनाले मात्रै मतदानमा भाग लिए ।
अध्यक्षमा बिजयी हुनेले १ हजार ३ सय मतपनि ल्याउनु परेन । यस्तो सीमिततामा अल्झेको संस्थालाई सबै बेलायत बासी नेपालीको साझा भन्ने कि कुनै क्लब ? यो गैरआवासीय नेपाली संघको बेलायतमा अवस्था मात्रै होइन । अन्य देशको चित्र पनि यो भन्दा भिन्न देखिँदैन ।
फ्रान्समा लगभग ५ हजार नेपालीको अनुमान गरिन्छ । तर गत निर्वाचनमा जम्मा ३ सय ६१ मतदाता थिए । बेल्जियममा नेपालीको संख्या कम्तिमा ८ देखि १० हजार मानिन्छ । त्यहाँ एनआरएनएका ३ हजार सदस्यपनि बनेनन् । पोर्चुगलमा १६ हजारभन्दा बढि नेपालीहरु भएको अनुमान छ । तर एन आर एनको सदस्य बन्नेहरु ४ हजारपनि पुगेनन् । यहि हालत डेनमार्क, नेदरल्याण्ड्स, स्पेन, ईटाली र युरोपका लगभग सबै देशमा छ ।
एन आर एन बेलायतले जम्मा शुन्य दशमलव नौ प्रतिशत नेपालीको मात्रै प्रतिनिधित्व गर्दो रहेछ । यति झिनो प्रतिनिधित्व गरेको संस्था सबैको साझा भन्न मिल्छ कि मिल्दैन ? एक प्रतिशतपनि प्रतिनिधित्व नगर्ने संस्थाले सम्पूर्ण नेपालीका नाममा निर्वाचन गर्न मिल्ला कि नमिल्ला ? एन एन आर एन गठन भएको झण्डै दुई दशक पुग्न लाग्दापनि किन यो संस्था विदेशिएका आम नेपालीको साझा बन्न सकेन ?
गठन भएको झण्डै दुई दशक पुग्न लाग्दापनि किन यो संस्था विदेशिएका आम नेपालीको साझा बन्न सकेन ?
सदस्य बनेकापनि अधिकांश देशमा स्वतस्फुर्तरुपले बनेका होइनन् । विभिन्न दलका भातृ संगठनको करबल, एन आर एनको निर्वाचनमा उमेदवार बन्नेहरुले आफ्नो खल्तीबाट सदस्यता शुल्क तिरेर बनाइएका हुन् । राजनीतिक वैचारिक निकटता, कसैले कसैलाई विगतमा दिएको व्यक्तिगत सहयोग, पारिवारिक र अन्य नातो लगाउँदै आग्रह नै आग्रहमा बनेका हुन्, ती सदस्यपनि ।
त्यसो त एनआरएन को हुन् र को होइनन् भन्ने नेपाल सरकारको परिभाषा र गैरआवासीय नेपाली संघको परिभाषामै मेल खाँदैन । नेपाल सरकारले ६ महिनाभन्दा बढि बिदेशमा बसेको हरेक नेपालीलाई एनआरएन मान्छ ।
हाल ४० लाख नेपाली विदेशमा बसेको तथ्यांक एनआरएनएले प्रस्तुत गर्ने गर्छ । नेपाल सरकारले एनआरएनलाई दिएको मान्यताको आधारपनि ती४० लाख नेपाली एनआरएनमा आबद्ध छन् भन्ने नै हो । तर ती ४० लाख नेपाली मध्ये आधा पनि एनआरएनको सदस्य बनेका छैनन् । त्यसैले एनआरएन सबै नेपालीको साझा भन्न हुने कि नहुने प्रश्नपनि देखा पर्छ ।
एनआरएनए सबै नेपालीको साझा बन्न नसक्नु वा यस प्रति आम नेपालीको चासो नहुनुका केहि नीतिगत, केहि संस्थागत र केहि व्यवहारिक कारणहरू छन् । उदाहरण फेरिपनि बेलायतकै दिन सकिन्छ । बेलायतमा भूतपूर्व गोर्खा सैनिकहरुले ठूलो संघर्ष गरे । बेलायत सरकारसित तिनले गरेको न्यायिक लडाईमा एनआरएनए बेलायतले कुनै रचनात्मक सहयोग र सहभागिता जनाउनै सकेन ।
