घट्दो वैदेशिक रोजगारीमा जाने संख्याको प्रभावः रेमिट्यान्स आप्रवाह ९ महिनापछिकै कम



काठमाडौं । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने संख्या क्रमश घट्दै जाँदा रेमिट्यान्स आप्रवाहमा उच्च प्रभाव परेको छ । गत आर्थिक वर्ष रोजगारीको खोजी गर्दै करिब डेढ सय वटा देशमा पुगेका थिए ।

स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा वार्षिक लाखौं युवाहरु विदेशिँदै आएका छन् । त्यस्तै, गत आर्थिक वर्ष ७ लाख ७१ हजार नेपालीहरु रोजगारीको खोजीमा विभिन्न मुलुकमा पुगेका थिए । रोजगारीको खोजीमा उच्च विदेशिँदा गत वर्ष हालसम्मकै बढी रेमिट्यान्स आप्रवाह भएको थियो ।

वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दो क्रममा रहेको देखाउँछ । घट्दो वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आउँदा त्यसको प्रत्यक्ष असर रेमिट्यान्समा देखिन थालेको छ ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालबाट ४ लाख ५ हजार ५५२ जना रोजगारीको खोजीमा विदेशिएका छन् । तथ्याङ्क हेर्दा चालु आर्थिक वर्ष गत वर्षको भन्दा कम संख्यामा विदेशिने गरेको पाइएको छ । गत वर्ष मासिक ६० हजारभन्दा नेपाली विदेशिएका थिए । तर, चालु आर्थिक वर्षको सुरुदेखि नै रोजगारीमा जानेको संख्या कमी आएको छ ।

साउन महिनामा ४७ हजार ८५० जना पुरुष र ७ हजार ७२५ महिला गरी ५५ हजार ५७५ जना विदेशिएका थिए । त्यस्तै, भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना र कात्तिकमा ४३ हजार ६२२ जना विदेशिएका थिए । कात्तिकमा नेपालीहरुको महान पर्व दशैं तिहारका कारण विदेशिनेको संख्या कमी देखिएको थियो।

मंसिरमा सबैभन्दा बढी युवाहरु विदेशिएको देखिन्छ । मंसिरका १७ हजार २७६ जना विदेशिएका थिए । विभागअनुसार पुसमा ६५ हजार ८१३ जना र माघमा ६२ हजार १४७ जना नेपालीहरु रोजगारीको खोजीमा विदेशिएका छन् । पछिल्लो समय विदेशिनेको संख्या क्रमशः घट्दै जाँदा त्यसको प्रत्यक्ष असर रेमिट्यान्स आप्रवाहमा देखिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार रेमिट्यान्स आप्रवाह पनि मासिकरुपमा क्रमशः घट्दै गएको पाइएको छ ।

त्यसैगरी, राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा ७ महिनाको अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको जनाएको छ । रेमिट्यान्स आप्रवाह बढे पनि माघ महिनामा ९ महिना पछिकै सबैभन्दा कम रेमिट्यान्स आप्रवाह भएको पाइएको छ ।

मासिक १ खर्ब १० अर्ब बढी रेमिट्यान्स आप्रवाह हुँदै आएकोमा ९ महिनापछि माघमा १ खर्ब ५ अर्ब ७८ करोड रुपैयाँ मात्रै भित्रिएको छ । चालु आर्थिक वर्षमा सुरुदेखि नै रेमिट्यान्स आप्रवाह उच्च हुँदै आएकोमा अहिले भने निकै कमी आएको छ । गत जेठमा १ खर्ब ७ अर्ब ३५ करोड रुपैयाँ र असारमा १ खर्ब ८ करोड ४ लाख रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो ।

त्यस्तै, साउनमा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ र भदौमा १ खर्ब १२ अर्ब ३५ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कले उल्लेख गर्छ । असोजमा भने हालसम्मकै उच्च रेमिट्यान्स आप्रवाह भएको थियो । असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो । राष्ट्र बैंकअनुसार कात्तिकमा १ खर्ब १२ अर्ब ६२ करोड रुपैयाँ, मंसिरमा १ खर्ब ३५ अर्ब २९ करोड रुपैयाँ र पुसमा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो ।

पछिल्ला दिनहरुमा युवाहरुको मध्यपूर्व देशहरुभन्दा युरोपतर्फ रोजगारीका लागि बढी आकर्षित हुँदै गएका छन् । नेपालीहरुले युरोपका देशहरुमा जानका लागि मोटो रकम खर्चेर गइरहेका छन् । त्यस्तै, माघ महिनामा मात्रे युरोपियन मुलुक क्रोसियामा ५८३ जना, साइप्रसमा ४२६ जना, पोल्यान्डमा १९७ जना, रोमनियामा १३ सय ९७ जना, बेलायतमा २०६ जना रोजगारीको खोजीमा श्रम स्वीकृति लिई विदेशिएका छन् । त्यस्तै, माल्दिभ्समा ५६८ जना, माल्टामा . २८६ जना, मौरिससमा ६२२ जना र जापानमा १२ सय ८० जना पुगेका छन् ।


क्लिकमान्डु