प्रधानमन्त्रीलाई विश्वास मत दिन्छौं, कसैले शंका नगरे हुन्छः नेपाल



काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमबार (भोलि)चौथो पटक संसदमा विश्वासको मत लिँदै छन् । अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पारे ।

आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरुलाई उनले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र दुविधा नपाल्न पनि आग्रह गर्नुभयो । प्रधानमन्त्रीलाई विश्वासको मत दिन किन्तु परन्तु नहुने स्पष्ट पारे ।

‘भोली प्रधानमन्त्रीले विश्वासको मत लिन खोज्नुभएको छ । त्यसमा कुनै दुविधा राख्न जरुरी छैन । किनभने हामी सरकारमा छौं । यहाँ नैतिकताको प्रश्न खडा हुन्छ । त्यसो भएको हुनाले यसमा कसैले शंका गर्न जरुरी छैन । त्यसैले मैले अघि भनेको थिए–नो ईफ, नो बट । हामी मन्त्री छौँ । सरकारका सहभागी छौं । त्यसो हुनाले हामीले विश्वासको मत दिन्छौं’ उनले भने ।

अध्यक्ष नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरुले ध्यान दिनुपर्ने समेत बताए ।


क्लिकमान्डु