गृहमन्त्री लामिछानेको अभिव्यक्तिप्रति कांग्रेसले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने



काठमाडौं । नेपाली कांग्रेसले आइतबार गृहमन्त्री रवि लामिछानेले व्यक्त गरेका विचारका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । सोमबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै आइतबार गृहमन्त्री लामिछानेले संसद्‍मा व्यक्त गरेका विचार र शैलीप्रति कांग्रेसले आपत्ति जनाएको छ । साथै लामिछाने असभ्य र हिंस्रक रुपमा संसद्‍मा प्रस्तुत भएको कांग्रेसको भनाइ छ । यस्तै संसद्‍ बैठकमा अवरोध कायम गर्ने पनि कांग्रेसले निर्णय गरेको छ ।

कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गर्दै आएका छन् । यही सन्दर्भमा लामिछानेले आइतबार जवाफ दिए पनि कांग्रेसका नेताहरुमाथि संगीन आरोप लगाएका थिए । यद्यपि लामिछाने छानविनका लागि तयार देखिएका छैनन् ।


क्लिकमान्डु