श्रममन्त्री अर्याल संलग्न सहकारी ठगी प्रकरणः वैशाख ७ सम्म मागदाबी गर्न सक्ने, पीडितको संख्या बढ्दै



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डोलप्रसाद (डीपी) अर्याल र सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी आबद्ध रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थामा ठगिएमा परेकाहरुले वैशाख ७ गतेसम्म माग दाबी गर्न सक्ने भएका छन् ।

सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ ११ गते ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’लाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएको छ ।

समितिले फागुन १६ गते उक्त सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदाबी गर्न सूचना जारी गरेको थियो । मागदाबी हुने क्रम बढेपछि समय थपेर वैशाख ७ गतेसम्म माग दाबी गर्न सकिने छ । पछिल्लो समय मागदाबी गर्नेको संख्या अनलाइन र व्यक्ति स्वयम उपस्थित हुनेक्रम जारी रहेको बताइएको छ । अहिलेसम्म ५८ जना बचतकर्ताको करिब ८ करोड रुपैयाँ बचत फिर्ता गरिपाउँ भन्दै मागदाबी गरेको पाइएको छ ।

रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री अर्याल पूर्वउपाध्यक्ष र रास्वपाका सह–महामन्त्री बुर्लाकोटी सञ्चालक रहेको सहकारीले बचतकर्ताको उक्त रकम फिर्ता नगरेको भन्दै विभिन्न निकायमा उजुरी पर्नेक्रम जारी रहेको छ ।

सहकारीका बचतकर्तामध्ये आफ्नो रकम फिर्ता पाउनु पर्ने भन्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा ३७ जनाले सवा ५ करोड भन्दा बढी माग दाबी गरेका छन् ।

यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा २१ जनाले २ करोड ६० लाख ३८ हजार ३७७ रुपैयाँ माग दाबी गरेका छन् । ऊजुरीहरु दोहोरिएको हुनसक्ने र छुटेको हुनसक्ने भएकाले यो रकम फरक पर्न सक्छ । पछिल्लो समय यी दुवै निकायमा उजुरी पर्ने क्रम बढीरहेको बताइएको छ ।

सहकारीले बचतकर्तालाई ठगेको भन्दै उजुरी बढेपछि सहकारी विभागले गत असोज २६ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई थप अनुसन्धानका पत्र पठाएको थियो । त्यसअघि विभागले गत असार ३ गते संस्थाका अध्यक्षसहित ६ जना सञ्चालक समितिका सदस्यलाई विभागमा नै बोलाएर बचतकर्तालाई संस्थाको लगानी रहेको कम्पनीहरुमा रहेको सम्पत्तिबाट अपुग भएमा आफ्नो र परिवारको नाममा रहेको आफ्नो हक लाग्ने चलअचल सम्पत्तिबाट फिर्ता गर्ने प्रतिबद्धता गराएको थियो । पछि बचत फिर्ता नगरी सञ्चालक भागेपछि सीआईबीमा थप अनुसन्धानका लागि पत्र पठाएको थियो ।

सीआईबीले संस्थागत ठगीमा अनुसन्धान गरिरहेको जनाएको छ । विभागले असोज २५ गते ब्यूरोलाई पत्र पठाएको छ । पत्रमा ‘सहकारी विभागको नियमन क्षेत्राधिकारभित्र रहेको हाम्रो नयाँ कृषि सहकारी संस्थाका बचतकर्ता सदस्यहरुबाट संस्थाले आफ्नो बचत रकम फिर्ता नगरेको भनी विभागमा उजुरीहरु प्राप्त भएको र विभागबाट संस्थाका सञ्चालक समितिका सदस्यहरु र बचतकर्ता सदस्यहरु सबैलाई सँगै छलफल गराई समस्या समाधानका लागि लिखित प्रतिबद्धता समेत गराएको भए तापनि प्रतिबद्धता अनुरुप कार्य नगरी उल्टै संस्था बन्द गरी विभागको सम्पर्कमा नआएको लगायतका कारणले संस्थाका सञ्चालक समिति र व्यवस्थापनका कर्मचारिहरुले सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिमको कसुर गरेको देखिन आएको हुँदा ऐनको दफा १२४ बमोजिमको सजायका लागि थप अनुसन्धानका लागि सहकारी ऐन, २०७४ को दफा १२९ बमोजिम तहाँ पठाईएको व्यहोरा यस विभागको मिति २०८०/६/२५ गतेको निर्णयानुसार अनुरोध छ’ भन्ने उल्लेख छ ।

विभागको उक्त पत्रपछि ब्यूरोले ठगी विषयमा अनुसन्धन गरिरहेको छ । अनुसन्धानका क्रममा चैत १८ गते उक्त सहकारीका सञ्चालक रामहरी अधिकारीलाई पक्राउ गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
अहिलेसम्म अधिकारीलाई ब्यूरोले पक्राउ गरेको छ भने बाँकीको खोजी कार्य जारी रहेको जनाइएको छ।