सबै नेपालीको साझा बन्न नसक्नु वा यस प्रति आम नेपालीको चासो नहुनुका केहि नीतिगत, केहि संस्थागत र केहि व्यवहारिक कारणहरू छन् ।
त्यसैले आज एनआरएनए बेलायतमा करिब ६० हजार भूतपूर्व सैनिक आबद्द छैनन् । बरु त्यहाँका जातिय संस्था नेपाल मगर संघ, छन्त्याल समाज, गुरुङ समाज, तमुधीँ बेलायतमा सदस्य हुनेहरुको संख्या बढि छ । हजारौं नेपालीको न्याय र जीवनसित जोडिएको मुद्दामा एनआरएनएले कुनै भूमिका खेल्न नसकेपछि ‘हामीलाई पनि यो संस्था किन चाहियो ?’ भन्ने बुझाई त्यहाँका गोर्खा सैनिकहरूमा देखिन्छ ।
धेरै नेपालीहरू यसमा आबद्द नुहुनाको अर्को कारण एनआरएनएको नेतृत्व तहमा बसेकाहरुको छवि पनि जोडिएर आउँछ । किनभने एन आर एनको केन्द्रिय नेतृत्व तहमै बसेका अभियन्ताहरू मध्ये केहीको छवि स्वच्छ छैन ।
नेपालीहरुलाई खेतीमा काम लगाएर आर्थिक शोषण गरेका, रेस्टुरेन्टमा १२ घण्टा दलाएर उचित तलब र सुविधा नदिएका, मानव तस्करी गरेर सम्पत्ति जोडेका, व्यवसाय गरेकाहरुनै माथिल्लो तहमा पुगेका छन् । तिनका बारेमा राष्ट्रिय समन्वय परिषद् देखि केन्द्रमा सप्रमाण उजुरी परेको छ । तर एनआरएनए केन्द्रीय समितिले त्यसमा कारबाही त के चासो राखेको दृष्टान्तसम्म छैन ।
प्रवासमा रहेका धेरै नेपाली ‘ यो एनआरएनएमा जसरी पनि पैसा कमाएर जाने, गडबढी गरेर बच्ने थलो हो । पैसा कमाउनेहरुको गफ गर्ने चौतारो हो’ भनेर बुझ्छन् । एनआरएनए सबै नेपालीको दुख सुखको चौतारी हो । यसमा लागेपछि केहि न केहि न्याय, भर, साथ र सहयोग पाइन्छ । केहि सिक्न पाइन्छ भन्ने विश्वास एन आर एन ले दिनै सकेको छैन ।
केन्द्रीय तहमै यस्ता बदनामहरू पुगेपछि राष्ट्रिय समन्वय परिषदहरूको हालत के हुन्छ ? एनआरएनएका राष्ट्रिय समन्वय परिषदहरूमा पनि नेतृत्वकर्ताहरुको यस्तै जमात पुगेको छ ।
आफू बसेको देशमा आवासीय अनुमति लिने क्रममा कर तिरिदिने, आवासको प्रमाणपत्र बनाइदिने, जागिरमा लगाउने क्रममा नेपालीलाई नै ठगेकाहरु पुगेका छन् । ती मध्ये केही राजनीतिक आड र नेताको समर्थनमा नेतृत्वमा पुग्नेपनि छन् । नेतृत्वमा पीडकहरूको बाहुल्य देखिएपछि सोझासाझा गरिखाने नेपालीहरूलाई त्यो संस्था प्रति नै वितृष्णा जाग्नु स्वाभाविक हो ।
नेतृत्वमा पीडकहरूको बाहुल्य देखिएपछि सोझासाझा गरिखाने नेपालीहरूलाई त्यो संस्था प्रति नै वितृष्णा जाग्नु स्वाभाविक हो ।
