धितोपत्र बोर्डले आईपीओ, हकप्रद, एफपीओ निष्कासन तत्काल खोल्नुपर्छः अध्यक्ष ढकाल



नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले धितोपत्र बोर्डले आईपीओ, हकप्रद र एफपीओ निष्कासन तत्काल खोल्नुपर्ने बताएका छन् ।

महासंघका अध्यक्ष ढकालले दुई महिनादेखि धितोपत्र आईपीओ, हकप्रद, एफपीओ निष्कासन स्थगित गर्नु बजारका लागि राम्रो नभएको बताए । सरकार अर्थतन्त्रलाई चलायमान बनाउन र लगानी जुटाउन लगानी सम्मेलन गर्ने तर बोर्डले लगानी सञ्चिति हुने आईपीओ निष्कासन स्थगित गर्न नहुने उनको भनाइ छ ।

समग्र लगानी र सरकारले लिन खाजेको उद्योग व्यवसाय बढाउने नीतिमा समेत आईपीओ निष्कासन रोक्दा गलत सन्देश जाने उनले बताए ।

के भने ढकालले ?

नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा वैदेशिक लगानी भित्र्याउने हिसावले विभिन्न देशमा समेत लगानी सम्मेलनहरु गर्दै आएका छौं । संघीय ,प्रदेश र स्थानीय सरकारहरुले समेत लगानी सम्मेलन गरिरहेका छन् । तीनै तहका सरकारको लगानी भित्र्याउनुपर्छ भन्ने धारणा छ ।

निजी क्षेत्रको तर्फबाट महासंघले लगानी भित्र्याउनको लागि पहल गरिरहेको छ तर मुलुकमा वैदेशिक लगानी भित्र्याउने भनेर तयारी गरिरहेका छौं । यता रियल क्षेत्रका कम्पनीहरु आईपीओमा जाने तयारी पूरा गरेको अवस्थामा रोकिएको छ ।

सम्पूर्ण तयारीहरु पूरा भएर पनि आईपीओ रोकिदा पुँजी थप गर्ने योजना बनाएको हुन्छ त्यो पूरा नहुँदा कम्पनीको व्यवसाय विस्तार देखि कर्जा र इकुटीको रेसियो व्यवस्थापन गर्न समस्या हुन्छ । सरकार र धितोपत्र बोर्डले रियल क्षेत्रलाई प्रोत्साहन गर्ने आईपीओ निष्का;नमा लैजाने काम रोकिँदा असजिलो परेको अवस्था छ ।

सबै प्रक्रिया र मापदण्ड पूरा गरेर आईपीओ निष्कासनका लागि तयारी गरेका कम्पनीहरुलाई अटो पाइलटको रुपमा जाने व्यवस्था गर्नुपर्छ । नयाँ आउने लगानीकर्ताहरुले पनि कम्पनी अप्रेसनमा आइसकेपछि आईपीओमा लगेर पुँजी वृद्धि गर्ने योजना बनाएको हुन्छ ।

त्यो योजनाअनुसार काम नहुँदा व्यवसायमा असर पर्छ । सरकारले लगानी वृद्धि गरी रोजगारी सिर्जना गर्ने र राजस्व बढाउने प्राथमिकता दिएको छ । त्यसले गर्दा पनि मापदण्ड पूरा गरेर आएका कम्पनीहरुलाई सर्वसाधरणहरुलाई कम्पनीको शेयर मालिक बनाउनको लागि अटोपाइलटको रुपमा आईपीओ निष्कासन अनुमति दिनुपर्छ ।

अहिले आईपीओ निष्कासन गर्ने कुरा रोकिएको छ । यसले समग्र लगानी र सरकारले लिन खाजेको उद्योग व्यवसायी बढाउने नीतिमा समेत आईपीओ निष्कासन रोक्दा गलत सन्देश जान्छ । आईपीओ निष्कासन रोक्दा आन्तरिकमात्रै नभएर अन्तर्राष्ट्रिय लगानीमा समेत गलत सन्देश जाने भएकाले तत्काल प्रक्रिया पूरा गर्नेका कम्पनीहरुलाई आईपीओको अनुमति दिनुपर्छ ।

सरकारको कर्जा नीतिको कारण केही कम्पनीहरुको बैंकहरुबाट कर्जा लिन सकेका छैनन् । त्यस्ता कम्पनीहरुलाई आईपीओ निष्कासन गर्न दियो भने अहिले व्यवसायीहरुले भोग्दै आएको मन्दीलाई समेत सहयोग गर्नसक्छ । आईपीओ निष्कासनले वर्तमान आर्थिक समस्यासमेत केही सहज बनाउन सक्छ ।


क्लिकमान्डु