नगरकोटमा १ अर्ब लगानीमा क्यापिटल हिल रिसोर्ट बन्दै, २०२७ बाट सञ्चालनमा आउने



काठमाडौं । पर्यटकीय क्षेत्र नगरकोटमा १ अर्ब रुपैयाँ बढी लगानीमा लक्जरियस रिसोर्ट निर्माण हुने भएको छ ।

काभ्रेपलाञ्चोकको नाल्दुममा १ अर्ब ८ करोड ३० लाख रुपैयाँ लगानीमा क्यापिटल हिल रिसोर्ट बन्ने भएको हो ।

आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरेर क्यापिटल हिल रिसोर्टले अत्याधुनिक सु्विधा सम्पन्न रिसोर्ट निर्माण गरिरहेको हो । होटल निर्माणका लागि लगानीकर्ताले ऋण लिएएका छन् । रिसोर्ट निर्माण गर्न लगानीको अनुपात ७०:३० राखिएको छ ।

रेटिङ कम्पनी केयरका अनुसार कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।

हालसम्ममा रिसोर्ट निर्माणका लागि जग्गा अधिग्रहणको कार्य सम्पन्न भइसकेको छ । त्यस्तै अहिलेसम्ममा १९ प्रतिशत रकम संकलन भइसकेको जनाइएको छ । रिसोर्ट आगामी सन् २०२७ बाट सञ्चालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ ।

रिसोर्टमा ८६ वटा कोठाको सुविधा हुनेछ । त्यससँगै आधुनिक सुविधा, फुड र बेभरेज सुविधा, स्वीमिङ पुल, कन्फरेन्स र बैंङ्क्वैट हल, स्पा र अन्य सुविधा हुने जनाइएको छ । रिसोर्ट माधवसुन्दर मल्लले निर्माण गर्न लागेका हुन् ।


क्लिकमान्डु