८४२ फर्मबाट साढे ३ करोड रुपैयाँ जरिवाना, विश्व उपभोक्ता अधिकार दिवस सम्पन्न



काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी सरकारले विश्व उपभोक्ता अधिकार दिवस मनाएको छ ।

मार्च १५ तारिखमा विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइदैं आएको छ । यसै क्रममा शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभाग, विभिन्न उपभोक्तावादी संघसंस्थाले यो दिवस नेपालमा पनि मनाएका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकारकर्मी परिचालन गरी बजार सचेतना सम्बन्धी विभिन्न विद्यालयमा साठीवटा उपभोक्ता शिक्षा कक्षा सञ्चालन गरि करिव पाँच हजार विद्यार्थीलाई उपभोक्ता सचेतना गराएको छ । कार्यक्रमको पहिलो दिन उपभोक्तावादी संघसंस्था र सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया कार्यक्रम भएको थियो।

दोश्रो दिन वस्तुगत संघसंस्थाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहलमा विशिष्ठ पदाधिकारी, सरोकारवाला र सञ्चारकर्मीको उपस्थितीमा मूल समारोह कार्यक्रम अन्तरक्रियात्मक रुपले सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्मा दुवाडी, प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खांन , उद्योग सचिव मुकुन्दप्रसाद निरौला, उपभोक्ता संरक्षण परिषदका सदस्य, उपभोक्ता अधिकारवादी संघसंस्था, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, नेपाल उद्योग व्यापार महासंघ, विभिन्न विभागका महानिर्देशक, मन्त्रालयका महाशाखा प्रमुखहरु, विभागका महानिर्देशकलगायतले सहभागिता जनाएका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले स्वागत मन्तव्य राखेका थिए भने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले उपभोक्ता संरक्षण र बजार अनुगमनका बिषयमा हालसम्मको उपलब्धीहरुबारे चर्चा गरेका थिए ।

विभागले हालसम्म ३ हजार ३ सय ९ वटा अनुगमन गरी ८४२ वटा फर्मबाट ३ करोड २९ लाख जरिवाना गरेको छ । चिलुवालका अनुसार करिव १ करोड ५ लाख मूल्य बराबरको सामान पनि नष्ट गरिएको छ ।

महानिर्देशक चिलुवालले चाडवाडको सघन अनुगमन पश्चात अन्य अनुगमनका अतिरिक्त १३ वटा दुध उद्योग, ८ वटा सुर्ती र मदिराजन्य व्यवसाय, १६ वटा स्टारतहका होटलहरुको अनुगमन गरी कैफियत देखिएकालाई दण्ड जरिवाना गरिएको बताए । उनले बजारमा हाल देखिएका गैर व्यवसायिक, गैर कानूनी, उपभोक्ता हित विपरितका प्रवृत्तिलाई उजागर गर्दै स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्न रहेका समस्या, भइरहेका प्रयासहरु र आगामी कार्यदिशा समेत प्रस्तुत गरेका थिए ।

उपभोक्ता अधिकारबादी संघ संस्थाका प्रतिनिधिहरुले यथाशीघ्र कानून बमोजिमको उपभोक्ता अदालत गठन गर्नुपर्ने, तीन तहका सरकार विच बजार अनुगमनको क्षेत्राधिकारको बाँडफाँड गर्नुपर्ने र उपभोक्ता संरक्षण सम्बन्धी कानून कार्यान्वयनको लागि देशव्यापी रुपमा पूर्णकालिन जनशक्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए।

डिजिटल सहभागिता गर्दै माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उपभोक्ताको मौलिक हक संरक्षणका लागि उपभोक्ता अदालत गठन गर्ने प्रतिबद्धता सहित विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा देशबासीको नाममा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति माननीय अब्दुल खांनले उपभोक्ता संरक्षणका लागि तीनै तहका सरकार र नियामक निकायहरुले कानून बमोजिम कडा अनुगमन र नियमन कार्य गर्नुपर्ने तथा उत्पादन, वितरण र उपभोगका सवै चरणहरुमा नियमन हुनुपर्ने विषयमा जोड दिए ।

वाणिज्य तथा आपूर्ति सचिव नारायण प्रसाद शर्मा दुवाडीले हरेक व्यक्ति पहिला उपभोक्ता भएकोले स्वच्छ र प्रतिस्पर्धी बजार राष्ट्रिय जीवनको आवश्यकता भएको बताउँदै उपभोक्ताको हक हित संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको बताए। उनले निजी क्षेत्रले आफ्ना व्यवसायिक क्रियाकलापका सम्बन्धमा उपभोक्ता हित संरक्षणको विषयलाई केन्द्रविन्दुमा राख्नुपर्ने बताए ।

उनले उपभोक्ता अदालत गठन गर्ने, विभागलाई स्रोत, साधन र जनशक्तीले सुसज्जित बनाउने, क्षमता विकासमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गर्दै समग्र सरकारी संयन्त्रलाई उपभोक्ता अधिकार संरक्षण कार्यमा प्रभावकारी रुपले परिचालन गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।


क्लिकमान्डु