बुढानीलकण्ठका मेयर सहित ३ वडा अध्यक्षलाई पक्राउ गर्न अदालतको आदेश



काठमाडौं । अदालतको अवहेलना मुद्दामा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई कैद सजायको आदेश भएको छ ।

जिल्ला अदालत काठमाडौंले मेयर अधिकारीलाई १ महिना कैद सजाय सुनाएको हो ।

अदालतले चलन चलाइदिनू भनेको जग्गासमेत नगरपालिकाले आफ्नो कब्जामा राखिराखेको भन्दै न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले उक्त कार्यलाई अदालतको अवहेलना भन्दै उनलाई कैद सजाय सुनाएको हो ।

अदालतको अवहेलनामा मेयर अधिकारीसँगै वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं ८ का वडाध्यक्ष सुमन तामाङ र वडा नं १० का वडासदस्य चन्द्रमान श्रेष्ठलाई १ महिना कैदको आदेश सुनाइएको हो ।

‘अदालतको फैसला नमान्ने तथा कार्यान्वयनमा अटेर गर्ने देहायका प्रतिवादीहरूलाई मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २३८(१६) अनुसार जनही १ महिना कैद हुन्छ’, फैसलामा भनिएको छ,‘सो कैद लगत कसी प्रहरी मार्फत पक्राउ गरी असुल उपर गर्नु । कैद असुलका सम्बन्धमा तलका सर्त अनुसार गर्नु ।’ जिल्लाले नगरप्रमुख अधिकारीसहित नवराज भट्टराई, सुमन तामाङ र चन्द्रमान श्रेष्ठलाई पनि सोही सजाय सुनाएको छ ।


क्लिकमान्डु