सबैको छाता संगठन भन्ने नाराले पनि एनआरएनएमा सहभागिता घटाएको छ । सबैलाई छाता ओढाउने संस्था होइन विभिन्न मुलुकका अन्य सामाजिक संघ संस्था खोलेर बसेका नेपालीहरूले ओढेको छाता खोसिदिने काम धेरै देशमा एनआरएनएले गरिरहेको छ । एनआरएनए गठन हुनु अघि नै अस्तित्वमा रहेका सामाजिक संस्थाहरूले गर्दै आएका दशै, तीज, ल्होसार जस्ता कार्यक्रमहरु एनआरएनए गठन हुनासाथ खोसेर एनआरएनएको आयोजनामा मनाउन थालेपछि स्थानीय संघसंस्थाहरुसित द्वन्द बढेको छ ।
नेपालीकालागि खासै कुनैपनि क्षेत्रमा सहयोग, आड र भरोसा, सुझाव दिन नसक्ने तर वर्षौंदेखि आफ्नो संस्थाले गर्दै आएका कार्यक्रम खोसेर एनआरएनले गर्न थालेपछि त्यस्ता संस्थामा आबद्द भएकाहरुले एनआरएनलाई आफ्नो ठान्नै सकेका छैनन् ।
अधिकांश राष्ट्रिय समन्वय परिषदहरुसित आफ्नो देशको कुन ठाउँमा कति नेपाली छन् भन्ने तथ्यांक नै छैन । जर्मनीमा हेमबर्ग, फ्र्यांकफर्ट, मुन्स्टर लगायतका केहि शहरमा एनआरएनएको शाखा समिति बनाइएको छ । बेल्जियममा ओस्टान्डे, ब्रुग, आन्तर्पेन, लुभेन र ब्रसेल्समा छ । यि शाखापनि नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्ना राजनितिक कार्यकर्ताहरुलाई संगठित गर्ने क्रममा खोलेका संगठनमा आबद्दहरुको सूची हेरेर बनाइएको हो ।
एनआरएनएका सबै देशमा अधिकांश कार्यक्रम ठूला शहर, अझ खासगरी राजधानीमा केन्द्रित हुन्छन् । फ्रान्स जस्तो विशाल देशमा एनआरएनको गतिविधि राजधानी पेरिसमा मात्रै सीमित हुने गरेको छ । उदाहरणका लागि, लियों शहरमा बस्ने करिब ४० जना नेपालीको एनआरएन फ्रान्सले आजसम्म कुनै चासो नै दिएको छैन ।
राजधानी शहरमा धेरै आप्रवासीको संख्या बढि हुनाले एनआरएनएले साना शहरमा बसेका नेपालीहरुलाई संगठित गर्न ध्यान दिएकै छैन । साना शहरबाट यस्ता कार्यक्रममा सहभागि हुन धेरै नेपालीलाई पायकपनि पर्दैन । ती नेपालीसित सरोकार राख्ने कार्यक्रम एनआरएनले आयोजना नगर्नाले तिनले चासोपनि दिएका छैनन् ।
राजधानी शहरमा धेरै आप्रवासीको संख्या बढि हुनाले एनआरएनएले साना शहरमा बसेका नेपालीहरुलाई संगठित गर्न ध्यान दिएकै छैन । साना शहरबाट यस्ता कार्यक्रममा सहभागि हुन धेरै नेपालीलाई पायकपनि पर्दैन ।
प्रविधि र वैज्ञानिक उपकरणमा युरोप, अष्ट्रेलिया, जापान जतिसुकै सम्बृद्दी भएपनि त्यहाँका नेपालीहरु अझै त्यसमा एकाकार हुनै सकेका छैनन् । यसले पनि एनआरएनमा सहभागी हुनेहरुको संख्या बढ्न सकेको छैन । अहिलेपनि एनआरएनएको निर्वाचनमा कागजका पानामा फोटो टाँस्ने र मतदान गर्न निर्वाचन हुने थलोमै लिखित फारम लिएर धाउनुपर्ने बाध्यता छ । इन्टरनेटबाटै सदस्यता भर्ने र बिद्युततिय मतदानको व्यवस्था गर्न सक्ने अवस्थामा समेत अधिकांश देशका एनआरएनए पुग्न सकेका छैनन् ।
अहिलेपनि एनआरएनएको निर्वाचनमा कागजका पानामा फोटो टाँस्ने र मतदान गर्न निर्वाचन हुने थलोमै लिखित फारम लिएर धाउनुपर्ने बाध्यता छ ।
