आम्दानीको स्रोत खोस्ने प्राधिकरणको निर्णयप्रति वायुसेवा निगमका कर्मचारी असन्तुष्ट



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रमुख आम्दानीको स्रोत खोस्ने निर्णय गरेपछि वायुसेवा निगमका कर्मचारी असन्तुष्ट भएका छन् ।

निगमले स्थापना कालदेखि नै एकाधिकार पाएको ग्राउन्ड ह्यान्डलिङ सेवामा प्रतिस्पर्धा गराउने निर्णय प्राधिकरणले गरेपछि निगमका कर्मचारी असन्तुष्ट भएका हुन् ।

‘उडड्यन प्राधिकरणले स्वेच्छाचारी निर्णय गरेर अधिकार खोसे कर्मचारी चुप लागेर बस्दैनन्,’ नेपाल वायुसेवा निगम कर्मचारी युनियनका महासचिव हेम लम्सालले भने, ‘हामी निगमको हितका लागि लड्छौं ।’

प्राधिकरणले निगमलाई ५ वर्षे सम्झौता गरेर ग्राउन्ड ह्यान्डलिङ सेवा जिम्मा दिएको थियो । तर, सम्झौता भएको आधा समय पनि नहुँदै निर्णय परिवर्तन भएपछि कर्मचारीले असन्तुष्टि जनाएका हुन् ।

‘निगमको कार्यकारी प्रमुखलाई जिम्मेवारीमा राख्ने वा हटाउने भन्ने विषय कर्मचारीको रुचीको विषय होइन । कमी-कमजोरी भएको भए कार्यकारीमाथि कारबाही गर्ने वा योग्य व्यक्ति पठाउने अधिकार सरकारको हो तर निगमको आम्दानीको स्रोत खोस्ने गरी निर्णय गर्न भने दिइँदैन,’ उनले भने ।

निगम राज्यको लगानीमा स्थापित संस्था भएकाले कुनै व्यक्तिको लहडमा अधिकार खोस्न नसक्ने दाबी निगमका कर्मचारीको छ ।

प्राधिकरणले ‘उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२)’ अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा प्रतिस्पर्धा गराउने निर्णय गरेको छ ।

यो व्यवस्थाअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबीच प्रतिस्पर्धा गराएर छनोट भएको संस्थालाई ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन अनुमति दिइने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । हालसम्म निगमले नै उक्त सेवा बिना प्रतिस्पर्धा पाइरहेको थियो ।

वायुयानहरुको ग्राउन्ड ह्यान्डलिङ तथा अन्य भूमि सेवा सञ्चालन निर्देशिका २०७२ को दफा ४ अनुसार एक हप्तामा कम्तीमा ३५ पटक उडान भएका वायुयान सञ्चालकलाई प्राधिकरणले भूमिस्थ सेवा सञ्चालन गर्न अनुमति दिने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार यसअघि हिमालयन एयरलाइन्सलाई कोभिड-१९ पछि सेल्फ ग्राउन्ड ह्यान्डलिङको अधिकार दिइएको थियो । तर, निगमका कर्मचारीको विरोधका कारण उक्त निर्णय तत्काल कार्यान्वयनमा रोक लगाइएको थियो । अहिले भने खुला प्रतिस्पर्धामा जाने निर्णय प्राधिकरणले गरेको हो ।

निगमले ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएको छ । गत आर्षिक वर्ष २०७९/८० मा निगमले ग्राउन्ड ह्याडलिङबाट ३ अर्ब १८ करोड ४० हजार रुपैयाँ आम्दानी गरेको छ ।

निगमको आम्दानीको प्रमुख स्रोत यही हो । निगमले सोही सेवाबाट आव २०७५/७६ मा ४ अर्ब २३ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो भने ९८ करोड नाफा कमाएको थियो । यो नाफाबाट कर्मचारीलाई तलब नै खुवाउन पुग्ने निगमको दाबी छ ।


क्लिकमान्डु