कोभिडपछि ६ क्षेत्रमा रोजगारी बढ्दा १४ क्षेत्रमा कमी, आईटीमा ११ प्रतिशतले बढ्यो



एजेन्सी । कोभिडपछि श्रम बजार पुरानै लयमा फर्किए पनि बेरोजगारीको अवस्था चिन्ताजनक भएको एक अध्ययनले देखाएको छ । कोभिडपछि विभिन्न ६ क्षेत्रमा रोजगारी बढे पनि १४ क्षेत्रमा भने रोजगारीमा कमी आएको अध्ययनले देखाएको हो ।

भारतको बैंक अफ बरोडाको एक अध्ययनकाअनुसार कोरोना महामारीपछिको चार वर्षमा रोजगारीमा ३.१ प्रतिशतको वृद्धि भए पनि समग्रमा भने रोजगारीका अवसरहरुमा कमी आएको देखिएको हो । भारतीय श्रम बजारलाई आधार मानेर गरिएको उक्त अध्ययनले यस्तो तथ्यांक बाहिर ल्याएको हो।

उक्त रिपोर्टकाअनुसार भारतको कुल जीडीपीको तुलनामा श्रम बजारको वृद्धि कम रहेको छ । पछिल्लो चा वर्षमा भारतको जीडीपीको वृद्धिदर ४.५ प्रतिशतको आसपासमा रहँदा श्रम बजारमा भने नयाँ रोजगारी ३.१ प्रतिशतले वृद्धि भएको देखिएको हो।

कोरोना महामारीअघिको अवस्थासँग तुलना गर्दा उक्त रिपोर्टले २ हजार ९ सय ७५ कम्पनीहरुमा ४९.४४ प्रतिशत अर्थात ८.२ लाख रोजगारीका अवसरहरु कमी भएको देखाएको छ । त्यस्तै, १५ सय ४ कम्पनीहरुमा भने १७ लाख नयाँ रोजगारीका अवसरहरु सिर्जना भएका छन् । समग्रमा वर्षेनी ९.२ लाख रोजगारीहरु नयाँ सिर्जना भइरहेको उक्त रिपोर्टले देखाएको छ ।

कोरोना महामारीका बीच विभिन्न कम्पनीहरुले आफ्ना कर्मचारीहरु कटौती गरेका थिए । अवस्था सुध्रिएसँगै कर्मचारी पुनः थप्ने प्रक्रिया भए पनि पुराना रोजगारीहरुमध्ये कतिपय क्षेत्रमा भने सो पदलाई नै हटाउनेजस्तो अवस्था सिर्जना भएको छ । नयाँ जागिरहरु सिर्जना भइरहँदा पुराना जागिरहरु भने गुमेका छन् ।

कोरोना महामारीपछि श्रम बजारमा वृद्धि भएका रोजगारीका अवसरहरुमा आईटी क्षेत्र सबैभन्दा माथि छ । यो क्षेत्रमा सन् २०१९ को तुलनामा सन् २०२३ को अन्त्यमा ११.२ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, वित्त क्षेत्रमा ९.१ प्रतिशत, बैंकमा ७ प्रतिशत रोजगारीका अवसरहरु वृद्धि भएका छन् । तर, यहि अवधिमा टेलिकम क्षेत्रमा १६.१ प्रतिशत रोजगारीहरु कम भएका छन् ।

त्यस्तै, घरजग्गा कारोबारको क्षेत्रमा ८ प्रतिशत, ट्रेकिङको क्षेत्रमा ३.९ प्रतिशत रोजगारीका अवसरहरु कम भएको उक्त रिपोर्टले देखाएको छ ।


क्लिकमान्डु