टिकटक बन्दले एनटीसी र एनसेलको आम्दानी ३ अर्ब गुम्यो
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकलाई नेपालमा बन्द गर्नुको असर टेलिकम कम्पनीहरुमा पर्न थालेको छ । गत कात्तिक २७ गते सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछिको ५ महिनामा मात्रै टेलिकम सेवाप्रदायक कम्पनीरुको आम्दानी करिब ३ अर्ब रुपैयाँले घटिसकेको छ ।
टिकटक बन्द भएपछि हालसम्ममा यसको व्याण्डविथ खपत घटेको आधारमा एनसेललेको मात्रै करिब डेढ अर्ब रुपैयाँ गुमेको छ भने सोही नै अनुपातमा नेपाल टेलिकमको पनि आम्दानी गुमेको उल्लेख छ ।
प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुतीकरण गर्दै एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने ‘टिकटक बन्दकै कारण एनसेलको मात्रै १ अर्ब ४४ करोड रुपैयाँ आम्दानी घटेको छ ।’
उपाध्यायका अनुसार एनसेलले सरकारको नीतिगत व्यवस्था तथा नियमककै कारण पछिल्लो ६ वर्षमा १३ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ । सरकारले सन् २०१८ वृद्धि गरेको टिकमल सेवा शुल्कका कारण ३ अर्ब ५२ करोड, टेलिकम सेवा शुल्क डेटाका कारण २ अर्ब ९० करोड, विभिन्न तीन प्रकारको नियमनका कारण ५ अर्ब १३ करोड र टिकटकका कारण १ अर्ब ४४ करोड रुपैयाँ गरी कुल १३ अर्ब रुपैयाँ आम्दानी कम भएको उनले बताए ।
निजी सेवाप्रदायकको जस्तै सरकारी कम्पनी नेपाल टेलिकम (एनटीसी) को पनि टिकटका कारण एनसेलकै हाराहारीमा आम्दानी गुमेको छ।
नेपाल टेलिकमको डेटा प्रयोगकर्ता एनसेलेको भन्दा १० प्रतिशत कम भएकोले १ अर्ब ३० करोडको हाराहारीमा टिकटकको कारण आम्दानी गुमेको टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुदन दाहालले बताए ।
‘टिकटक बन्द भएपछि डेटा खपतमा परेको असरका कारण टेलिकम कम्पनीको आम्दानीमा असर गरेको छ,’ उनले भने ।
एनसेल र टेलिकम दुबै एकै प्रकारको सेवाप्रदायक भएकोले एनसेलले जस्तै टेलिकममा पनि नियमन र सरकारी नीति नियमका कारण आम्दानीमा असर परेको छ ।
सरकारको टिकटक बन्द गर्ने निर्णयपछि नेपालमा इन्टरनेट खपतको वृद्धिदर पछिल्लो चार महिनादेखि स्थीर रहेको इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)को भनाइ छ ।