हाल उक्त सहकारीको अध्यक्षमा गितेन्द्र बहादुर (जिबी) राई, उपाध्यक्ष लिला बहादुर गुरुङ, सचिव ओम प्रकाश गुरुङ, कोषाध्यक्ष नविन अछामी रहेका छन् । यस्तै सञ्चालक सदस्यमा असरफ अली सिद्धकी, दुर्गा चापागाई पाण्डे र रामहरी अधिकारी रहेका छन् । अहिले सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा हेमन्त अधिकारी रहेका छन् भने सदस्यमा रबिन रिमाल र निर्मला तण्डूकार रहेका छन् ।

२०७९ असोज २२ गते बसेको संस्थाको १०औं साधारणसभाबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
त्यसअघि २०७७ साउन २७ गते संस्थाको नवौं साधारणसभाले सूर्य बहादुर गुरुङको अध्यक्षमा सञ्चालक समिति चयन गरेको थियो । उक्त समितिमा अर्याल उपाध्यक्ष, उत्तम अधिकारी सचिव, जनक गौतम कोषाध्यक्ष रहेका थिए । सञ्चालकमा कष्ण कुमार न्यौपाने, कविन्द्र र सर्मिला तामाङ रहेका थिए ।

उक्त समयमा लेखा सुपरिवेक्षण समितिको संयोजकमा विनोद दाहाल र सदस्यमा पुरुशोतम अधिकारी र रनजिस आचार्य रहेका थिए । चार वर्षको लागि गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएपनि राईले दुई वर्ष नपुग्दै अवैधानिक रुपमा संस्था कब्जामा लिएका हुन् ।

४ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको भए पनि कार्यकाल नसकी २०७९ साल असोज २२ गते साधारणसभा बोलाउन लगाएर अर्याल, बुर्लाकोटीको सक्रियतामा सहकारीको अध्यक्ष राईलाई चयन गरिएका थिए ।

राईले किर्ते साधारणसभा गरेर संस्था कब्जा गरेपछि सभा सकिएको ६ महिनापछि सहकारीका बचतकर्ताहरुले सहकारी विभागमा उजुरी दिएका थिए ।

अध्यक्ष राईले सहकारीबाट ६ लाख रुपैयाँको सेयर किनेका छन् । अहिले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राई फरारको सूचीमा छन् । यद्यपी गृहमन्त्री लामिछानेले भने ढिलो चाँडो राईलाई पक्राउ गर्ने आश्वासन दिइसकेका छन् । राईले उक्त समयमा संस्थालाई अन्य सहकारीसँग मर्जर गर्न खोजेका थिए । तर, केही सहकारीसँग छलफल गरेको भएपनि त्यो भने सफल हुन नसकेको पूर्वसञ्चालकहरुको भनाइ छ ।

देशभर कार्यक्षेत्र भएको हाम्रो नयाँ कृषि सहकारीको नाममा बर्दियामा १२ कठ्ठा जग्गा र उक्त जग्गामा १ करोड लागतमा संरचना बनेको छ । त्यो संरचनामा सहकारीले बंगुर पालन गर्ने लगायत कृषि कार्य गर्ने योजना बनाएको पुराना सञ्चालकको भनाइ छ ।

२०७८ असार मसान्तसम्मको लेखापरिक्षण प्रतिवेदन अनुसार सहकारीको सेयर पुँजी २ करोड ४९ लाख १६ हजार १०० रुपैयाँ, सदस्यको निक्षेप ६ करोड ६० लाख ७४ हजार ९९४ रुपैयाँ, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण १० लाख १९ हजार ७१४ रुपैयाँ, ऋण लगानी १ करोड ५० लाख ५६ हजार ९५१ रुपैयाँ, जायजेथा, प्लान्ट तथा उपकरण ३ करोड २८ लाख ३१ हजार १०७ रुपैयाँ, नगद मौज्दात ३४ लाख ५४ हजार ५०९ रुपैयाँ, बैंक मौज्दात २ करोड ९३ लाख १३ हजार ७५० रुपैयाँ र अन्य चालु सम्पत्ति १ करोड ४३ लाख ५६ हजार ८८५ रुपैयाँ रहेको छ ।

सदस्यको करिब ९ करोडभन्दा बढी बचत र सेयर रकम मध्ये १ करोड ५० लाख रुपैयाँ बढी ऋण लगानी गरेको संस्थामा उच्च तरलता भए पनि बैंकको ऋण नतिरेको र सदस्यको बचत अचल सम्पत्ति खरिदमा लगानी भएको अनुसन्धानले देखाएको छ । सहकारीले बचतको तुलनामा लगानी कम गरेको देखिएको छ ।


क्लिकमान्डु