एनआरएनएको नेतृत्वको छनौट अर्को कारण हो जसले कम जनसंख्या भएका देशका नेपालीलाई समेट्न नसक्नु । आइसल्याण्ड, आयरल्याण्ड, रोमानिया, हंगेरी लगायतका देशमा नेपालीहरूको संख्या सानो छ । ती देशका नेपालीले एनआरएनए केन्द्रलाई बुझाउनुपर्ने दस्तुर तोकिए अनुसार नै समान रुपले बुझाउँछन् । तर क्षेत्रीय र केन्द्रीय नेतृत्वमा पुग्ने बेला ती थोरै संख्या भएका देशमा बसोबास गर्ने नेपालीको प्रतिनिधित्व हुँदैन ।
थोरै जनसंख्या भएका देशको कुनै नेपाली क्षेत्रीय र केन्द्रीय नेतृत्वमा उमेदवार बन्दा तिनलाई जिताउने मत नै पुग्दैन । तर बेल्जियम, बेलायत, ईटाली, स्पेन, जर्मनी लगायतका धेरै नेपाली भएका मुलुकबाट एक भन्दा बढि पदमा नेतृत्वको छनौट हुन्छ ।
साना र थोरै नेपाली बसोबास गर्ने देशका नेपालीले क्षेत्रीय, केन्द्रिय तहको अभियान, नीति निर्माण, बहस र छलफलमा सहभागी हुने, आफ्ना देशका नेपालीको प्रतिनिधित्व गरेर सहभागी हुने मौका नै पाउँदैनन् । यसले गर्दा ती नेपालीहरूले एनआरएनए सबैको साझा हो भन्ने अपनत्वको महसुस नै गर्न पाएका छैनन् ।
साझा प्यानल बनाउँदा पनि धेरै मतदाता भएकै देशका उमेदवारसित गठबन्धन गर्नाले साना देशका नेपालीहरू सधैं नेतृत्वबाट बाहिरिनुपर्ने अवस्था छ । यस्तो अवस्था रहिरहेसम्म कसरी सबैले एन आर एन सबैको साझा भन्ने अनुभूति गर्न सक्छ ?
परम्परागत तरिकाले नै संस्था चलाउन खोज्नु, युवाहरूलाई आकर्षण गर्ने कार्यक्रम दिन नसक्नु, आफू बसेको देशको भाषा, संस्कृति, नीति नियम र पद्दतीमा नेतृत्व तहमा पुगेका नेपाली नै घुलमिल (इन्टिग्रेट) हुन नसक्नु, महिलाहरूका लागि आकर्षण गर्ने कार्यक्रमको अभाव, आयोजित कार्यक्रममा सधैं देखिने गरेकै पुराना अनुहारहरु कै बर्चस्व रहनु लगायतका कारणले पनि एनआरएनए हामी सबैको साझा हो भन्ने महसुस गर्न धेरैले पाएका छैनन् ।
विभिन्न खाले सीप र ज्ञान लिएकाहरुको खोजी गर्न नसक्नाले पनि एनआरएनए हामी सबैलाई आवश्यक छ, यसमा आवद्द हुनुपर्छ भन्ने खाँचोको महसुस धेरै नेपालीले गर्नै सकेका छैनन् ।
प्रवासमा अनेक दुख र सास्ती खेपेर विभिन्न खाले सीप र ज्ञान लिएकाहरुको खोजी गर्न नसक्नाले पनि एनआरएनए हामी सबैलाई आवश्यक छ, यसमा आवद्द हुनुपर्छ भन्ने खाँचोको महसुस धेरै नेपालीले गर्नै सकेका छैनन् ।
त्यसैले बाहिरबाट हेर्दा एनआरएनए विशाल संस्था जस्तो देखिए पनि यसमा आवद्दहरुको अवस्था हेर्दा एनआरएनलाई सबैको साझा संस्था बनाउने कि क्लबकै रूपमा राख्ने भन्ने गम्भीर प्रश्न उभिएको छ ।
प्रवास पत्रकारितामा लामो अनुभव भएका सापकोटा फ्रान्सको पेरिसमा बस्छन् ।